
पहिलो अधिवेशनमा पाँच सांसद १० भन्दा बढी बैठकमा लगातार अनुपस्थित भएका छन् । प्रतिनिधिसभा नियमावलीको दफा २१३ मा ‘अस्वस्थ वा काबुबाहिरको परिस्थिति परी संविधानको धारा ८९ (घ) बमोजिम लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भएमा सोसम्बन्धी अग्रिम सूचना सभामुखमार्फत सदनलाई दिनुपर्ने’ व्यवस्था छ । सूचना सभामुखले सभामा प्रस्तुत गर्ने र सदनले स्वीकृति गर्ने व्यवस्था छ ।
सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा १० भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको सूचना प्रस्तुत गरेका थिए । संसद् सचिवालयका अनुसार स्वास्थ्य उपचारमा रहेकी कांग्रेसकी मनोरमा शेरचन २९ बैठकमा अनुपस्थित भएकी छिन् । कांग्रेसकै विनाकुमारी थनैत स्वास्थ्योपचारका लागि २६ बैठकमा अनुपस्थित भएकी छिन् । कर्तव्य ज्यान मुद्दामा फरार एमाले सांसद लक्ष्मी महतो कोइरी स्वास्थ्योपचारमा रहेको भन्दै २१ बैठकमा अनुपस्थित भएका छन् ।
कांग्रेसकै चन्द्रकान्त भण्डारी स्वास्थ्योपचारका लागि मुम्बईमा रहेकाले १८ बैठकमा अनुपस्थित भएका छन् । माओवादीका वर्षमान पुन उपचारका लागि चीनमा रहेकाले २६ बैठकमा अनुपस्थित भएका छन् । सभामुखले १० भन्दा बढी बैठकमा अनुपस्थित सांसदको सूचना प्रस्तुत गर्दा कर्तव्य ज्यान मुद्दामा फरार एमाले सांसद कोइरीको नाम पनि समावेश गरेपछि विवाद भएको थियो ।
फरारलाई बिरामी भनेर अनुमोदन गर्न खोजेको भन्दै सत्तापक्षबाट रमेश लेखक, रवि लामिछाने र हितराज पाण्डेले विरोध जनाएका थिए । सभामुख घिमिरेले प्रचलित कानुन र नियमअनुसार आधार–प्रमाण खोज्ने र कारबाही गर्ने आश्वासन दिए पनि सूचना अनुमोदन हुन सकेन । साँझ बसेको बैठकमा सभामुख घिमिरेले उनको बिदा भने स्वीकृत गरेनन् ।
उनले भने, ‘लक्ष्मी महतो कोइरीबारे प्रश्न उठेको छ । यसबारे आगामी अधिवेशनमा कानुनबमोजिम हुन्छ ।’ त्यसअघिको बैठकमा उनले फरार सांसद निलम्बनमा रहने प्रावधान राखेर नयाँ नियमावली बनिसकेपछि पनि कुनै आधिकारिक जानकारी आइनसकेको बताएका थिए । ‘नयाँ नियमावली बनेपछि फरार हो है भन्ने स्पष्ट आधार आएको छैन । यसबारेको छानबिन हुने, छलफल हुने, प्रमाण खोज्ने, नियम, नियमावलीअनुसार हुनेछ,’ उनले भनेका थिए । तर, सत्तापक्षले नमानेपछि सभामुखले आधा घन्टाका लागि बैठक स्थगित गरेका थिए ।
जसको पद गुम्यो
प्रतिनिधिसभाको यो अधिवेशनमा केही सांसदको पद गयो भने केहीको निधन भयो । नागरिकता मुद्दामा चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको सर्वाेच्च अदालतको आदेशबाट पद गयो । उनले पुनः निर्वाचित भएर शुक्रबार नै शपथ लिएका छन् । मन्त्री बन्न व्यवसायीसँग पैसाको डिल गरेको अडियो बाहिरिएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भए । उनको ठाउँमा हेटौँडाकी विन्दवासिनी कंसाकार सिफारिस भएकी छिन् ।
यो अधिवेशनमा प्रतिनिधिसभाको सदस्यका रूपमा शपथ लिएका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा खेपिरहेकाले निलम्बनमा परे । तर, कर्तव्य ज्यान मुद्दामा फरार महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कारबाही भएन । अदालतले फैसला कार्यान्वयनका लागि प्रहरी प्रशासनलाई ताकेता गरे पनि उनी न पक्राउ परे, न सांसदबाट निलम्बित भए ।