मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १४ मंगलबार १०:४०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा सुक्खा खोकी उपचार कसरी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १४ मंगलबार १०:४०:००

अहिले मौसमी फ्लु वा इन्फ्लुएन्जाले धेरैलाई सताउने गरेको छ । फ्लुले मानिसको श्वासनलीलाई संक्रमित गर्छ । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छन् । भाइरस इन्फेक्सनका कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढ्दो छ । विशेषगरी, बालबालिकालाई ज्वरो र सुक्खा खोकीले सताइरहेको देखिन्छ । 

भाइरल इन्फ्लुएन्जाका कारण बच्चामा अचानक ज्वरो आउने, टाउको दुख्ने, निरन्तर खोकी लाग्ने, छाती दुख्ने, शरीर दुख्ने, घाँटी, नाकबाट पानी बग्नेलगायत लक्षण देखिन्छ । सुरुमा रुघाखोकी लाग्छ । तर, यसलाई बेवास्ता गर्दा टाइफाइड, निमोनियालगायत समस्या देखिने जोखिम पनि रहन्छ । त्यसैले वेलैमा सचेत रहन आवश्यक छ । 

बच्ने उपाय 
- अहिलेको भाइरल इन्फ्लुएन्जा कडा छ, त्यसैले बालबालिकालाई बाहिर भिडभाडमा लानुहुँदैन । 

- बच्चालाई ज्वरो वा खोकी छ भने विद्यालय पठाउनु हुँदैन । यस्तो अवस्थामा स्कुल पठाउँदा अर्काे बच्चालाई सर्न सक्छ । बच्चा बिरामी भएमा घरमै हेरचाह गर्नुपर्छ । 

- रुघाखोकी लागेका व्यक्तिबाट टाढा राख्नुपर्छ । 

- अहिले हावा प्रदूषित छ । बाइक तथा स्कुटरमा यात्रा गराउन हुँदैन । हावाका माध्यमबाट विभिन्न रोगको संक्रमण हुन सक्छ । 

- बच्चालाई अनिवार्य रूपमा मास्क लगाइदिनुपर्छ । 

- बाहिरबाट कोही मानिस घरमा जाँदा आफूले लगाएको लुगा कपडा फुकालेर मात्रै बच्चासँग भेट्ने गर्नुपर्छ । 

- बच्चालाई भेट्नुअघि हात अनिवार्य धुनुपर्छ । 

- बच्चाहरू चञ्चले हुन्छन् । हातले फोहोर छोएर फेरि त्यही हातले मुख धुँदा कीटाणुले संक्रमण गर्न सक्ने जोखिम रहन्छ । त्यसैले वेला–वेलामा साबुनपानीले उनीहरूको हात धोइदिनुपर्छ । 

- बिहान–बेलुकी ब्रस अनिवार्य गराउनुपर्छ । 

- औषधि जथाभावी खुवाउनु हुँदैन ।

खानेकुरा कस्तो खुवाउने ? 

- यस्तो वेला बालबालिकालाई झोलिलो खानेकुरा खुवाउनुपर्छ । विशेषगरी, पौष्टिक आहार भएको खानेकुरा खुवाउनुपर्छ । जसले गर्दा रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । 

- दूषित पानीमा कीटाणुहरू हुन्छन् । त्यसैले बालबालिकालाई दूषित पानीको सम्पर्कमा जान दिनुहुँदैन । उनीहरूलाई उमालेको शुद्ध पानी पर्याप्त मात्रामा खुवाउनुपर्छ । 

- चाउचाउ, आलुचिप्स, चाउमिन, मःमः लगायत जंकफुड खुवाउनु हुँदैन । घरमै पकाएको स्वास्थ्यवद्र्धक खानेकुरा खुवाउनुपर्छ । 

- फलफूल पनि सकेसम्म तातो पानीमा भिजाएर खुवाउनुपर्छ । स्याउलाई मनतातो पानीमा भिजाएर मनतातो भएपछि मात्रै 
खुवाउने गर्नुपर्छ ।

- गेडागुडीको झोल, हरियो सागसब्जी तथा जाउलो खुवाउनुपर्छ । 

उपचार 
- कुनै बच्चालाई रुघाखोकी मात्रै लाग्यो भनेर बेवास्ता गर्नुहुँदैन । समयमै उपचार नगर्दा निमोनिया, टाइफाइडलगायत समस्या देखिन सक्छन् । कतिपय बच्चालाई ज्वरो आउँदा पनि निमोनिया हुन सक्छ । उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ । 

- पारासिटामोल पनि खुवाउनुपर्छ । डाक्टरको सल्लाहअनुसार बच्चालाई औषधि दिनुपर्छ । बच्चालाई गाह्रो भएमा चिकित्सकको परामर्श लिनुपर्छ र उपचार गर्नुपर्छ । टाउको दुखिरहेको छ र ज्वरो पनि छ भने पारासिटामोल खुवाउने, एन्टिभाइरल औषधि प्रयोग गर्न सकिन्छ ।