
नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक तलब दिने घोषणा गरेको छ । यस घोषणासँगै यसै साता राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपका पुरुष तथा महिला विजेताले महासंघबाट मासिक पारिश्रमिक पाउनेछन् । पुरुषतर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलामा फिडेमास्टर सुजना लोहनी राष्ट्रिय च्याम्पियन बनेका थिए । फुटबल र क्रिकेटपछि आफ्ना खेलाडीलाई मासिक तलब दिने बुद्धिचाल तेस्रो संघ बनेको छ । यसअघि, अन्य खेलका संघले आफ्ना अन्तर्राष्ट्रिय खेलाडी वा राष्ट्रिय च्याम्पियनलाई मासिक तलब सुविधा दिने गरेका छैनन् ।
रुपेश र सुजनाले मासिक १०–१० हजार रुपैयाँ तलबस्वरूप पाउनेछन् । महासंघले सागर फिड्स प्रालि इटहरीसँगको सहकार्यमा खेलाडीलाई तलब सुविधाको सुरुवात गर्न लागेको अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिएका छन् । महासंघ र फिड्सबीच मंगलबार सम्झौता भयो । महासंघका अध्यक्ष गौतम र फिड्सका प्रबन्ध निर्देशक तथा महासंघका उपाध्यक्षसमेत रहेका ज्ञानेन्द्र पराजुलीले एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार फिड्सले महासंघलाई वार्षिक दुई लाख ४० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।
च्याम्पियन खेलाडी फिड्सको ब्रान्ड एम्बेसडर रहनेछन् । बुद्धिचाल महासंघका अध्यक्ष गौतमले राष्ट्रिय खेलाडीले प्रतिमहिना प्राप्त गर्ने मासिक रकम थोरै भए पनि सुरुवात गर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘राष्ट्रिय च्याम्पियन खेलाडीका लागि यो रकम थोरै हो, तर हामीले यसको सुरुवात गरेका छौँ,’ गौतमले भने, ‘फुटबलर, क्रिकेटरलाई अन्तर्राष्ट्रिय महासंघबाट तलब आउँछ, तर हामीलाई बुद्धिचालको अन्तर्राष्ट्रिय महासंघबाट सहयोग आउँदैन ।’
निजी क्षेत्रसँग सहकार्य
उनले निजी क्षेत्रको सहकार्यबाट खेलाडीलाई मासिक तलब दिन लागेको बताए । ‘निजीसँगको सहकार्यमा खेलाडीलाई मासिक तलबको व्यवस्था गरेका छौँ, यो दीर्घकालसम्म निरन्तरता दिन प्रयास गर्नेछौँ,’ उनले भने । यसैगरी, फिड्सका प्रबन्ध निर्देशक पराजुलीले बुद्धिचाल विकासमा व्यावसायिकताको सुरुवात गर्ने प्रयास गरेको जनाए ।
मासिक सुविधा पाउने च्याम्पियनद्वय रुपेश र सुजनाले पहिलोपल्ट निजी क्षेत्रले सहयोग गरेकोमा खुसी लागेको बताएका छन् । गत चैतमा बुद्धिचाल महासंघको नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै नयाँ प्रणालीमार्फत पहिलोपल्ट राष्ट्रिय च्याम्पियनसिप आयोजना भएको थियो । राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका, फिडे रेटिङमा शीर्ष स्थानमा रहेका र साबिक विजेता गरी १० खेलाडीबीच राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा गराएर राष्ट्रिय च्याम्पियन छनोट गरिएको थियो ।