बितेको एक दशकमा पर्यटन क्षेत्रले सन्तोषप्रद फड्को मारेको देखिएको छ । ठूला पर्यटन पूर्वाधार थपिएका छन् भने पर्यटकको संख्या झन्डै दोब्बरले नै बढेको छ । अन्य क्षेत्रमा जस्तै भूकम्प, नाकाबन्दी, कोभिड र रसिया–युक्रेन युद्धले पर्यटन क्षेत्र प्रभावित भएको देखिन्छ । यद्यपि, दशकको उपलब्धि भने सन्तोषप्रद हुने सरोकारवाला बताउँछन् ।
यो अवधिमा आठ लाख तीन हजार ९२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । पर्यटकको बसाइ अवधि १२.८७ दिन रहेको थियो भने पर्यटनबाट प्राप्त आय ३० अर्ब ७० करोड ३८ रुपैयाँ रहेको थियो । प्रतिपर्यटक आय ३८ हजार दुई सय ३० रुपैयाँ, प्रतिपर्यटक प्रतिदिन खर्च दुई हजार नौ सय ७० रुपैयाँ थियो भने कुल जिडिपी १७ खर्ब एक अर्ब १९ करोड रुपैयाँमा पर्यटन क्षेत्रको योगदान १.८ प्रतिशत रहेको थियो । प्रत्यक्ष रोजगारी एक लाख ६० हजार रहेको थियो भने नेपालमा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय विमान सेवा २६ रहेको थियो ।
सन् २०२२ (०७८ पुस १६ देखि ०७९ पुस १६ सम्म) विभिन्न देशबाट ६ लाख १४ हजार पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ पर्यटक भित्रिएको तथ्यांक छ ।
सन् २०१९ मा इतिहासकै सबैभन्दा धेरै करिब १२ लाख पर्यटक नेपाल भित्रिएका थिए । तर, सन् २०२० को सुरुवातदेखि नै कोभिड महामारी फैलिन थालेपछि पर्यटक आगमन करिब ८१ प्रतिशतले घटेर दुई लाख ३० हजार ८५ मा झर्यो । सन् २०२१ मा यो संख्या अझै ३४.३ प्रतिशतले घटेर एक लाख ५० हजार नौ सय ६२ मा खुम्चियो । यो संख्या सन् १९७७ पछिकै सबैभन्दा न्यून हो । सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त भएको विदेशी मुद्रा आर्जन १३ अर्ब ५० करोड ११ लाखमा खुम्चियो । तर, पर्यटकको औसत बसाइ १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर पुग्यो ।
होटेल क्षेत्रमा के उपलब्धि ?
०६९ पुससम्म देशभर तारेस्तरका होटेल एक सय सात रहेका थिए भने बेड संख्या नौ हजार तीन सय ७१ थिए । यस्तै, तारेबाहेकका होटेल संख्या सात सय ४६ रहेका थिए भने बेड संख्या २२ हजार दुई सय ८६ रहेका थिए । तारे र तारेबाहेकका कुल होटेल संख्या आठ सय ५३ रहेको थिए भने कुल बेडसंख्या ३१ हजार ६ सय ५७ रहेका थिए ।
०७८ पुसम्म आइपुग्दा देशभर तारे र तारेबाहेकका कुल होटेल १३ सय ४५ र बेड संख्या ४८ हजार चार सय १२ पुगेका छन् । जसमध्ये तारेस्तरका होटेल संख्या एक सय ६२ र शैय्या संख्या १५ हजार सात सय ७५ तथा तारेबाहेकका होटेल ११ सय ८३ र बेड संख्या ३२ हजार ६ सय ३७ रहेका छन् । ०७९ चैतसम्म आइपुग्दा देशभर पाँचतारे होटेलको संख्या १९ पुगेका छन् । जसमा कोठा संख्या दुई हजार आठ सय ७७ र बेडसंख्या ४५ सयभन्दा बढी पुगेका छन् ।
विदेशी लगानी औसत
०६८ पुसदेखि ०६९ पुससम्म एक वर्षमा दुई सय ४६ उद्योग–परियोजनामार्फत १० अर्ब ४६ करोड ४० लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यी परियोजनाले ११ हजार एक सय ४७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए ।
०७८ पुसदेखि ०७९ पुसम्म एक वर्षमा एक सय ८५ परियोजनामार्फत २६ अर्ब ६ करोड १४ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । यी परियोजनाले नौ हजार नौ सय ११ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
तीन सय ९४ परियोजना दर्ता
०६८ फागुनदेखि ०६९ फागुनसम्म स्वदेशी तथा विदेशी लगानीका तीन सय ९४ परियोजना दर्ता भएका छन्, जसमा कुल पुँजी प्रतिबद्धता एक खर्ब १८ अर्ब आठ करोड ७२ लाख रुपैयाँ रहेको छ भने कुल रोजगारी प्रतिबद्धता २५ हजार एक सय तीन रहेको छ ।
०७८ फागुनदेखि ०७९ फागुनसम्म एक वर्षमा स्वदेशी तथा विदेशी लगानीका दुई सय ९३ उद्योग दर्ता भएका छन्, जुन उद्योगमा दुई खर्ब ७० अर्ब ५३ करोड कुल पुँजी र रोजगारी प्रतिबद्धता २२ हजार दुई सय ९७ रहेको छ ।
एयरपोर्ट कति थपिए ?
०७० को दशकमा नेपालमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् । करिब ३१ करोड लगानीमा भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ भने अमेरिकी डलरको अहिलेको विनिमय दरअनुसार करिब २८ अर्ब लगानीमा पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमले दुईवटा एयरबस ३३० र दुईवटा एयरबस ३२० जहाज भिœयाएको छ । यही दशकमा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा बोइङ बिक्री गरेको छ । ०७० को दशकमै हिमालय एयरलाइन्स स्थापना भई विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ भने बुद्ध एयरले पनि यही दशकमै अन्तर्राष्ट्रिय उडानको अनुमति पाएर भारतको बनारस र कोलकातामा अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ । ०७० कै दशकमा काठमाडौं, पोखरासहित तराईका विभिन्न नौ विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ ।