कम्युनिस्ट, कम्युनिस्ट रहेनन् 

धेरैलाई लाग्छ कम्युनिस्ट नाम गरेका दललाई मत दिने आममतदाता र ‘कम्युनिस्ट’लाई छुट्याउन सकिन्न, तर यी दुई एक–अर्काका पर्याय भने होइनन्
शिक्षामा सरकारी लगानी होइन, निजी क्षेत्रलाई विनालगामको अनुमति दिएर जानुपर्छ । म त्यस्तै लगामरहित मेडिकल कलेज सञ्चालनको अनुमति चाहन्छु भन्दै आएका दुर्गा प्रसाईंले टेलिभिजन अन्तर्वार्तामा प्रश्नकर्तालाई प्रतिप्रश्न गर्दै भने, ‘के मचाहिँ कम्युनिस्ट होइन ? के म कम्युनिस्ट पार्टीको सदस्य हुँ भन्न नपाउने ?’ म गैरकम्युनिस्टसँग त्यसको उत्तर थिएन । तर, आफूलाई वंशाणुगत कम्युनिस्ट भन्नेले पनि त्यो सवालको उत्तर दिने हिम्मत गरेको देखिएन । बरु के सुनियो भने, ‘आफ्नो मक्सद पूरा गर्न देशको उच्च नेतृत्वलाई मार्सी चामलको भोज गरेर प्रभावित गर्ने प्रयास गरेका प्रसार्इंलाई उत्तर दिने हिम्मत पनि त चाहियो ।’ 

कुनै वेला चलखेल गर्न जान्ने व्यापारीका रूपमा चर्चित मोहनगोपाल खेतानदेखि विनोद चौधरी, राज्यलक्ष्मी गोल्छालगायतलाई सजिलै ‘कम्युनिस्ट’ मान्ने हाम्रो समाजले प्रसाईंका प्रश्नको जवाफ पनि कसरी देओस् ? नयाँ पत्रिकाले सुरु गरेको ‘नेपालका कम्युनिस्ट’ बहसको शृंखलामा प्रकाशित लेखमा कम्युनिस्टका विविध आयामबारे विभिन्न कोणबाट चर्चा भइसकेका छन् । यस आलेखमा भने अरू बहसकर्ताले उठाएका नेपाली कम्युनिस्ट आन्दोलनले पछ्याइरहेको अमिल्दो प्रकारको रूप र सारका कारणबारे केलाउने प्रयास गरिएको छ । यस चर्चालाई अगाडि बढाउन तत्कालीन बिबिसीका कार्यक्रम प्रस्तोता रवीन्द्र मिश्रले सिपी गजुरेललाई सोधेको प्रश्न सान्दर्भिक देखिन्छ– ‘यत्रा सम्पत्तिका मालिक तपार्इं कसरी कम्युनिस्ट हो ?’ भनेर सोधिएको प्रश्नको उत्तरमा गजुरेलले भनेका थिए, ‘म विचारले कम्युनिस्ट’ । के विचारले मात्र कम्युनिस्ट हुन सकिन्छ ? वा कम्युनिस्ट हुनु भनेको जीवन पद्धति हो ? 

वास्तवमा कसैले ‘म कम्युनिस्ट’ भनेर परिचय दियो भने उसका बारेमा अड्कल काटिहाल्नुपर्छ कि यिनी रवाफिलोभन्दा पनि सामान्य जीवन बिताउने र तल्लो तप्कामा पारिएका मानिसको पक्षमा कुरा गर्ने मानिस रहेछन् । नेपालमा पनि सुरुवाती दिनमा ‘म कम्युनिस्ट’ वा ‘कांग्रेस’ भन्दै गर्दा यी प्रकारका अनुमान र अड्कल गर्न सक्ने गरी ती मानिसले परिचय छाडेकै रहेछन्, त्यसैले आज हाम्रो मानसपलटमा त्यसप्रकारको आकृति आइरहेको हुन्छ । भलै त्यो आकृति आउनमा प्राध्यापक कृष्ण खनालले भनेझैँ पहिरन तथा लेखनाथ न्यौपाने र श्याम श्रेष्ठले बयान गरेको वर्गचरित्र आदिले काम गरेको हुन्छ । तर, एक्कासि आज ‘कम्युनिस्ट’ वा ‘समाजवादी’ वा अन्य केही रहेछ भनेर उसका चरित्र, गतिविधि र क्रियाकलापका आधारमा छुट्याउनै नसक्ने अवस्थामा समाज आइपुगेको छ । 

यत्रो परिवर्तन कसरी आएछ भनेर कारण खोज्दै जाँदा जब दल प्रतिबन्धित थिए, पञ्चायती व्यवस्थाको जगजगी थियो र दलका रूपमा चुनावमा जान पर्दैनथ्यो, त्यसवेला सामाजिक, आर्थिक र राजनीतिक दर्शनका रूपमा विकसित समाजवाद, लोकतान्त्रिक समाजवाद आदि सिद्धान्तका अनुयायी टन्नै देखिने र उनीहरूको लवाइ, खुवाइ, बोलाइ र रहनसहनबाटै यो मान्छे यही विचारधाराको हो भनेर चिनिने अवस्था थियो । तर, जब देशमा बहुदल आयो, दलहरू चुनावी प्रतिस्पर्धामा आउन थाले, तब राजनीतिक दर्शन र सिद्धान्तका अनुयायीमा हुनुपर्ने गुण क्रमशः धमिलिँदै गए । रूप र सारबाटै फलानो त यो रहेछ भनेर चिनीने या चिनाइने सम्भावना क्षीण हुँदै गए । नेपालका कम्युनिस्टमा यस्तै भएको देखिन्छ । 

नेपालको सन्दर्भमा हाल कम्युनिस्ट भनेको त्यो दललाई मत दिने मतदाता हो कि आदर्श र सिद्धान्तलाई पछ्याउने ? अथवा माथि भनेझैँ हेरेरै चिनिने नेता हो भन्नेमा पनि द्विविधा छ । धेरैलाई लाग्छ होला, कम्युनिस्ट नाम गरेका दल वा तिनका नेतालाई मत दिने आममतदाता र ‘कम्युनिस्ट’लाई छुट्याउन सकिन्न । तर, यी दुई एक–अर्काका पर्याय भने होइनन् । भिन्न हुन् र हुनुपर्छ । यस आलेखमार्फत उठाउन खोजिएको मूल विषय के हो भने, कुनै दल विशेषलाई कुनै कालखण्डमा खसालेको मतका आधारमा ती मतदातालाई फलानो त कम्युनिस्ट हो भनेर कसरी भन्न सकिन्छ ? के आमजनता कम्युनिस्ट बन्न सक्छन् ?

कम्युनिस्ट, कम्युनिस्ट रहेनन् । कम्युनिस्ट भनेर चिनारी दिन अरू केही नचाहिने र भोट हालेको आधारमा कम्युनिस्ट भइने हुँदा घुसमा डुबुल्की मारेकादेखि कालाबजारिया व्यापारीसम्म, पुँजीवादीदेखि नवउदारवादी अर्थ व्यवस्थाका कट्टर समर्थकसम्म सबैले ‘म कम्युनिस्ट’ भनेर दावा गर्न थाले ।

के आममतदाता ‘कम्युनिस्ट’ हुन् ? 
भोट खसाल्ने कुरा कतिपय तत्कालीन र दीर्घकालमा असर गर्ने विषयलाई ध्यानमा राखेर गरिने निर्णय हो, जसका लागि कोही मतदाता कांग्रेस, कम्युनिस्ट या समाजवादी भइरहनुपर्दैन । अर्कोतिर कम्युनिस्ट, पुँजीवादी या समाजवादीजस्ता वादले चिनिने कुरा त्यो व्यक्तिको विचार, आदत र जीवनशैलीले निर्धारण गर्ने कुरा हो । साँच्चै भन्दा सामान्य मतदाताले आदर्श, सिद्धान्त र त्यसअनुरूपको जीवनशैली अपनाउन जरुरत छैन । किनभने ऊ मतदाता मात्र हो र उसमा कुनै सैद्धान्तिक कटिबद्धता हुँदैन । 

ल्याटिन भाषाको कमुनिज्बाट कम्युनिज्म नामक एउटा सामाजिक, आर्थिक र राजनीतिक दर्शनका रूपमा विकसित यो सिद्धान्तका अनुयायीलाई सम्बोधनार्थ ‘कम्युनिस्ट’ शब्दको चयन भएको पाइन्छ । श्याम श्रेष्ठले यसै लेख शृंखलामा भनेझैँ उत्पत्तिदेखि नै यसको लक्ष्य मानवमाथि मानवबाट हुने कुनै पनि भेदभाव, शोषण र उत्पीडन समाप्त पार्ने हो । अन्य शब्दझैँ ‘कम्युनिस्ट’ शब्दको परिभाषामा मात्र होइन, लक्ष्यमा पनि देश, काल र परिस्थितिअनुरूप केही फेरबदल आउनु स्वाभाविक हो । मालिक र मजदुरबीचको वर्गसंघर्ष र सम्पूर्ण रूपमा मजदुरको शासनको वकालत गरेर अगाडि बढेको पश्चिमा चरित्रको कम्युनिजमले चीनमा आइपुग्दा कृषि क्रान्ति र कृषकको उन्मुक्तिलाई लक्ष्य बनाएको यथार्थलाई यही अर्थमा हेर्न सकिएला । 

कम्युनिस्ट आन्दोलन नेपालमा उचाइमा पुग्ने हो भने युरोपको जस्तो मजदुर–मालिक वर्गसंघर्ष र चीनको जस्तो कृषि श्रमिकको परिचालनको रणनीतिले थेग्दैन । यसमा नेपाली समाजअनुकूलका अर्थात् जातजातिमा आधारित समाजमा विधमान विभेदलाई मुख्य तारो बनाइनुपर्छ भन्नेमा कम्युनिस्ट आन्दोलन पुगेको पाइन्छ । त्यसकै परिणाम पछिल्लो समय कम्युनिजमलाई सिद्धान्तका रूपमा फैलाएर गाउँगाउँमा पु¥याउन सफल प्रचण्डनेतृत्वको माओवादीले जातीय/क्षेत्रीय मोर्चा बनाएको र तत्पश्चात् माओवादी आन्दोलनले देशभर जनमत बनाउन सफल भएको टिप्पणी पढ्न अनि मनन गर्न पाइन्छ । कतिपयले कुनैवेला मौलाएको माओवादी आन्दोलन अहिले विघटनको सँघारमा पुगेका कारण त्यसलाई नजिर मान्ने कि नमान्ने भन्नेमा प्रश्न गर्न सक्लान् । एमालेकै एक जमानाको विगत पनि अहिले भनिने जनजातिको पार्टीसरहको भएको अनुभव सुनाउनेको संख्या अझै बाक्लै छ । यी अनुभवले के देखाउँछ भने कम्युनिजम र नेपालमा जातीय रूपमा बहिष्करणमा पारिएका खासगरी आदिवासी÷जनजाति र दलितको सहसम्बन्ध कमसे कम विगतमा घनिष्ट थियो । 

नेपालजस्ता मुलुकमा मतदाता र कम्युनिस्ट अर्थात् दलका कार्यकर्ता को हुन् भन्ने फरक छुट्याउने गरेको पाइँदैन । सबै मतदातालाई कार्यकर्तासरह व्यवहार गर्नुमा पनि यहाँ खास कारण देखिन्छ । एक त मतदातामध्ये अधिकांशले भोट दिने दलको चयनलाई आफ्नो परिवारको पुस्तान्तरण प्रक्रियामा झँै पारिवारिक प्रतिष्ठाको विषय बनाएको पाइन्छ । कतिपय मतदाता टोलको नेता मन नपरे अथवा वल्लो–पल्लो घरमा कुनै दलको मतदाता छ र ऊसँग घरायसीलगायत विविध कारणले सम्बन्ध चिसियो भने अर्कालाई देखाइदिन वा बदलाको भावले अर्को दलको सदस्यता लिने अथवा मतदाता बनिदिने चलन छ्यासछ्यास्ती छ । जहाँसम्म कम्युनिस्ट मतदाताको सन्दर्भ छ, धेरैजसो अवस्थामा कांग्रेसका त्यस भेगका नेतासँगको सम्बन्धले पनि काम गरेको पाइन्छ । अन्य दल, खासगरी नेपाली कांग्रेससँग सम्बन्ध बिग्रिए उक्त दलको विरोधी खेमामा देखिन आममतदाताले कम्युनिस्टलाई रोज्ने या समर्थन गर्ने गरेको पाइन्छ ।  

पारिवारिक पृष्ठभूमी कम्युनिस्ट पार्टीको मतदाता भएका काठमाडौं विश्वविद्यालयका सहकर्मीलाई कसरी तपाइको परिवार कम्युनिस्ट पार्टीका मतदाता भएछन् भनेर सोध्दा उहाँको जवाफ थियो, ‘हामी पहिलेका सम्पत्तिवाला सम्पन्न परिवार । करिब ५ किलो सुन र १६ सय रोपनी जग्गाको मालिक, तर कुनैवेला हाम्रो घरमा काम गर्ने कामदारको सहायता लिएर हाम्रो परिवारमा भएको सुन र गरगहना त्यहाँका तत्कालीन कांग्रेसका मानिसले लुटिदिए । त्यसवेलादेखि हाम्रो परिवारले कांग्रेस रुचाएन र कम्युनिस्टसँग सम्बन्ध प्रगाढ बनायो ।’ नेपालमा कम्युनिस्ट मतदाता बन्ने अर्को यस्तै शृंखलाका सहयात्री पञ्चायतकालीन पञ्च र उसका पदाधिकारी भएको कुरा अब छिपेको छैन । त्यसो हुनुमा पञ्चले कम्युनिस्ट मन पराएको भन्दा पनि पञ्चायतकालमा कांग्रेसको बढ्दो शक्तिलाई क्षयीकरण गराउन कम्युनिस्टको सदस्यता बढाउने रणनीतिस्वरूप भएको भन्न सकिन्छ । 

नुवाकोट जिल्ला पञ्चायतका सभापतिका छोरा एकजना आफ्नो बाल्यकाल सम्झिन्छन् र भन्छन्, ‘बाबा जिल्ला पञ्चायत सभापति हुँदा कम्युनिस्ट र खासगरी अखिलका पर्चा र पम्प्लेट हाम्रा बाबाका सरकारी निवासमार्फत नै आँउथे । त्यसैले म वयस्क भइसक्दासम्म पनि मलाई अखिल र कम्युनिस्ट पार्टी हाम्रै बाबाको पार्टी हो जस्तो लाग्थ्यो ।’ यसो हुनुमा कांग्रेस त्यसवेलाको मुख्य शक्ति भएका कारण उसलाई कमजोर बनाउन त्यस्तो गठबन्धन भएको मान्न सकिएला । अर्को, यस्तो गठबन्धन बन्नमा पञ्चायतपक्षधर र कम्युनिस्टबीच मिलेको देखिने राष्ट्रवादले पनि काम गरेको हुन सक्छ । अर्थात्, कांग्रेसलाई अराष्ट्रिय शक्ति मानेर त्यसका विरुद्ध सबै राष्ट्रवादी एक भएको सन्देश दिन यी क्रियाकलापले राजावादी र कम्युनिस्टलाई आजसम्म पनि सहज बनाएको देखिन्छ । 

नेपालमा आज आदर्शको राजनीति गर्ने कोही पनि छैनन्, न त कम्युनिजममा विश्वास गर्ने समाजवादी छन्, न त लोकतान्त्रिक समाजवादी नै । यहाँ कम्युनिस्ट त छँदै छैनन्, मात्र ‘कम निष्ठ’ बग्रेल्ती भेटिन्छन् ।

कम्युनिस्ट भोट बैंक र भविष्य
त्यसो त कम्युनिस्टको आधार इलाका वा भोट बैंक कहाँ हो भन्नेमा नेपालमा खासै गहन अध्ययन भएको पाइँदैन । प्राध्यापक कृष्ण हाछेथुको दलबारेको अध्ययनमा कम्युनिस्टको आधार क्षेत्रका बारेमा केही चर्चा गरिएको पाइन्छ । उहाँका अनुसार मुख्य सहर अर्थात् कोर एरियामा कांग्रेस, त्यसपछिको अर्धसहरी घेरामा कम्युनिस्ट र दुर्गम ग्रामीण बस्तीमा कांग्रेसले आफ्नो पकड बनाउने गरेको र ०४७ पछिका निर्वाचन परिदृश्यमा अझै निरन्तरता रहेको ठम्याइ छ । तर, भर्खरैको स्थानीय चुनावले नेपालको आजको मूलधारको कम्युनिस्ट आधारमा धेरै परिवर्तन भएको देख्न सकिन्छ । नगरपालिकामा आधाभन्दा बढीमा एमालेले जितेको पाइयो भने गाउँपालिकामा तुलनात्मक रूपमा कांग्रेसको स्थिति राम्रो देखियो । 

प्राध्यापक हाछेथुले बताएका आधारमध्ये अब जातजातिको सवालमा पनि एमाले कताकता पहाडे र उच्च जातिको प्रतिनिधि दलका रूपमा आइरहेको देखियो । गहिरिएर हेर्दा स्थिति त्यस्तै देखिन्छ । एमालेले जवर्जस्त वर्चस्व बनाएको नगरमा हेर्दा जम्मा दुई सय ९३ नगरपालिकामध्ये एक सय ४८ मा मेयर खस आर्य समुदायका चुनिएर आए । यसको अर्थ धेरै उम्मेदवार खस आर्य नै बनाइएका कारण यस्तो परिणाम आयो । समग्र स्थानीय सरकारमा महिला प्रतिनिधित्वका सवालमा पनि एमालेलाई कांग्रेसले उछिनेको देखियो । कांग्रेसमा जित्ने महिलाको संख्या ४७ दशमलव ५ प्रतिशत भइरहँदा झन् तुलनात्मक रूपमा धेरै स्थानमा जितेको एमालेमा जित्ने महिला जनप्रतिनिधि जम्मा ४६ दशमलव ३ प्रतिशत देखिए । 

यसपटक जनता एमालेको मात्र भर परेको भए काठमाडौं महानगरमा संविधानविपरीत प्रमुख र उपप्रमुख दुवै पुरुष नै चुनिने अवस्था थियो भने कुनै पनि महानगरपालिले महिला मेयर पाउने थिएनन् । दलितको हालत त्यस्तै छ । कांग्रेसले कमसे कम एक उपमहानगरमा दलितलाई उम्मेदवार बनाएर मेयर जिताएको अवस्थामा बहुमत महानगर र उपमहानगर र नगरमा विजय भइरहेका कम्युनिस्टले एकजना पनि दलितलाई महानगर, उपमहानगरमा मेयरका रूपमा समेटेको देखिएन । कांग्रेससँग मिलेर स्थानीय चुनाव लडेको, तुलनात्मक रूपमा पछाडि पारिएका वर्गको पक्षमा आफूलाई देखाउन सफल तत्कालीन माओवादी केन्द्र पनि पछि एमालेसँग एकता गर्दै अगाडि बढ्दा पनि फरक अडान लिन सकेन । 

किन यस्तो भयो त ? उत्तर सहज छ । अब कम्युनिस्ट कम्युनिस्ट रहेनन् । कम्युनिस्ट भनेर चिनारी दिन अरू केही नचाहिने र भोट हालेको आधारमा कम्युनिस्ट भइने हुँदा आज घुसमा डुबुल्की मारेकादेखि कालाबजारिया व्यापारीसम्म, धर्मभिरूदेखि भेदभावलाई प्रश्रय दिनेसम्म, पुँजीवादीदेखि नवउदारवादी अर्थ व्यवस्थाका कट्टर समर्थकसम्म सबैले ‘म कम्युनिस्ट’ भनेर दावा गर्न थाले । यस्तैमा बिस्तारै ‘म कम्युनिस्ट’ भन्ने, तर व्यवहार र चरित्रमा चरितार्थ नगर्नेेले ‘कम्युनिस्ट’ दलको नेतृत्व हात लगाए । नेतृत्वमा रहेकालाई हेर्दा ठूलो हिस्सामाथि वर्णन गरिएझैँ सिद्धान्त, व्यवहार र आचरणमै कम्युनिस्ट देखिनेभन्दा पनि कम्युनिस्ट दलका मतदाता मात्र बन्न सक्नेले कम्युनिस्ट दलको नेतृत्व सम्हालेको अवस्था छ । 

यस परिस्थितिमा अब नेपालका कम्युनिस्ट खासगरी आजको सत्ताधारी नेकपाबाट ‘कम्युनिस्ट’ चरित्र खोज्नु आफँैमा असम्भवप्रायः देखिन्छ । अर्थात्, बहसकर्ताले खोजेको जस्तो कम्युनिजमका लागि दलले आचार र विचारकासाथ कम्युनिस्ट बन्ने र कमसेकम कम्युनिस्ट दलको नेतृत्व चाहनेले यसरी चिनिइरहनुपर्ने बाध्यकारी प्रावधान अवश्यक देखिन्छ । नेपालका एकजना समाजशास्त्रीको भनाइ सम्झँदै यो बहसलाई बिट मारौँ, उनका अनुसार, नेपालमा आज आदर्शको राजनीति गर्ने कोही पनि छैनन्, न त कम्युनिजममा विश्वास गर्ने समाजवादी छन् न त लोकतान्त्रिक समाजवादी नै । यहाँ कम्युनिस्ट त छँदै छैनन्, मात्र ‘कम निष्ठ’ बग्रेल्ती भेटिन्छन् ।
(लेखक राजनीतिक समाजशास्त्रका अध्यापक हुन्)
 

प्रतिकृया दिनुहोस