मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १५ बुधबार ०८:१५:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सोमालियामा खडेरीबाट कम्तीमा ४३ हजारको मृत्यु 

Read Time : > 1 मिनेट
२०७९ चैत १५ बुधबार ०८:१५:००

सोमालियामा पछिल्लो वर्षा सन् २०२१ मा भएको थियो । त्यसयता वर्षा हुन सकिरहेको छैन । लामो खडेरीका कारण बालीनाली चौपट भयो । गाईबस्तु मरे । भोक र रोगका कारण थुप्रै मानिस मर्न थालेपछि उनीहरू व्याकुल भएर आकाशतिर हेर्न थालेका छन् । संयुक्त राष्ट्रसंघ र सोमालिया सरकारले सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनअनुसार भोकमरीबाट गत वर्ष सोमालियामा ४३ हजारभन्दा बढीको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये आधाजति पाँच वर्षमुनिका बालबालिका थिए ।

अहिलेको भोकमरी सोमालियाको सन् २०१०–११ को अनिकालयताकै घातक अनिकाल हो । सन् २०१०–११ को अनिकालले दुई लाख ६० हजार मानिसको ज्यान लिएको थियो । थामिनुअघि यो दुर्भिक्ष अझै खराब हुँदै जानेछ । लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धाताले आउँदा महिनामा खडेरीका कारण यहाँ हरेक दिन एक सय ३५ जनाको मृत्यु हुने अनुमान गरेका छन् । भोकमरी मापन गर्ने संयुक्त राष्ट्रसंघको निकाय ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आइपिसी)’ का अनुसार ६५ लाख सोमालियालीले अप्रिलदेखि जुन महिनाको बीचमा खाद्य असुरक्षालाई ‘संकट’, ‘आपत्काल’ वा ‘विपत्ति’को स्तरमा सामना गर्नेछन् ।

अहिलेको खडेरी यो क्षेत्रको ४० वर्षयताकै खराब खडेरी भएको छ । खडेरी सोमालियादेखि केन्या, जिबुटी र इथियोपियासम्म विस्तारित भएको छ । ती देशमा पनि दशाैँ लाखौँ मानिस भोकमरीमा परेका छन् । यो खडेरी ला नीनासँग सम्बन्धित छ । प्रशान्त महासागरको आर्दतालाई चिसो बनाउने यो प्रणालीले विश्वभरकै मौसमी ढाँचालाई असर गर्छ । र यो तीन वर्षपछि अहिले केही मत्थर भएको छ । यसको प्रभाव जलवायु परिवर्तनका कारण बढेको हुन सक्छ । तर, जलवायु परिवर्तनका लागि सोमालियाका जनतालाई कदापि दोष दिन सकिंँदैन । किनभने, सन् १९६० मा स्वतन्त्र भएयता अहिलेसम्म सोमालियाले गरेको जति कार्बन–डाइअक्साइड उत्सर्जन अमेरिकीहरूले साढे दुई दिनमा गर्छन् ।

समस्यालाई त्रासदीमा परिणत गर्ने दुईवटा कारण छन् । पहिलो हो रुसले युक्रेनमाथि गरेको आक्रमण । युद्धअघिसम्म युक्रेनले सोमालियाको गहुँ आयातको ९० प्रतिशत हिस्सा ओगट्थ्यो । सन् २०१७ मा सोमालियाले अघिल्लोपटक खडेरीको सामना गरिरहँदा तत्कालै आएको मानवीय सहायताले मानिसहरूको ज्यान जोगाएको थियो । यसपटक युक्रेन युद्ध (सँगसगै कोभिड– १९) का कारण सहायता नै ढिलो पुग्यो । 

दोस्रो चुनौती भनेको असुरक्षा हो । अल कायदासँग सम्बद्ध अल सबाबले सोमालियाका अधिकांश ग्रामीण इलाकामाथि नियन्त्रण जमाएको छ । अगस्टपछि भने सोमालियाली सेना र जातीय मिलिसियाहरूले तिनलाई देशको मध्य भागबाट केही बाहिर धकेलेका छन् । तर, जिहादीहरू देशको दक्षिणी क्षेत्रमा बलियो पकड जमाएर बसेका छन्, जहाँ भोकमरीको अवस्था थप गम्भीर छ । त्यहाँ जान सहायताकर्मीहरू अपहरण वा मारिने डरमा छन् । 

– द इकोनोमिस्ट