१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ चैत १६ बिहीबार १३:२७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्ला–रारा अल्ट्रा म्याराथन ११ वैशाखमा

Read Time : < 1 मिनेट
२०७९ चैत १६ बिहीबार १३:२७:००

चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन ०८० वैशाख ११ गते हुने भएको छ । विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मानस्वरूप तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरिएको हो ।

विगतका तीनवटा संस्करणको सफलतापछि कर्णाली खेलकुद क्लब जुम्लाले चौथो संस्करणको प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले बताए । प्रतियोगितालाई व्यवस्थित तथा सफल बनाउन विभिन्न चार ठाउँमा चेकपोइन्ट, उपसमिति तथा दौड हुने रुटका बजार तथा गाउँहरूमा खेलाडीको स्वागत तथा सत्कारको तयारी भइरहेको छ ।

चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजारबाट सुरु हुने दौड मुगुस्थित नेपालकै सबैभन्दा ठूलो रारा तालको हुटुछेउमा अन्त्य हुनेछ । जुम्ला–रारा अल्ट्रा म्याराथनको दूरी ४९ किलोमिटर रहेको छ । विगतका तीनवटा प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा देश–विदेशका खेलाडी सहभागी रहेकोमा यस वर्ष झन्डै दुई हजार खेलाडीलाई सहभागी गराउने लक्ष्य राखिएको अध्यक्ष शाहीको भनाइ छ । 

गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्यान्ड, भारत, इटाली, अमेरिकालगायतका देशबाट समेत खेलाडीहरू सहभागी भएका थिए । यस वर्ष प्रतियोगिताका विभिन्न विधाहरूमा २८ धावकलाई पुरस्कृत गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका महिला–पुरुष दुवै विजेताले नगद एक–एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार तथा चौथो र पाँचौँ हुनेले २०–२० हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै विद्यार्थीबीच पाँच किलोमिटर दूरीको छोटो दौड प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद प्राप्त गर्नेछन् । पाँच किलोमिटर दूरीकै कार्यालय कर्मचारी र व्यापारी–उद्योगीबीचसमेत दौड प्रतियोगिता हुनेछ ।