१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख १७ आइतबार ११:५६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यार्थीको चाप थेग्न नसकेर ताप्लेजुङको भानुजन माविले रोक्यो भर्ना अभियान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार ११:५६:oo

सामुदायिक विद्यालयप्रति आकर्षण

ताप्लेजुङका केही सामुदायिक विद्यालयले स्थानीय रेडियोमा विज्ञान बजाएर तथा घरघरमा गएर आफ्ना छोराछोरी पढाउन अभिभावकलाई अनुरोध गरिरहेका वेला भानुजन माध्यमिक विद्यालयले ११ दिनमै नयाँ विद्यार्थी भर्ना अभियान बन्द गरेको छ । विद्यार्थीको चाप थेग्न नसकेर विद्यालयले भर्ना नै बन्द गरेको हो । विद्यालयले प्रवेश परीक्षा (इन्ट्रान्स) लिएर उत्तीर्ण भएपछि मात्र नयाँ विद्यार्थीलाई भर्ना लिने गरेको छ ।

नयाँ शैक्षिक सत्रका लागि १ वैशाखदेखि भर्ना लिन थालिए पनि १५ दिनमै भर्ना अभियान बन्द गरिएको हो । १५ वैशाखसम्म दुईपटक प्रवेश परीक्षा लिएर भर्ना अभियान बन्द गरिएको विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिए । ४ र १५ वैशाखमा लिइएको प्रवेश परीक्षामा चार सय विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये तीन सयजना प्रवेश परीक्षा उत्तीर्ण भएको राईले बताए । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म २५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । अहिले कक्षा १० बाट एक सय ५० र कक्षा १२ बाट दुई सयजना निस्किएका छन् । तर, कक्षा ११ मा करिब पाँच सय विद्यार्थी पुनः थपिने अनुमान गरिएको छ । विद्यालयबाट तीन सय ५० जना बाहिरिँदा करिब आठ सयजना प्रवेश गर्ने गरेका छन् । 

समयअघि नै किन भर्ना अभियान बन्द गरिएको भन्ने प्रश्नमा प्रधानाध्यापक राईले शिक्षकको अभावका कारण धेरै विद्यार्थी भर्ना गर्न नसकेको जानकारी दिए । स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले शिक्षक र भौतिक संरचनाको ग्यारेन्टी गरे धेरै विद्यार्थी भर्ना लिन सकिने उनले बताए । 

भानुजन माध्यमिक विद्यालयको भौतिक संरचना, राजधानीमा रहेको सुविधासम्पन्न निजी विद्यालयभन्दा कम देखिँदैन । भानुजन माविमा सुविधासम्पन्न भवन निर्माण भएका छन् । कक्षाकोठा, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षित भएका कारण पनि विद्यार्थीहरूको हब भानुजन मावि बनेको छ । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना भएको छ । 

कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, विज्ञान, पर्यटन तथा पर्वतारोहण, शिक्षा, संगीत र व्यवस्थापन विषयको पठनपाठन हुने गरेका कारण पनि विद्यार्थीमा आकर्षण देखिएको छ । विद्यालयमा अंग्रेजी तथा नेपाली माध्यममा कक्षा १२ सम्मै पढाइ हुने गरेको छ ।