
खेलकुदसँग सम्बन्धित स्पोर्टरडार इन्टिग्रिटी सर्भिसेजले एउटा तथ्यांक सार्वजनिक गरेको छ । इन्टिग्रिटी सर्भिसेजले सन् २०२२ मा अन्तर्राष्ट्रिय खेलकुदमा भएका सबै गतिविधिको सूक्ष्म अध्ययन गरी तथ्यांक सार्वजनिक गरेको हो । यस तथ्यांकअनुसार सन् २०२२ मा विश्वभर फिक्सिङ र भ्रष्टाचार ३४ प्रतिशतले बढेको छ । यसमध्ये फुटबल र बास्केटबलमा सर्वाधिक भ्रष्टाचार र फिक्सिङ भएको तथ्यांकमा उल्लेख छ । रिपोर्टअनुसार फुटबलमा ७७५ खेलमा खेलमा मिलेमतो भएको आशंका छ ।
अमेरिकामा सर्वाधिक लोकप्रिय रहेको बास्केटबल खेल विश्वकै दोस्रो फिक्सिङ र भ्रष्टाचारको सूचीमा रहेको छ । सन् २०२२ मा बास्केटबलमा मात्र २२० खेलमा फिक्सिङ भएको दाबी इन्टिग्रिटी सर्भिसेजले गरेको छ । यसैगरी, गत वर्ष लनटेनिसमा ७५ खेल र टेबलटेनिसमा ६२ खेलमा फिक्सिङ भएका थिए । फुटबलपछि विश्वका प्रसिद्ध कम्पनीले पछ्याउने क्रिकेटमा १३ खेलमा फिक्सिङ र भ्रष्टाचार भएको इन्टिग्रिटी सर्भिसेजले जनाएको छ ।
स्पोर्टरडार इन्टिग्रिटी सर्भिसेज युनिट एक्सपर्टको एक अन्तर्राष्ट्रिय कम्पनी हो, जसले वर्षभरि विभिन्न खेलमा हुने सट्टेबाजी, म्याच फिक्सिङ र भ्रष्टाचारको विश्लेषण गर्छ । खेलका दौरान हुने सन्दिग्ध गतिविधि पत्ता लगाउन इन्टिग्रिटी सर्भिसेसको एक युनिट छ । युनिभर्सल फ्रड डिटेक्सन सिस्टम (युएफडिएस) एप्लिकेसन युनिटले खेलहरूको तथ्यांक संकलन गर्छ । यसै युएफडिएसले बास्कटेबलमा सर्वाधिक धेरै गैरकानुनी गतिविधि भएको दाबी गरेको छ । सन् २०२१ को तुलनामा बास्केटबलमा २२० प्रतिशत फिक्सिङ रेट बढेको जनाएको छ ।
१२१२ खेलको अध्ययन
इन्टिग्रिटी सर्भिसेजले आइतबार ३२ पेजको एक प्रतिवेदन सार्वजनिक गरेको छ । ‘२०२२ मा सट्टेबाजी, भ्रष्टाचार र म्याच फिक्सिङ’ शीर्षक राखेको छ । इन्टिग्रिटी सर्भिसेजले सन् २०२२ मा ९२ देशमा आयोजित १२ खेलकुद इभेन्टका १२१२ खेलको अध्ययन गरेको जनाएको छ । जसमा सट्टेबाजी, भ्रष्टाचार र फिक्सिङ संलग्न रहेको प्रतिवेदनमा उल्लेख भएको छ । विश्वकै नम्बर एक खेलका रूपमा रहेको फुटबलमा आश्चर्यजनक रूपमा धेरै फिक्सिङ भए ।
इन्टिग्रिटी सर्भिसेजले युरोपमा धेरै फिक्सिङ भएको दाबी गरेको छ । युरोपमा हुने विभिन्न प्रिमियर लिगका ६३० खेलमा गैरकानुनी गतिविधि भएको जनाइएको छ । त्यसपछि एसियामा २४० र दक्षिण अमेरिकामा २२५ खेलमा फिक्सिङको आशंका गरिएको छ । इन्टिग्रिटी सर्भिसेजले अफ्रिकामा ९३ खेल, उत्तर अमेरिकामा २४ खेल र दक्षिण अमेरिकामा ७२ प्रतिशतले फिक्सिङ गतिविधि बढेको दाबी छ ।