प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयले जीवनोपयोगी शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार महेन्द्रनगरमा उक्त विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले निकट भविष्यमै वन विज्ञान एवं हर्बल विज्ञानजस्ता कार्यक्रम सञ्चालन गरिने बताए ।
सुदूरपश्चिम विश्वविद्यालयले प्राविधिक एवं व्यवसायमूलक गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै मुलुककै एक प्रतिष्ठित विश्वविद्यालयको रूपमा स्थापित हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । ‘मलाई सम्झना छ, तत्कालीन राज्यसत्ताले सधैँ उपेक्षामा पार्दै आएको सुदूरपश्चिम क्षेत्र र यस क्षेत्रका जनताको दूरगामी भविष्यको परिकल्पना गरेर हामीले विश्वविद्यालय स्थापनाको निर्णय गरेका थियौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो दोस्रो कार्यकालमा यो विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारका लागि समेत कतिपय निर्णय भए।’
कञ्चनपुरमै सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएपछि उच्च शिक्षा प्राप्त गर्न राजधानी काठमाडौं एवं भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियति अन्त्य भएको उनको भनाइ छ । विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यावहारिक, जीवनोपयोगी तथा समाज सुधारका लागि सहयोगी हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।
कार्यक्रममा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विज्ञान प्रविधिको उच्चतम विकासका लागि प्राथमिकता दिने बताए । ‘शिक्षालाई गरिबी हटाउने मूल अस्त्रका रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्छौँ ।’
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले अब छिट्टै हर्बल शिक्षा सञ्चालन गर्ने बताए । आर्थिक अभावमा विश्वविद्यालयले गति लिन नसकेको बताउँदै उनले दरबन्दी मिलानलगायतका विषयमा जोड दिए । तेस्रो दीक्षान्त समारोहमा एक सय ७९ विद्यार्थी दीक्षित भएका छन् ।