मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अजित अधिकारी काठमाडौंं
२०७९ चैत १४ मंगलबार १३:५५:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

निगमद्वारा डिपोहरूमा कर्मचारी सरुवा, सबैभन्दा ठूलो अमलेखगन्ज डिपोमा प्रवक्ता उपाध्याय

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौंं
२०७९ चैत १४ मंगलबार १३:५५:००

नेपाल आयल निगम लिमिटेडले देशभर इन्धन बिक्री गर्ने डिपोहरूमा कर्मचारी सरुवा गरेको छ । केन्द्रीय कार्यालयमा रहेका केही कर्मचारीको जिम्मेवारी पनि हेरफेर गरिएको छ ।

करिब दुई महिनाअघि नै नायब कार्यकारी निर्देशकमा बढुवा भएका वीरेन्द्र गोइतको गत आइतबार मात्र पदस्थापना गरिएको छ । उनलाई सबैभन्दा महत्वपूर्ण मानिएको बजार व्यवस्था विभाग प्रमुख बनाइएको छ । यो विभागले भारतबाट इन्धन आपूर्तिको व्यवस्था मिलाउनेदेखि देशभर इन्धन वितरणको नियमन गर्छ ।

वितरण तथा आपूर्ति विभागमा निर्देशक दीपक बराललाई ल्याइएको छ भने गुणस्तर नियन्त्रण तथा अनुगमन विभागमा निर्देशक बिनी श्रेष्ठको सरुवा गरिएको छ । वितरण विभागमा उपनिर्देशक मनाेज ठाकुर सरूवा भएका छन् ।

त्यस्तै, सबैभन्दा ठूलो डिपो मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज (बारा)मा प्रवक्ता विनीतमणि उपाध्यायको सरुवा भएको छ । केही समयअघि निर्देशक तहमा बढुवा भएका उपाध्याय तीन वर्षदेखि केन्द्रीय कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा थिए । उनले यसअघि नेपालगन्जस्थित इन्धन डिपो र काठमाडौंको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयको प्रमुख भएर काम गरिसकेका छन् । 

अमलेखगन्जमा कार्यरत इन्जिनियर प्रदीप यादवलाई केन्द्रीय कार्यालयको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । सिनामंगल डिपोमा प्रबन्धक मनोज ढकालको सरुवा गरी यादवलाई केन्द्रीय कार्यालयमा राखेका छन् ।

यादवले एक वर्षसम्म कार्यकारी निर्देशक थानीको ‘सबैभन्दा विश्वासिलो डिपो प्रमुख’ भएर काम गरेका थिए । निगमको डिपोले अधिकतम पाँच करोड रुपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्य आफैँले गर्न पाउने गरी टेन्डर गर्न सक्ने व्यवस्था छ । तर, कार्यकारी निर्देशक थानीको निर्देशनमा यादवले अमलेखगन्ज डिपो प्रमुख हुँदा ८० करोड रुपैयाँ लागतको दुईवटा इन्धन भण्डारण ट्यांकको टेन्डर गरेर निर्माण कार्य अघि बढाएका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको डिपो प्रमुखमा मनोजकुमार साहको सरुवा भएको छ । त्यहाँ कार्यरत रामकुमार न्यौपानेलाई लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवामा दोस्रो तहको कर्मचारीको जिम्मेवारी हेर्नेगरी सरुवा भएको छ । तर, यहाँको दोस्रो तहमा प्रबन्धक मनोहर डिसी डेढ वर्षदेखि कार्यरत छन् ।

डिसीको सरुवा नगरी दोस्रो तहमा कार्य गर्नेगरी न्यौपानेको सरुवा भएपछि डिपो प्रमुख जगदीशचन्द्र यादवलाई जिम्मेवारी बाँडफाँटमा सकस हुने देखिएको छ ।

इन्धन डिपो, दाङको प्रमुखमा उपेन्द्र सुवेदीको सरुवा भएको छ भने त्यहाँ कार्यरत विपिनकुमार श्रेष्ठलाई इन्धन डिपो, नेपालगन्ज सरुवा गरिएको छ ।  भैरहवा विमानस्थलमा इन्धन आपूर्ति गर्ने ‘हवाई इन्धन डिपो, भैरहवा’को प्रमुखमा अमरबहादुर खड्काको सरुवा भएको छ । त्यहाँ कार्यरत सविन सापकोटालाई केन्द्रीय कार्यालयको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा तानिएको छ ।

निगमभित्र डिपो प्रमुखलाई आकर्षक पद मानिन्छ । डिपो प्रमुखहरूले दुईदेखि पाँच करोड रुपैयाँसम्मको टेन्डरको काम गर्ने तथा ढुवानी व्यवसायी र पेट्रोलपम्प सञ्चालकसँग प्रत्यक्ष सम्बन्ध राख्ने गर्छन् ।

पाँच डिपोको लेखा प्रमुख सरुवा
निगमको डिपोहरूमा कार्यालय प्रमुखपछि लेखा प्रमुखहरू ‘पावरफुल’ मानिन्छन् । १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरमा वासुदेव देवकोटाको सरुवा भएको छ । त्यहाँ कार्यरत सुरेन्द्र तिमिल्सिना केन्द्रीय कार्यालय तानिएका छन् ।

त्यस्तै, हवाई इन्धन डिपो, सिनामंगलमा सुदन लाकाजूको सरुवा भएको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका लेखा प्रमुखमा प्रविन पौडेलको सरुवा भएको छ भने त्यहाँ कार्यरत काशीराम ओलीको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज सरुवा भएको छ ।

मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जको लेखा प्रमुखमा डिल्लीप्रसाद तिवारीको सरुवा भएको छ भने त्यहाँ कार्यरत प्रचण्ड पाठकको केन्द्रीय कार्यालयस्थित लेखा विभाग सरुवा भएको छ । सबैभन्दा ठूलो डिपो अमलेखगन्जमा रहँदा पाठकले कुनै पनि समय विवादमा नआई काम गरेका थिए ।

त्यस्तै, बागमती प्रादेशिक कार्यालय, थानकोटको लेखा प्रमुखमा करुणा कार्कीको सरुवा भएको छ । त्यहाँ कार्यरत चिरञ्जीवी थापा केन्द्रीय कार्यालय तानिएका छन् ।