दूषित पानी पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । दिसापिसाबबाट सर्ने रोग लाग्न सक्छ । दूषित पानी प्रयोग गर्दा सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड हुन सक्छ । कसैकसैमा दिसामा आउँ पर्ने, रगत देखिने र कसैकसैलाई ज्वरो आउनेसमेत हुन्छ । झाडापखाला, टाइफाइड, जन्डिस गराउने भाइरस (हेपाटाइटिस) पनि पानीकै कारणले हुने गर्छ ।
छालासम्बन्धी रोग पनि देखिन सक्छ । प्रायजसो गर्मी मौसममा दूषित पानीले धेरै समस्या निम्त्याउने गरेको पाइन्छ । संक्रमित व्यक्तिले सावधानी नअपनाएमा अरू व्यक्तिमा सर्ने गर्छ । हामीले खोला, धारा, इनारबाट पानी प्रयोग गर्छौं । खानेकुरा त्यही पानीले पखाल्छौँ, नपकाई खाने फलफूल तरकारी दूषित पानीले पखालेर खायौँ भने पनि रोग सर्न सक्छ । टाइफाइड व्याक्टेरियाबाट हुन्छ । जुन व्यक्ति टाइफाइडबाट संक्रमित छ, उसको दिसा, पिसाबमा कीटाणु हुन्छ । संक्रमित व्यक्तिले राम्रोसँग हात धोएन भने अरूलाई सर्न सक्छ । टाइफाइड भएको व्यक्तिलाई उच्च ज्वरो आउने, बान्ता हुने झाडापखाला लाग्ने हुन्छ ।
सम्भावित केही कारण
खानेपानीको मुहानमै प्रदूषण भएको हुन सक्छ । त्यस्तै, ढल फुटेर खानेपानीमा मिसिँदा पानी दूषित हुन्छ । पानी परेर ढल ओभरफ्लो हुँदा खानेपानीमा मिसिँदा इन्फेक्सन बढी फैलन्छ । फोहोरमा भएको कीटाणु पानीमा बगेर गई खानेपानीमा मिसिँदा पानी दूषित हुने हुन्छ । खुला रूपमा गरेको दिसा–पिसाब खोलानाला, पोखरीमा मिसिने र त्यहाँको पानी मानिसले पिउँदा विभिन्न रोग लाग्ने हुन्छ । पानीको स्वाद फरक छ भने त्यो पानी दूषित हुन सक्छ ।
कसरी बच्ने ?
- आफूले पिउने पानी कहाँबाट आएको हो, बुझ्नुपर्छ । इनारको पानी हो भने इनारवरपर पर्खाल लगाएर बगेर आउने पानी मिसिन दिनुहुँदैन । पाइपको पानी हो भने पाइप फुटेर फोहोर मिसिएको छ/छैन, जाँच गर्ने गर्नुपर्छ । पानी सधैँ उमालेर, फिल्टर गरेर वा शुद्धीकरण विधि अपनाएर मात्र पिउनुपर्छ ।
- खाना खानुअघि, चर्पी गएर आएपछि, साबुनपानीले सफासँग हात धुनुपर्छ ।
- काँचो फलफूल, सागसब्जी खानुहुँदैन । सफा पानीले धोएर मात्र खानुपर्छ । पखाल्दा पानी सफा हुनुपर्छ ।
- आफ्नो घरवरपरको वातावरण सधैँ सफा राख्नुपर्छ । फोहोर बिसर्जन राम्रोसँग गर्नुपर्छ ।
- जथाभावी दिशा, पिसाब गर्न हुँदैन । शौचालय सधैँ सफा राख्नुपर्छ ।
- जथाभावी फोहोर फाल्नुहुँदैन । फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ ।
समस्या देखिएमा
- झाडापखाला लागेमा जीवनजल खानुपर्छ । यदि जीवनजल छैन भने नुन–चिनी–पानी पकाएर खानुपर्छ । झोलिलो खानेकुरा प्रशस्त खानुपर्छ ।
- दिनमा पाँचपटकभन्दा बढी पखाला लाग्यो । बान्ता हुने, खान मन नलाग्ने भएमा स्वास्थ्य संस्थामा जानुपर्छ ।
- ज्वरो आएको अवस्थामा सिटामोल लिन सकिन्छ । यसबाहेक अन्य औषधि चिकित्सकको सल्लाह नलिई प्रयोग गर्नुहुँदैन ।
- थप समस्या आए चिकित्सकसँग परामर्श गर्नुपर्छ ।