Skip This
ad
मिसावट गर्ने पेट्रोलपम्पलाई प्रशासनको कारबाही, तर आयल निगमको संरक्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १o:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मिसावट गर्ने पेट्रोलपम्पलाई प्रशासनको कारबाही, तर आयल निगमको संरक्षण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:५८:oo

डिजेल मिसिएको पेट्रोल बिक्री गर्ने स्याङ्जाको पुतलीबजार नगरपालिका–३, बाडखोलाको नेपाल पेट्रोल्युब सप्लायर्सलाई आयल निगमले कारबाही गर्नुको सट्टा संरक्षण गरेको छ । तर, उपभोक्ताको उजुरीपछि अनुसन्धान गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भने मिसावटयुक्त पेट्रोल बिक्री गरेको भन्दै सञ्चालक र कर्मचारीलाई आठ लाख २० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले २९ फागुनको निर्णयबाट पेट्रोलपम्पका चारजना सञ्चालकलाई जनही एक लाख ८० हजार र एकजना कर्मचारीलाई एक लाख जरिवाना तिराउने निर्णय भएको जानकारी दिए । ‘मिसावटको घटना दुई महिनाअगाडिको हो । उपभोक्ताले सो पम्पमा पेट्रोल हालेपछि सवारीसाधनको इन्जिनमा समस्या भयो भनेर उजुरी दिनुभएको थियो । त्यसपछि छानबिन गर्दा पेट्रोलमा मिसावट भएको पुष्टि भएको थियो,’ सिडिओ घिमिरेले भने ।

आयल निगमको प्रयोगशालामा सो पम्पको पेट्रोल परीक्षण गर्न लगाउँदा मिसावट भएको पुष्टिपछि कारबाहीको निर्णय लिएको उनले बताए । ‘प्रयोगशालाको परीक्षणमा पेट्रोलमा हुनुपर्ने गुण नदेखिएको र अन्य कुनै पदार्थ मिसिएको जानकारी हामीलाई आएको छ । जेसुकै भए पनि मिसावटयुक्त पेट्रोल बिक्री गरेको पाएपछि हामीले आफ्नोतर्फबाट कारबाही गरेका छौँ । पम्पका सञ्चालक चारजना रहेकाले चारैजनालाई जरिवाना तिराएका हौँ,’ उनले भने । सिडिओ कार्यालयले घटना छानबिनका लागि सुरुमा चारैजना सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लिई दुई–दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो । घटना पुष्टि भएपछि जरिवाना तिराउने निर्णय भएको रकम धरौटीबाट कट्टा गरिने कार्यालयले जनाएको छ । आफ्नै प्रयोगशालाको परीक्षण रिपोर्टमा सो पेट्रोलपम्पले मिसावटयुक्त पेट्रोल बिक्री गरेको पुष्टि भए पनि आयल निगमले अहिलेसम्म कुनै कारबाही गरेको छैन । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पम्पले बद्मासी गरेको विषयमा जानकारी पाएको, तर कारबाही भए–नभएकोबारे जानकारी नभएको बताए । पम्पलाई कारबाहीको निर्णय निगमको केन्द्रीय कार्यालयबाटै हुने गर्छ ।

मुलुकभरका पम्पलाई पेट्रोलियम पदार्थको आयात र वितरणका साथै नियमनसमेत गर्दै आएको निगमले मिसावटयुक्त पेट्रोल बिक्री गर्ने उक्त पम्पलाई कारबाही गर्न पन्छिएको छ । निगमले मुलुकभरका पेट्रोलपम्पलाई नियमन गर्न बनाएको ‘पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, ०७५’ ले मिसावटयुक्त इन्धन बिक्री गरेको पुष्टि हुनासाथ कारबाही गरिहाल्नुपर्ने व्यवस्था गरेको छ । यस्तो पम्पलाई ६ महिनासम्म बन्द गर्नुपर्ने, उपभोक्तालाई क्षति भए पम्प सञ्चालकबाटै भर्पाई तिराउनुपर्ने र घटनाबारे अनुसन्धान गर्नुपर्ने विनियमावलीमा उल्लेख छ ।

तर, विनियमावलीमा भएको व्यवस्था लत्याउँदै निगमको पोखरास्थित डिपोले पम्पलाई इन्धन वितरण सुरु गर्न लागेको छ भने घटना भएको दुई महिना बितिसक्दा पनि छानबिनका लागि कुनै समिति बनाइएको छैन । निगमको पोखरा डिपो प्रमुख चित्तरञ्जन दासले पनि जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले कारबाही गरेपछि निगमले थप कारबाही गर्नुनपर्ने जिकिर गरे । ‘कुनै एक ठाउँबाट कारबाही भए हुन्छ, हामीभन्दा माथिल्लो निकाय सिडिओले कारबाही गरेपछि हामीले पर्दैन,’ उनको जिकिर छ । तर, यसअघिका मिसावट घटनामा निगम र प्रहरीले कारबाही गरेका प्रशस्त उदाहरण छन् ।

यसरी मिसावट भयो
पोखरास्थित निगमको डिपोले एक वर्षदेखि पम्प सञ्चालकलाई नै ट्यांकर राख्न दिन थालेको छ । जसकारण पम्प सञ्चालकले चाहिनेजति इन्धन आफ्नै ट्यांकरमा ओसार्ने गर्छन् । स्याङ्जाको नेपाल पेट्रोल्युब सप्लायर्स नामको पम्पले पनि आफ्नै ट्यांकरमा निगमबाट तीन च्याम्बर डिजेल (नौ हजार लिटर) र एक चेम्बर पेट्रोल (तीन हजार लिटर) लिएर गएको थियो ।

एउटै ट्यांकरमा रहेको दुई थरी तेल पम्पको अन्डरग्राउन्ड ट्यांकरमा खन्याउने क्रममा गल्ती हुँदा मिसावट भएको एक कर्मचारीले दाबी गरे । ‘पम्पको अन्डरग्राउन्डमा पेट्रोल र डिजेल भण्डारण गर्ने अलग–अलग ट्यांकी हुन्छन् । राति अबेर पम्पमा पुगेको ट्यांकरबाट डिजेल खन्याउने क्रममा भुलवश पेट्रोलको अन्डरग्राउन्ड ट्यांकीमा गएछ,’ एक कर्मचारीले भने, ‘यसरी अन्डरग्राउन्ड ट्यांकीमा डिजेल र पेट्रोल मिसिएको थाहा पाएर वा नपाएर उपभोक्तालाई बिक्री गर्दा सवारीसाधनमा समस्या आएको भनी उजुरी दिएपछि घटना बाहिर आएको हो ।’ निगमले यस विषयमा अनुसन्धान नगरी संरक्षण गर्न खोजेका कारण सञ्चालकले डिजेल मिसिएको पेट्रोल जानेर वा भुलवश बिक्री गरेका हुन् भन्ने यकिन भएको छैन ।

ad
ad