१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १५ शुक्रबार १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सांसद कोइरीको विषयलाई लिएर संसदमा चर्काचर्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार १७:४o:oo

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका हुन्।

सभामुखले कोइरी मिति २०७९ माघ २५ देखि २०८० बैशाख १५ सम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराएका थिए। सभामुखको कुरामा विरोध जनाउँदै सांसदहरुले बैठक अवरोध गरेपछि बैठक ३० मिनेटका लागि स्थगन गरियो।

विरोध जनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेका र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हँसाइको विषय भएको बताए। उनले कोइरी बिरामी भएर अनुपस्थित भएको भन्ने शब्द नै संसदको रेकर्डबाट हटाउन माग गरे।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताए। भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनले बिरामी भन्न नहुने बताए।

त्यस्तै एमाले सांसद रघुजी पन्तले एमाले कोइरीलाई लुकाउने पक्षमा नरहेको बताए। उनले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको भन्दै प्रतिवाद गरे।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताए। उनले ज्यानमारालाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताए।

यता माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्नु नहुने र फरार अभियुक्तकै रुपमा लिनुपर्ने प्रष्ट पारे। सभामुख घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफू कहाँ नआएको प्रष्ट्याए। उनले आफूले प्राप्त गरेको पत्रअनुसार कोइरी बिरामी भएको सूचना सुनाइएको बताए।