के हो रेकी उपचार पद्धति ?

२०७५ चैत २९ शुक्रबार ११:२३:०० | काठमाडाै‌

रेकी एक प्राकृतिक तथा आध्यात्मिक उपचार पद्धति (हिलिङ) हो । रेकीको अर्थ विशुद्ध ऊर्जा हो । यसलाई बह्माण्डबाट आएको शक्ति मानिन्छ । रेकीको सुरुवात जापानबाट भएको थियो । सन् १९२२ मा डा. मिकाओ युसुईले रेकीको सिद्धान्त ल्याएका थिए ।
नवराज आचार्य, इन्स्ट्रक्टर
शक्तिपुञ्ज हिलिङ, सिफल

उपचार विधि
रेकी उपचार पद्धतिबाट एकैपटक हजारौँ मानिसको उपचार गर्न सकिन्छ । यसलाई अतिरिक्त उपचार पद्धतिको रूपमा पनि लिने गरिन्छ । जो मानिसको शरीरबाट निस्कने ऊर्जाका आधारमा गरिन्छ । हिलरले वातावरणबाट ऊर्जा प्राप्त गरी आफ्नो हत्केलाको माध्यमबाट बिरामीको शरीरमा पठाउँछ । जसको माध्यमले विभिन्न शारीरक तथा मानसिक समस्या निको हुन्छन् । 

रेकीभित्र फरक–फरक उपचार पद्धति अपनाइन्छ । सामान्यतया, यसका चार चरण छन् । पहिलो चरणअन्तर्गत समस्या भएको शरीरको भागमा छोएर उपचार गरिन्छ । 

दोस्रो र तेस्रो चरणमा नछोइकन आँखा र सासको माध्यमबाट ऊर्जा दिइन्छ । यसले शरीरमा भएको ऊर्जालाई बढाउँछ र बिस्तारै संक्रमणबाट टाढा राख्छ । 

चौथो चरणमा बिरामीलाई शान्त बस्न लगाएर हिलरले आफ्नो आत्मा र विचारको माध्यमले हिलिङ गर्छ । आधुनिक चिकित्सा पद्धतिले रेकीको यस्तो उपचार पद्धतिलाई मान्दैन, तर यो प्रभावकारी छ भनेर बुझ्न आवश्यक छ ।

विशेषता
रेकी सुरक्षित आध्यात्मिक उपचार मानिन्छ । यसले आत्मासँग सम्बधित रहेर काम गर्ने भएकाले अन्य कुनै असर देखिँदैन । बरु, यसले हाम्रो शरीरमा रहेका सकारात्मक ऊर्जालाई बढाइदिन्छ । 

रेकी विचार र बुद्धिमा भर पर्ने गर्छ । यसमा अन्य हिलिङ पद्धतिजस्तो ध्यानको आवश्यकता पर्दैन । रेकी वातावरणबाट स्वतः पाइने ऊर्जा हो, जसलाई हरेक व्यक्तिले सजिलै ग्रहण गर्न सक्छन् । 

रेकीको माध्यमले धेरै रोगको उपचार सम्भव हुन्छ । यसको माध्यमले डिप्रेसन, अनिद्रा, ह्याल्युसेनेसनजस्ता मानसिक समस्या तथा माइग्रेन, रक्तचाप, पाचन प्रणाली र मिर्गाैलासम्बन्धी रोग निको पार्न सकिन्छ ।  

नेपालमा रेकी उपचार पद्धति सुरु भएको धेरै भएको छैन । यद्यपि, यसरी उपचार गराउनेको संख्या बढ्दो छ । 

प्रतिकृया दिनुहोस