१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ चैत १९ आइतबार ०६:२९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपनिर्वाचनमा ‘हेभिवेट’ भिडन्त

Read Time : > 4 मिनेट
२०७९ चैत १९ आइतबार ०६:२९:००

आगामी १० वैशाखमा चितवन २, तनहुँ १ र बारा २ मा हुन लागेको उपनिर्वाचन चर्चित र ‘हेभिवेट’ उम्मेदवारका कारण रोचक र पेचिलो बन्ने निश्चित

सत्तागठबन्धन साझा उम्मेदवारीतिर हुँदा एमाले र रास्वपा एक्ला–एक्लै चुनाव लड्ने तयारीमा

तीनवटा निर्वाचन क्षेत्रमा आगामी १० वैशाखमा हुन लागेको उपनिर्वाचन रोचक हुने भएको छ । अहिलेसम्म तय भएका चर्चित र ‘हेबिवेट’ उम्मेदवारका कारण उपनिर्वाचन पेचिलो बनेको छ । चितवन २, तनहुँ १, बारा २ मा २० चैतमा उम्मेदवारी दर्ता हुँदै छ ।

सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी साझा उम्मेदवार बनाएर जाने तयारीमा छन् । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै निर्वाचन लड्ने दाबी गरेका छन् । राप्रपाले आइतबार उम्मेदवार तय गर्दै छ । 

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उपनिर्वाचनमा पनि गठबन्धन निरन्तर रहने र छलफलबाटै साझा उम्मेदवार तय हुने दाबी गरे । ‘गठबन्धनको आवश्यकता र संस्कृतिलाई उपनिर्वाचनमा पनि निरन्तरता दिन्छौँ । गठबन्धनमा छलफल जारी छ, थप छलफलबाट साझा उम्मेदवार तय गरेर निर्वाचनमा जान्छौँ,’ उनले नयाँ पत्रिकासँग भने । 

हालसम्म कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले आफ्ना उम्मेदवारलाई साझा उम्मेदवार बनाउने प्रयत्न गरिरहेको छ । बारा ३ मा उपेन्द्र यादवलाई सघाउनेबारे आधिकारिक निर्णय गर्न आइतबार कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

एकीकृत समाजवादीले उम्मेदवार नउठाएर गठबन्धनका उम्मेदवारलाई सघाउने नीति लिएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले उपनिर्वाचनमा पार्टीले उम्मेदवार नउठाउने बताए । ‘हाम्रो पार्टीबाट उपनिर्वाचनमा उम्मेदवार हुँदैन । गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार हुन्छन्,’ उनले भने ।

एमालेले एक्लै निर्वाचन लड्ने बताएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले एक्लै निर्वाचन लड्ने बताए । ‘हामी हाम्रै बलबुतामा निर्वाचन लड्छौँ । तीनवटै निर्वाचन क्षेत्रमा सूर्य चिह्न खडा हुन्छ । र, हामी जित्छौँ,’ उनले भने । 

माओवादी कोषाध्यक्ष श्रीराम ढकाल गठबन्धनमा छलफलपछि उम्मेदवारबारे पार्टीले निर्णय लिने बताउँछन् । तर, गठबन्धनबाट साझा उम्मेदवार बनाउने विषयमा माओवादी रहेको उनले बताए ।

चितवन २

रास्वपा सभापति एव पूर्वगृहमन्त्री रवि लामिछानेको जनलहर घटे–नघटेको ‘मिनी जनमत’ संग्रहका रूपमा हेरिएको छ । कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ र एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । 

रास्वपाबाट लामिछाने फेरि चुनावी मैदानमा उत्रिँदा कांग्रेस र एमालेले नयाँ उम्मेदवार अघि सारेका छन् । चितवन २ बाट निर्वाचित सांसद लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि सांसद पद खारेज भएको थियो । लामिछानेले नागरिकता पुनः प्राप्ति गरिसकेका छन् । 

मंसिरमा लामिछानेसँग प्रतिस्पर्धा गरेका एमाले र कांग्रेसका उम्मेदवार यसपटक प्रतिस्पर्धामा छैनन् । गत ४ मंसिरको निर्वाचनमा चितवन २ बाट लामिछानेले एक सय ६५ वटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतान्तरले जितेका थिए । टेलिभिजन प्रस्तोता हुँदै रास्वपा पार्टी गठन गरेर राजनीतिमा आएका लामिछाने ३४ हजार तीन सय १२ मतान्तरले निर्वाचित भएका थिए । 

चितवन कांग्रेस सभापति राजेश्वर खनालले चितवन २ मा श्रेष्ठलाई सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उभ्याउने निर्णय भएको बताए ।  एमाले चितवनका उम्मेदवार रामप्रसाद न्यौपानेले गत निर्वाचनमा मतदातालाई भ्रममा पारिएको र अहिले त्यो छताछुल्ल भएको दाबी गरे । 

तनहुँ १

तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ । यहाँ कांग्रेसका गोविन्द्र भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने तय भएको छ । भट्टराईलाई सत्तारूढ गठबन्धनको समर्थन रहने सम्भावना छ । 

कांग्रेस छाडेका वाग्लेलाई रास्वपाले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । ४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसको चुनावी घोषणापत्रसमेत लेखेका डा. वाग्लेले शुक्रबार मात्रै पार्टी छाडेको घोषणा गरेका थिए । घोषणाको भोलिपल्टै उनी रास्वपाको पत्रकार सम्मेलनमा उम्मेदवारका रूपमा सार्वजनिक भएका छन् । डा. वाग्लेले नेपाली राजनीति अब ‘प्याराडाइम सिफ्ट’को चरणमा गएको दाबी गर्दै रास्वपामार्फत अब छोटो अवधिमा नेपाल बनाउने महाअभियानमा लागेको बताए । ‘आजैदेखि नेपाल बनाउने महाअभियान, छोटो अवधिमा द्रुतगतिमा नेपाल बनाउने महाअभियानमा हामी होमियौँ । त्यो घोषणा यहाँबाट गर्न चाहेँ,’ उनले भने । 

नेपाल प्रहरीका पूर्वआइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । भानु नगरपालिका तनहुँ १ मै पर्छ । खनालको परिवार कांग्रेस हो । खनालले कांग्रेसको समेत मत तान्न सक्ने एमालेको विश्वास छ । खनालले कांग्रेसको गोविन्द्रराज जोशी समूहको समेत समर्थन जुटाउन सक्ने विश्वास एमालेको छ । उनी गत ४ मंसिरको निर्वाचनमा काठमाडौं ६ बाट रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । तनहुँ १ मा एमालेका उम्मेदवार खनालले राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवका आधारमा भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, राष्ट्रियताको रक्षाका लागि नीतिगत रूपमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए । 

कांग्रेस तनहुँ जिल्ला सभापति जितप्रकाश आले केन्द्रको सहमतिअनुसार गठबन्धनका तर्फबाट कांग्रेसले साझा उम्मेदवारी दर्ता गराउने बताउँछन् । उनी उम्मेदवारीपछि गठबन्धन दलको बैठक बसेर थप रणनीति बनाउने तयारी रहेको बताउँछन् । उम्मेदवारी मनोनयन र नतिजा ल्याउन केन्द्रीय पदाधिकारीसहित जिल्लाकै केन्द्रीय सदस्य तथा सांसदहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेता सक्रिय रहने बताए । 

बारा २ मा माओवादीले पनि जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने औपचारिक निर्णय लिनेछ । माओवादीले तनहुँ १ मा ढकाल, केन्द्रीय सदस्य ओमकुमारी पौडेल र वैकल्पिक केन्द्रीय सदस्य क्षितिज लामिछानेको नाम सिफारिस गरेको छ । तर, ढकालले आफू उम्मेदवार नबन्ने जानकारी गराएका छन् । ‘पार्टीले नाम सिफारिस गरेको थियो, तर उमेर र अवस्थाका कारण पनि मैले युवालाई अवसर दिनुपर्छ भनेर उम्मेदवार नबन्ने निर्णय लिएको हुँ । सिफारिस अन्य दुई नाममा छलफल हुन्छ,’ उनको भनाइ छ । 

बारा २ : जनमत र रास्वपाका उम्मेदवार तय, सत्तागठबन्धन र एमालेको टुंगिन बाँकी

बारा २ मा रास्वपा र जनमतले उम्मेदवारी टुंग्याएका छन् । रास्वपाले पूर्वडिआइजी रमेश खरेल र जनमतले शिवचन्द्र कुसवाहलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव सत्तारूढ गठबन्धनबाट साझा उम्मेदवार हुँदै छन्, औपचारिक निर्णय हुन बाँकी छ । 

गत निर्वाचनमा कुसवाह सोही क्षेत्रमा तत्कालीन सत्तागठबन्धनका साझा उम्मेदवार थिए । उपनिर्वाचन हुन केही दिनअघि उनी जनमत प्रवेश गरेका थिए । तनहुँ र चितवनमा उम्मेदवारी घोषणा गरेको एमालेले बारामा आफ्नो उम्मेदवारी टुंग्याएको छैन । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको पनि चर्चा छ । 

गत निर्वाचनमा नेपाल सुशासन पार्टीका तर्फबाट काठमाडौं १ मा लडेका खरेल पनि बारा २ बाट रास्वपाको उम्मेदवार बनेका हुन् । खरेलले २९ वर्ष देशको सेवा गर्नु नै उपनिर्वाचन लड्नुको बलियो आधार रहेको बताए ।

एमालेले अन्य पार्टीबाट भिœयाएर उम्मेदवार बनाउने, जिल्ला कमिटीले सिफारिस गरेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश कमिटी सदस्य राजेश साह र वन्दना सिंहमध्ये एकलाई उम्मेदवार बनाउने कि अन्य दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ । बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रत्यक्ष (४ मंसिर)  :  रामसहायप्रसाद यादव (जसपा) : १३ हजार ८२२, शिवचन्द्रप्रसाद कुसवाह (माओवादी) : १३ हजार ४६८, रामकिशोरप्रसाद यादव (स्वतन्त्र) : ११ हजार ४३, रवीन्द्रप्रसाद यादव (स्वतन्त्र) : १० हजार ७५०, अरुणकुमार ज्ञवाली (स्वतन्त्र) : ७ हजार ६९८, राजेश साह (जनमत) : २ हजार ७२५, तेजबहादुर भगत (नागरिक उन्मुक्ति) : १ हजार १११, अन्य १५ उम्मेदवार : ३ हजार १२५ मत

समानुपातिक (४ मंसिर)  :  जसपा : १३ हजार २४२, कांग्रेस : ११ हजार १७९, एमाले : ९ हजार १९३, जनमत पार्टी : ८ हजार ८४६, लोसपा : ४ हजार २३५, नागरिक उन्मुक्ति : ३ हजार ७९४, माओवादी : ३ हजार २६५, नेपाल संघीय समाजवादी : २ हजार ३६६, एकीकृत समाजवादी : १ हजार ९९६, रास्वपा : १ हजार ४५५ र राप्रपा : ९९२ मत