१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश रावल सुर्खेत
२०७९ चैत १८ शनिबार ०७:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कर्णाली सरकारलाई कांग्रेस–एमाले दुवैको विश्वास

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७९ चैत १८ शनिबार ०७:२५:००

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई कांग्रेस र एमाले दुवैले विश्वासको मत दिएका छन् । १५ फागुनमा संघ सरकार छोडेसँगै सुदूरपश्चिम र बागमती प्रदेशबाट पनि बाहिरिएको एमालेले शुक्रबार भने कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको छ ।

हाल कर्णालीको सत्ताबाहिर रहे पनि संघको गठबन्धनअनुसार भन्दै कांग्रेसले पनि अन्तिम समयमा आएर प्रदेश सभामा विश्वासको मत दिएको छ । मुख्यमन्त्री शर्माले भने बहुमत रहेकाले एमालेलाई सरकारबाहिर राख्ने रणनीति लिएका थिए ।

२७ पुसमा माओवादीबाट मुख्यमन्त्री बनेका शर्माले यसअघि ६ माघमा विश्वासको मत लिएका थिए । त्यतिखेर कांग्रेस प्रतिपक्षमा थियो । तर, शुक्रबार भने राप्रपाबाहेकका सबै दल कांग्रेस, माओवादी, एमाले, एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ३८ जनाले विश्वासको मत दिए । प्रदेश सभाका ४० मध्ये ३९ सांसदले मतदानमा भाग लिएका थिए ।

शर्माले विश्वासको मतको पक्षमा ३८ मत पाएका छन् । उनको विपक्षमा राप्रपाका १ सांसद उभिएका थिए । शर्मालाई विश्वासको मत दिनेमा कांग्रेसका १४, माओवादीका १३, एमालेका नौ, एकीकृत समाजवादी र स्वतन्त्र एकजना सांसदले समर्थन गरेका छन् । एकपटक मौन रहेका कांग्रेसका सांसदले अन्तिम अवस्थामा पक्षमा मतदान गरेका थिए ।

मुख्यमन्त्री शर्माले बहुमत हुँदाहुँदै पनि राजनीतिक इमानदारिताका लागि विश्वासको मत लिएको बताए । ‘समर्थन गरेको एउटा दल राप्रपाले विश्वासको मत फिर्ता लिएपछि पुनः विश्वासको मत लिन उचित ठानेको हुँ,’ उनले भने ।

कसले थाप्यो ढोक्सा ?
एमाले कर्णाली सरकारबाट बाहिरिएको छैन । यहाँ एमालेका तीनजना मन्त्री सरकारमै छन् । प्रदेश सभामा दोस्रो ठूलो दल माओवादीको नेतृत्वमा सरकार रहेका वेला एमालेले विश्वासको मत दिएको हो । खासगरी प्रदेश सभामा पहिलो रहेको दल कांग्रेसले मुख्यमन्त्री दाबी गरिरहेको, तर कांग्रेस–माओवादीबीच सहमति जुटिसकेको छैन ।

यही अवस्था देखेको एमालेले यसअघि बागमती र सुदूरपश्चिममा अंगीकार गरेको नीतिविपरीत शुक्रबार मुख्यमन्त्रीलाई विश्वासको मत दियो । एमालेले यसअघि पनि समर्थन फिर्ता लिएको थिएन, राप्रपा १८ माघमा सरकारबाट बाहिरिनुका साथै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले संसद् सामना गर्नुपरेको हो । एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेल विगतमा माओवादीसँग भएको सहमतिअनुसार नै समर्थन कायम रहेको बताउँछन् ।