
बसुन्धारामा अवस्थित साउथवेस्टर्न स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ । स्कुलका प्रिन्सिपल रमेश अधिकारीले ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेका हुन् । अमेरिकाको न्युजर्सीबाट यो अवार्ड प्रदान गरिएको हो ।
समाजमा विशिष्ट योगदान गर्ने विश्वभरका व्यक्तिलाई न्युजर्सीबाट अवार्ड प्रदान गर्ने गरिन्छ । विश्वभरका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भर्चुअल माध्यमबाट यो अवार्ड प्रदान गरिएको हो ।
२०२२ मेमा मनोनयन दर्ता गरी विभिन्न चरण पार गर्दै प्रिन्सिपल अधिकारीले उक्त अवार्ड हात पारेका हुन् । डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता, शैक्षिक योगदान, सामाजिक योगदान, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विद्यार्थीको सहभागिता तथा प्राप्त नतिजा, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप आदि मूल्यांकनका आधारमा अवार्ड प्रदान गरिएको हो ।
स्कुलले विगत चार वर्षको अवधिमा पाँचवटा अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेको छ । यसअघि २०२२ मा स्कुलले एकैपटक दुई अवार्ड प्राप्त गरेको थियो । प्रिन्सिपल रमेश अधिकारीले ‘एसियाज बेस्ट प्रिन्सिपल अवार्ड’ र ‘एसियाज भिजिनरी प्रिन्सिपल अवार्ड’ प्राप्त गरेका थिए । यस अवार्डका सन्दर्भमा ‘टाइमस् अफ लन्डन’ले प्राथमिकताका साथ समाचार प्रकाशित गरेको थियो ।