चीनबाट नेपाल भ्रमणका लागि एक सय ८१ चिनियाँ पर्यटक काठमाडौं आइपुगेका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा बिहीबार एक सय ८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेकाे हाे।
चिनियाँ पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत चेन सोङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरेका थिए। हिमालय एयरलाइन्सको विमान चार्टर गरेर एक सय ८१ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। उनीहरू करिब सातदेखि १० दिन नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा घुम्नेछन्।
एक सय ८१ चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए। उनले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको बताए।
कोरोना महामारीपश्चात् चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्य सूचीमा राखेको थियो। नेपाल गन्तव्य मुलुकमा परेपश्चात् चार्टर उडानमार्फत नेपाल आउनेमा उक्त समूह पहिलो रहेको छ। उनीहरू नेपाल विग माउन्टेन ट्राभलमार्फत आएका हुन्।