१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
यम बम काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चार दिनको वर्षाले तापक्रम घट्दा राहत 

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:४o:oo

पछिल्ला चार दिनको वर्षाले मुलुकभरको अधिकतम तापक्रम घटेको छ । १६ वैशाखदेखिको वर्षाले अधिकतम तापक्रम झन्डै ११ डिग्रीसम्म झरेको हो । वर्षाको अघिल्लो दिन १५ वैशाखमा मुलुक (मुख्य १५ वटा स्टेसनको औसत) अधिकत तापक्रम २९.८ डिग्री थियो । तर, चार दिनको वर्षासँगै मंगलबार औसत अधिकतम तापक्रम ५.१ डिग्रीले झरेर २४.७ डिग्री मापन भएको छ । यसरी तापक्रम घट्दा तराईमा जनजीवन सहज भएको छ भने काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका नागरिकले मध्य वैशाखमा न्यानो लुगा लगाउन थालेका छन् ।

लगातारको वर्षाले तापक्रममा सुधार भयो : प्रतिभा मानन्धर,  मौसमविद् मौसम पूर्वानुमान महाशाखा
वर्षाले देशभरको तापक्रम घटेर शीतल भएको छ । प्रिमनसुनमा पश्चिमी न्यूनचापीय प्रणाली पश्चिम–उत्तरबाट आएर वर्षा गराउने भएकाले यसले तापक्रम पनि घटाउँछ । तर, वर्षाको पानीले भने तापक्रम धेरै घटाउँदैन । लगातार चार दिन पानी पर्दा तापक्रममा सुधार भएको हो । तर, घाम लाग्दा फेरि बढ्ने हुन्छ । अहिलेको वर्षाले जनजीवन सहज बनाउनुका साथै खेतीपातीका लागि पनि सहज भएको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांक विश्लेषण गर्दा चार दिनमा दिपायलको अधिकत तापक्रम १०.८ डिग्रीले झरेको छ भने पछिल्लोपटक सबैभन्दा धेरै गर्मी भइरहेको भैरहवामा पनि तापक्रम ५.६ डिग्रीले घटेको छ । 

प्रिमनसुनको अवधिमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु एकसाथ सक्रिय हुँदा १६ वैशाखबाट वर्षा हुन थालेको हो । शनिबार, आइतबार र सोमबारको तुलनामा कम मंगलबार वर्षा भएको छ । पछिल्लो २४ घन्टामा घोराही, विराटनगर र धरानमा वर्षा मापन भएको छैन भने धनकुटा र जनकपुर क्षेत्रमा फाट्टफुट्ट वर्षा भएको छ । सोमबार सबैभन्दा बढी वर्षा डडेल्धुरामा ८०.४ मिलिमिटर भएकामा मंगलबार कैलाली, बाँके र दाङ क्षेत्रमा ४० देखि ६३ मिलिमिटरसम्म वर्षा भएको छ ।

कहाँ कतिले घट्यो तापक्रम ?
दिपायलमा १५ वैशाखमा अधिकतम तापक्रम ३४.८ डिग्री मापन भएको थियो । त्यसको दुई दिनमा २६.९ डिग्रीमा झरेकोमा मंगलबार २३.२ डिग्री मापन भएको छ । धनगढीको तापक्रम ३५.१ बाट ६.१ घटेर मंगलबार २९ डिग्री मापन भएको विभागले जनाएको छ । नेपालगन्जको तापक्रम पनि ६ डिग्रीले घरेको छ । दाङको घोराहीमा ३३.५ बाट घटेर २७.७ डिग्रीमा झरेको छ । तर, यसपटक कम वर्षा भएका क्षेत्र भैरहवा, सिमरा, विराटनगर, धरान र जनकपुर क्षेत्रको तापक्रम भने खासै घटेको छैन । १५ वैशाखमा भैरहवामा ३७.६ डिग्री पुगेको तापक्रम ३२ डिग्रीमा झरेको छ ।

पछिल्लो चार दिनमा काठमाडौंको तापक्रम ९.८ डिग्रीले झरेको छ । यहाँ गत शुक्रबार २९.२ डिग्री मापन भएकोमा मंगलबार १९.४ डिग्री मापन भएको छ । न्यूनतम तापक्रम पनि १२.८ डिग्री मापन भएको छ । वैशाखमा काठमाडौंमा सबैभन्दा धेरै तापक्रम ७ वैशाखमा ३३ डिग्री पुगेको थियो । विभागका अनुसार चार दिनमा डडेल्धुराको तापक्रम ८.९ ले घटेर १५.९ डिग्री मापन भएको छ ।

त्यहाँ १५ वैशाखमा २४.८ डिग्री तापक्रम थियो । सुर्खेतको वीरेन्द्रनगरमा तापक्रम ३३.४ डिग्रीबाट ७.३ ले घटेर २६.१ डिग्रीमा झरेको छ । जुम्लाको तापक्रम २१.७ डिग्रीबाट घटेर १६.१, पोखराको तापक्रम ३०.२ बाट घटेर २३.५, ओखलढुंगाको तापक्रम २३.४ बाट घटेर १९.१, ताप्लेजुङको तापक्रम २३ डिग्रीबाट झरेर १७ डिग्री मापन भएको छ । 

 

ad
ad