१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत १२ आइतबार १०:११:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

रुस–अमेरिका आकस्मिक मुठभेडको सम्भावना कति?

Read Time : > 3 मिनेट
२०७९ चैत १२ आइतबार १०:११:००

अहिले नै अमेरिका र रुसबीच मुठभेडको सम्भावना असम्भवप्रायः रहेको विज्ञहरू बताउँछन्

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलोपटक मार्च १४ मा अमेरिका र रुसी लडाकुवाहन आमनेसामने भए । सो दिन दुई रुसी लडाकु विमान कृष्ण सागरको आकाशमा उडिरहेको अमेरिकी ड्रोनको एकदमै नजिक भएर उडे । दुईमध्ये एक रुसी एसयू–२७ लडाकु विमानले अमेरिकाको एमक्यु– रिपर ड्रोनमाथि गएर आफ्नो जेटको इन्धन झारिदियो, जसले ड्रोनको क्यामेरा नै बन्द हुन पुग्यो । त्यसपछि एसयू–२७ रिपरको प्रोपेलरमा ठोक्किन पुग्यो, जसको कारण उक्त अमेरिकी मानवरहित युद्धक विमान समुद्रमा खस्न पुग्यो । अमेरिकाले पछि जारी गरेको सो घटनाको भिडियोमा त्यो कार्य कुनै कुशल पाइलटले जानाजान गरिएको कौशलजस्तो देखिन्थ्यो । पेन्टागनका अनुसार रिपर ड्रोनले त्यस समय कुनै हतियार बोकेको थिएन । तथापि ८५ फिट लामो पखेटायुक्त यो मानवरहित ड्रोनले लेजर निर्देशित बम र मिसाइलहरू बोक्न सक्छ । 

गत वर्ष फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा राजधानी किभ कब्जा गर्ने र राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको सरकारलाई क्रेमलिन समर्थक कठपुतली सरकारबाट प्रतिस्थापन गर्ने लक्ष्य लिएको थियो

मार्च १४ को घटना गत फेब्रुअरीमा युक्रेन युद्ध सुरु भएयता विश्वका दुुई महाशक्ति राष्ट्र सबैभन्दा जोखिमपूर्ण रूपमा प्रत्यक्ष आमनेसामने भएको पहिलो घटना थियो । घटना क्रिमियानजिकको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा भएको थियो । सन् २०१४ जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट हत्याएको यो भूमिलाई मस्कोले निकै महत्व दिने गरेको छ । केही पश्चिमी पर्यवेक्षकले क्रिमियाको सुरक्षाप्रतिको चिन्ताकै कारण क्रिमियालाई रुससँग ‘ल्यान्ड ब्रिज (भू–सेतु)’मार्फत जोड्ने चाहनाले पछिल्लो युक्रेन युद्ध सुरु भएको बताउँछन् । 

मस्कोले अमेरिकालाई युक्रेनभित्रको ‘विशेष सैन्य कारबाही’ क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएको छ । रुसको रक्षा मन्त्रालयले एसयू–२७ जेटहरूले ड्रोनलाई रुसको सिमानातर्फ उड्न लागेको देखेर खसालेको दाबी गरेको छ । यस घटनाले कृष्ण सागर क्षेत्रमा अमेरिका र रुसबीच आकस्मिक मुठभेड सुरु हुन सक्ने चिन्ता बढाएको छ । ‘क्रिमियाको तटनजिक अमेरिकी रणनीतिक मानवरहित ड्रोनको उडानले कृष्ण सागर क्षेत्रमा मुडभेडको बहाना सिर्जना गर्न सक्छ,’ रुसी रक्षा मन्त्रालयले भनेको छ । मार्च १४ को घटनाले देखाएजस्तै के युक्रेनवरपर अमेरिका र रुसबीच प्रत्यक्ष सैन्य टकरावको जोखिम छ ?

विज्ञहरू भने अहिले नै अमेरिका र रुसबीच मुठभेडको सम्भावना असम्भवप्रायः रहेको बताउँछन् । युक्रेनी सेनाका पूर्वजनरल स्टाफका उपप्रमुख लेफ्टिनेन्ट जनरल इहोर रोमानेन्कोका अनुसार मार्च १४ को घटना खासमा फेब्रुअरीको अन्त्यमा प्रमुख रुसी विमानमा भएको क्षतिको बदला थियो । गत फेब्रुअरीमा रुस पक्षधर बेलारुसमा रहेको एक वायुक्षेत्रमा राखिएको रुसी बी–५० लाई ड्रोन आक्रमण गरिएको थियो । युक्रेनी सिमानानजिक बेलारुसमा रहेको सो विमान रुसमा भएका त्यस्ता नौ विमानमध्ये एक थियो, जसले युक्रेनी हवाई प्रतिरक्षा एकाइको स्थान पहिचान गर्न सक्थ्यो । घटनाको जिम्मा बेलारुसी ‘गुरिल्ला लडाकु’ले लिएको थियो भने क्षतिग्रस्त विमान रुस फिर्ता लगिएको थियो । 

पश्चिमले युक्रेनलाई दिइरहेको दसौँ अर्ब डलरको सैन्य सहायताप्रति रुस असन्तुष्ट छ । पश्चिमले युक्रेनलाई आर्थिक सहायोग दिए पनि यो युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुन ठूलो सावधानी अपनाएको छ । अर्का सैन्य विशेषज्ञले पनि गत मंगलबारको अमेरिकी ड्रोन खसाल्नुपछाडि बदलाको भावनाले काम गरेको बताए । तर, तिनले बदला लिने घटना फरक रहेको औँल्याए । घटनाको तीन दिनअघि अमेरिकी बी–५२ लडाकु विमान बाल्टिक सागरमाथिबाट उडेर फिनल्यान्डको खाडीनजिक रुसी टापु पुगेको थियो । ‘यो रुसको एक प्रकारको चेतावनी थियो,’ जर्मनीको ब्रेमेन विश्वविद्यालयका इतिहासकार निकोले मित्रोखिनले भने । तर, आगामी तीन महिनामा रुसले यस्तो चेतावनी दिन सक्ने अवस्था नरहने मित्रोखिनले बताए । ‘आगामी तीन महिनाभित्र पश्चिमले वाचा गरेका लडाकु विमानहरू युक्रेनमा हुनेछन्, त्यसपछि स्थिति बदलिनेछ,’ मित्रोखिनले भने । 

ड्रोन–लडाकु विमान मुठभेडको घटना क्रेमलिनका लागि प्रत्युत्पादक हुन सक्छ, किनभने यसले अमेरिकाभित्र युक्रेनलाई घट्दै गएको सार्वजनिक समर्थनलाई पुनः बढावा दिन सक्ने अर्का एक पर्यवेक्षकको आकलन छ । ‘ड्रोन खसालिएपछि रुसविरुद्ध अमेरिकी राजनीतिक एलिटहरूमाझ एकता निर्माण भएको छ,’ वासिंटन डिसीस्थित प्रतिरक्षा थिंकट्यांक जेम्सटाउन फाउन्डेसनका रक्षा विश्लेषक पावेल लुजिनले भने, ‘हालसम्म यस घटनाको मुख्य नतिजा यही नै देखिएको छ ।’

गत फेब्रुअरीमा युक्रेन युद्ध सुरु भएयता विश्वका दुुई महाशक्ति राष्ट्र मार्च १४ मा पहिलोपटक जोखिमपूर्ण रूपमा प्रत्यक्ष आमनेसामने भएका थिए । घटना क्रिमियानजिकको अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा भएको थियो । सन् २०१४ को जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट हत्याएको यो भूमिलाई मस्कोले निकै महत्व दिने गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि विजय हासिल गर्न वासिंटनले युक्रेनलाई ‘जति समय लागे पनि’ समर्थन गर्ने बताए पनि सर्वेक्षणले आमअमेरिकीमाझ किभको सहयोगप्रति समर्थन घट्दै गएको देखाउँछ ।

फेब्रुअरीको बीचतिर प्रकाशित एसोसिएटेड प्रेस र एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले मिलेर गरेको सर्वेक्षणअनुसार ४८ प्रतिशत अमेरिकीहरू युक्रेनलाई सैन्य सहायताको पक्षमा र २९ प्रतिशत यसको विरोधमा रहेको देखाएको छ । जबकि गत वर्ष मे २०२२ मा ६० प्रतिशत अमेरिकीहरू युक्रेनलाई सघाउने पक्षमा थिए । यसबीच रिपब्लिकन पार्टीतर्फबाट सम्भावित भावी राष्ट्रपति उम्मेदवारहरू पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले युक्रेनलाई समर्थन गर्नु अमेरिकी रणनीतिक हितविपरीत भएको बताएका छन् ।

मस्कोका लागि ड्रोन–लडाकु विमानको टक्करलाई रुस र अमेरिका बराबरीको ‘महाशक्ति’ रहेको देखाउने बहानाजस्तो देखिएको केही विज्ञले औँल्याएका छन् । ‘सबैभन्दा ठूला आणविक शक्ति भएका विश्वका दुई ठूला शक्तिराष्ट्रबीचको टकरावलाई उक्साउने कुनै पनि घटना सधैँ जोखिमपूर्ण हुन्छन् । अमेरिकीहरूले यसलाई बुझ्न सक्दैनन,’ रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टेलिभिजन टिप्पणीमा भनेका थिए । एक युक्रेनी सैन्य विश्लेषकले भने ड्रोन घटना गराएर रुसले अमेरिकासँग प्रत्यक्ष वार्ता सुरु गर्ने हतासा देखाएको पनि बताए । उनका अनुसार क्रेमलिन युक्रेन युद्धमा फस्दै गएको महसुस गरेकाले बाहिरिने प्रयासमा छ ।

गत वर्ष फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्दा उसले राजधानी किभ कब्जा गर्ने र राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको सरकारलाई क्रेमलिन समर्थक कठपुतली सरकारबाट प्रतिस्थापन गर्ने लक्ष्य लिएको थियो । त्यो लक्ष्य अब असम्भवप्रायः बनिसकेको छ । पेन्टागनले ड्रोन घटना आफूले बिर्सिन चाहेको बताए, तापनि रुसले समुद्रमा डुबेको ड्रोनलाई निकालेर अध्ययन गर्ने प्रयास गर्न सक्छ । ‘हामी पक्कै पनि तिनको अध्ययन गर्नेछौँ, हेर्नेछौँ,’ रुसको सुरक्षा परिषद्का सचिव निकोलाई पत्रुसेभले टेलिभिजनमा बोल्ने क्रममा भने ।

–अलजजिराबाट