१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ८ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख ८ शुक्रबार o८:oo:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

यमनको सहायता वितरण स्थलमा भागदौड, ८५ जनाको मृत्यु

प्रत्यक्षदर्शीहरूका अनुसार अति गरिब यस देशका सयौँ मानिस खाद्यान्नलगायत आधारभूत सामग्रीको सहयोग लिन भेला भएका थिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ८ शुक्रबार o८:oo:oo

युद्धग्रस्त यमनमा एक सहायता वितरण कार्यक्रममा भएको झडपमा परी ८५ जनाभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद अल–फित्रको केही दिनअघि पछिल्लो भागदौड मच्चिएको हो । 

बाब अल–यमन जिल्लामा भएको भागदौडमा परी कम्तीमा ८५ जनाको मृत्यु हुनुका साथै ३२२ भन्दा बढी घाइते भएका हुथीका एक सुरक्षा अधिकारीले बताए । ‘मृत्यु हुनेमा महिला र बालबालिका पनि छन्,’ ती अधिकारीले भने । एक विद्यालयभित्र सहायता वितरणका क्रममा सो दुर्घटना भएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार गरिबीको चपेटामा परेको यस देशमा सयौँ मानिस खाद्यान्नलगायत आधारभूत समग्रीको सहयोग लिन भेला भएका थिए ।

हुथी विद्रोहीको अल मसिराह टिभी च्यानलले प्रसारण गरेको एक भिडियोमा शवहरूलाई एकसाथ पोको पारिएको देखाइएको छ । हुथीको गृह मन्त्रालयले विद्रोहीको समाचार संस्था सबाद्वारा जारी गरेको विज्ञप्तिमा मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र वितरणमा जिम्मेवार व्यक्तिहरूलाई हिरासतमा लिइएको जनाएको छ ।

केही व्यापारीले अनियमित रूपमा रकम वितरण गर्ने क्रममा भागदौड मच्चिँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।हुथीका राजनीतिक प्रमुख महदी अल मसातले घटनाको छानबिनका लागि एक समिति गठन गरिएको बताएका छन् । हुथीका एक सुरक्षा अधिकारीले घटनामा संलग्न भएको आशंकामा तीनजनालाई पक्राउ गरिएको पनि बताए । घटना भएको विद्यालयवरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । उनीहरूले मृतकका प्रियजनहरूलाई आफन्तहरूलाई खोज्न अस्पतालभित्र पस्न दिएका छैनन् । 

यमनमा आठ वर्षभन्दा बढी समयदेखि जारी गृहयुद्धलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा खराब मानवीय त्रासदीको रूपमा व्याख्या गरेको छ । सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानालाई कब्जामा लिएपछि द्वन्द्व सुरु भएको थियो, जसका कारण साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्न अर्को वर्ष हस्तक्षेप गरेको थियो ।

गत वर्ष संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको ६ महिना लामो युद्धविरामको समयावधि अक्टोबरमा सकिएपछि पनि युद्ध नाटकीय रूपमा कम भएको थियो । हुथी नियन्त्रित क्षेत्रका सरकारी कर्मचारीसहित दुईतिहाइभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।