१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २९ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ चैत २९ बुधबार १६:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखा-जितगढी एकीकरण मार्ग पदयात्रा सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २९ बुधबार १६:o७:oo

गोरखा दरबारदेखि जितगढी एकीकरण मार्ग पदयात्रा २०७९ सुरु भएको छ। नेपालको इतिहासको जगेर्ना गर्दै ऐतिहासिक महत्व बोकेका स्थानको पर्यटकीय स्थलका रूपमा विकास गर्न नेपाली सेनाको टोली गोरखा दरबारबाट पदयात्रामा निस्किएको हो।

गोरखा दरबारबाट बुधबार बिहान पृथ्वीनारायण शाहले एकीकरणको क्रममा स्थापना गरेका श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख, जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डा र नेपालको राष्ट्रिय झन्डासहित ४८ जना सम्मिलित सेनाको टोलीलाई बिदाइ गरिएको छ । गोरखादेखि तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी पुगेर वैशाख ७ गते यात्रा पूरा हुनेछ । यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा–तनहुँ–स्याङ्जा–पाल्पा हुँदै रुपन्देहीको जितगढीसम्म दुई सय सात किलोमिटर दूरीको हुनेछ ।

नेपाली सेनाका पश्चिम पृतनापति दीपककुमार बानियाँले नेपालको संविधानले सेनालाई राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्नुका साथै राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी सुम्पिएको बताउँदै राष्ट्रियतालाई थप मजबुत बनाउन सेनाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।

उनले जितगढीलाई युद्ध संग्रहालयका रूपमा विकास गर्न विभिन्न पूर्वाधारहरू निर्माण भइरहेको बताए। नेपालको विगतको इतिहासको जगर्ना गर्दै वर्तमानलाई भविष्यसम्म जोड्ने विशुद्ध योजनाअनुरूप पदयात्रा सुरु गरिएको उनको भनाइ छ।

 

चैत २९ गते गोरखा दरबारबाट सुरु भएको पदयात्रा पालुङटार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गरिनेछ । तनहुँमा चैत ३०, वैशाख १ र २ गते यात्रा रहनेछ भने वैशाख ३, ४, ५, ६ गते टोली पाल्पा पुग्नेछ। ७ गते सतिघाटमा यात्रा भव्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ ।

यात्रामा सहभागी नेपाली सेनाको टोलीलाई पश्चिम पृतनापति हेडक्वार्टरका दीपककुमार बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर रानामगर, गोरखा नगरपालिका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकर, गोर्खा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललगायतले बिदाइ गरेका थिए।

सेनाले यसअघि पृथ्वीनारायण शाहले काठमाडौंसम्म यात्रा गरेको बाटो गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्म टर्च बालेर पदयात्रा गरेको थियो । नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए।