मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २३ बिहीबार ०५:५८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जोखिमका वेला काबुलमा काम लगाएका नेपालीलाई डिपोर्ट गर्दै बेलायत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २३ बिहीबार ०५:५८:००

अफगानिस्तानमा तालिबानको शासन सुरु भएसँगै काबुलस्थित बेलायती राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मी लन्डन फर्काएको बेलायतले अहिले उनीहरूलाई नेपालतर्फ ‘डिपोर्ट’ गर्न लागेको छ । बेलायती राजदूतावास हटेसँगै काबुलबाट लन्डन लगिएका र त्यहीँ काम गरिरहेका ११ जना नेपाली सुरक्षागार्डलाई हिरासतमा राखेर नेपाल फर्काउन लागिएको हो । 

नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल
स्थायी बसोवास अनुमति पाएकालाई पनि किन डिपोर्ट गर्न लागिएको हो भनेर हामीले जवाफ मागेका छौँ 

बेलायतको समाचारपत्र द गार्जियनले समाचार प्रकाशित गरेपछि लन्डनस्थित नेपाली राजदूतावासले बेलायतसँग यसबारे जानकारी मागेको छ । ‘हामी ती नेपालीसँग सम्पर्कमा छौँ । उनीहरूसँग आइएलआर (बेलायतमा उनीहरूले चाहेसम्म बस्न, नोकरी गर्न र बेलायती नागरिकताका लागि आवेदन गर्न सक्नेसम्मको हैसियतको डकुमेन्ट) हुँदाहुँदै किन डिपोर्ट गर्न लागिएको हो भनेर जानकारी पनि मागेका छौँ,’ लन्डनस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनालले नयाँ पत्रिकासँग भनिन् । गार्जियनका अनुसार बेलायतबाट दुईजना भारतीय र ११ जना नेपाली सुरक्षाकर्मीलाई डिपोर्ट गर्न लागिएको छ । उनीहरू सबैजनालाई हिरासतमा राखिएको छ । 

हिरासतमा रहेकामध्ये ३७ वर्षीय नेपाली नागरिक बमबहादुर गुरुङले एक दशकभन्दा बढी समय अफगानिस्तानको काबुलमा काम गरेको, बेलायती दूतावासमा काम गरिरहँदा तालिबानले सत्ता लिएसँगै लन्डन फर्केको गार्जियनलाई बताएका छन् । उनीहरूलाई २७ मार्चमा बेलायतको अध्यागमनले पक्राउ गरेको छ । कतिपयसँग स्थायी बसोवासका लागि अनुमति नभएको भन्दै बेलायत सरकारले पक्राउ गरेर सम्बन्धित देश पठाउन लागेकोमा गुरुङ पनि परेका छन् । 

उनीहरूलाई ११ अप्रिलदेखि बेलायतबाट पठाउन लागिएको गार्जियनले समाचार छापेको छ । गुरुङ र अर्का नेपालीको प्रतिनिधित्व गर्ने डंकन लुइस सलिसिटरका जेमी बेलले भने गार्जियनसँग भनेका छन्, ‘यी मानिसले आफ्नो ज्यान जोखिममा राखेर काबुलस्थित बेलायती दूतावासको सुरक्षाका लागि काम गरे । उनीहरूलाई कानुनी रूपमा बेलायत लगियो र उनीहरूलाई बेलायतमा स्थायी बसोवास दिइनेछ भन्ने विश्वास दिलाइयो । बरु, बेलायतमा जीवन बिताउन अनुमति दिएपछि उनीहरूलाई धोका दिएर हिरासतमा राखिएको छ । सरकारी अधिकारीले उनीहरूप्रति यस्तो व्यवहार गर्नु खेदजनक छ ।’