१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २९ सोमबार १७:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीबाट प्रधानमन्त्रीले भने– भारत र पाकिस्तानलाई संयमका लागि धन्यवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १७:३o:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका उपदेशहरू विश्वशान्तिका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

२५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८२ को अवसरमा सोमबार लुम्बिनीमा आयोजना गरिएको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्ति सन्देशहरू अहिले पनि विश्वका लागि अर्थपूर्ण र महत्त्वपूर्ण रहेको बताएका हुन्।

हालै भारत र पाकिस्तानबिच केही हात हालाहाल भएको, तर अघि बढ्न नपाएको भन्दै ओलीले संयमका लागि धन्यवाद दिए। उनले हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना नेपालको रहेको सम्झिँदै भने, ‘यस अर्थमा सबै कुराका लागि शान्तिको महत्त्वछ। हामी लुम्बिनीबाट विश्वशान्तिको कामना गरिरहेका छौँ।’

उनले अहिले ‘मास ड्रिस्ट्रक्सन’का हतियारहरू निर्माण र भण्डारणको काम भइरहेको उल्लेख गर्दै यो मानव र धर्तीको अस्तित्वका लागि खतरनाक रहेको बताए। ‘यसकारण यस खतरनाक चिजबाट उन्मुक्तिका लागि फेरि पनि विश्वशान्तिको पक्षमा रहनुपर्छ,’ उनले भने।

त्यस्तै, प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको विकास, यसको बफरजोनको विकासलगायतका कुराहरूमा सरकारले विशेष ध्यान दिने आश्वासन दिए। बृहत् लुम्बिनी गुरुयोजनालाई सकेसम्म छिट्टै पूरा गर्ने सरकारको प्रयास रहेको उनको भनाइ थियो।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने बताए। आजको दिनले शान्तिको सन्देश विश्वसामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेको पनि उनले बताए।

मुख्यमन्त्री आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको उल्लेख गरे। विमानस्थल सञ्चालन तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ थियो।