
दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधारसँगै नर्मल वार्डमा सारिएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार शनिबार आइसियूबाट प्राइभेट वार्डमा सारिएको हो । ६ वैशाखमा भर्नासँगै आइसियूमा राखेर उपचार थालिएको थियो ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । ‘चिकित्सकको जानकारीअनुसार स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । शनिबार आइसियूबाट प्राइभेट वार्डमा सारिएको छ । स्वास्थ्य परीक्षण पनि क्रमिक रूपमा भइरहेको छ,’ उनले नयाँ पत्रिकासँग भने । नेपालमा भएका स्वास्थ्य परीक्षणको पुनः परीक्षण गरिएको छ ।
राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आइसियूविज्ञ डा. पुनीत मिश्रको गरी दुई टोली संलग्न छ । गत मंगलबार श्वास–प्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार चिकित्सक र परिवारको सल्लाहमा दिल्ली लगिएको थियो ।
राष्ट्रपति पौडेलको साथमा निजी चिकित्सक नीरज बम, परिवारका सदस्यसहित सातजना चिकित्सकको टोली दिल्लीमा छ । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको चिकित्सकले बताएका छन् ।