मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
चिचिला गाउँपालिका कार्यालय वरिपरि रोपिएको अम्रिसो ।
नवीन गुरुङ संखुवासभा
२०७९ चैत १६ बिहीबार १६:३२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अम्रिसोबाट राम्रो आम्दानी गर्दै संखुवासभाका कृषक

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ चैत १६ बिहीबार १६:३२:००

पूर्वी पहाडी जिल्ला संखुवासभाका कृषकले अम्रिसो खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

जिल्लाको खाँदबारी नगरपालिका– ४ सेकाहाका स्थानीय हेमकुमार गुरुङ अम्रिसोबाट राम्रो आम्दानी लिने गरेको बताउँछन् । गुरुङले बारीभरि अम्रिसो लगाएका छन् । फागुन–चैतमा अरू घाँस सुकेर गए पनि अम्रिसो हरियो र ताजा रहने भएकाले बारीभरि अम्रिसो रोपेको उनले बताए । बारीमा अन्य फलफूल, तरकारी र अन्नबाली बाँदरले बाँकी नराख्ने, तर अम्रिसोमा कम क्षति पुर्‍याउने उनको भनाइ छ। भैँसीलाई घाँस पनि हुने र पछि कुचोसमेत बिक्री हुने भएकाले दोहोरो फाइदा हुने उनले बताए ।

हेमकुमार मात्रै होइन, जिल्लाका अधिकांश ठाउँका कृषकको रोजाइमा अम्रिसो खेती पर्न थालेको छ । पाखाबारी र भिरालो जग्गामा समेत अम्रिसो खेती गर्न सकिन्छ । कम हेरचाह गरे पुग्ने र अन्य बालीनालीमा जस्तो मलसमेत नचाहिने भएकाले अम्रिसो खेती कृषकको रोजाइमा परेको चिचिलाका दीप्तिप्रसाद काफ्लेले बताए । उनले गाईवस्तुका लागि सुक्खा समयमा समेत अम्रिसो घाँसका रूपमा प्रयोग गर्न सकिने बताए ।

चिचिला गाउँपालिका कार्यालयको वरिपरिसमेत अम्रिसो खेती छ । पालिकाले यस वर्ष मात्र त्यहाँबाट १८ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताइन् । त्यहाँको अम्रिसोको घाँस र कुचोको ठेक्का दीप्तिप्रसाद काफ्लेले पारेका छन् ।

चिचिलाका अर्का कृषक नरबहादुर गुरुङले अम्रिसो खेतीबाट वार्षिक ५०–६० हजार रुपैयाँ आम्दानी लिने गरेको बताए । ‘अहिले अम्रिसो खेतीमा घाटा छैन, गाउँघरमा गाईवस्तुका लागि घाँस बिक्री हुन्छ । कुचो खरिद गर्न धरान, विराटनगरबाट व्यापारी घरैमा आइपुग्छन्,’ उनले भने, ‘यहीँ गाउँघरमै ७०–८० रुपैयाँ प्रतिकिलोसम्म खरिद भइरहेको छ ।’ खाँदबारीमा अम्रिसो प्रतिकिलो एक सय रुपैयाँमा र कुचो प्रतिगोटा ५० देखि सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

गाउँघरमा घर छाउन प्रयोग हुने खर लोप हुँदै गइरहेको समयमा अम्रिसोको डाँठले समेत छाउन थालिएको छ । अम्रिसोको डाँठ किताब, कापी बनाउने कच्चा पदार्थको रूपमा समेत प्रयोग हुन्छ । यद्यपि, संखुवासभामा यसको संकलन कार्य सुरु भएको छैन । यो कार्य सुरु हुने हो भने अम्रिसो खेती विस्तार हुने किसान बताउँछन् ।

खाँदबारी नगरपालिकाभित्रका सेकाहा, भोटेबास, रमिते, माल्टा, आङ्लालगायतका ठाउँहरूमा अम्रिसो खेती हुँदै आएको छ । साथै दक्षिणी भेगतर्फ धर्मदेवी, चैनपुर, पाँचखपन र मादी नगरपालिकामा समेत बर्सेनि यसबाट राम्रै आम्दानी लिने गरेको कृषक बताउँछन् । जिल्लाको १० वटै स्थानीय तहमा अम्रिसो खेती फस्टाइरहेको छ ।