मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Thursday, 19 December, 2024
दीपक भट्ट रामेछाप
२o७९ चैत १० शुक्रबार o८:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तामाकोसीको धार परिवर्तन गरेर दोहन

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार o८:५९:oo

सदरमुकाम भएर बग्ने नदीमा डोजर चलिरहँदा प्रशासन र जनप्रतिनिधि मूकदर्शक 

क्रसर व्यवसायीले तामाकोसी नदीको धार नै परिवर्तन गरेर दोहन गरिरहेका छन् । जिल्ला सदरमुकाम मन्थली हुँदै बग्ने तामाकोसी नदीको धार परिवर्तन गरेर कोसीबाट ढुंगा, गिट्टी र बालुवा उत्खन्न भइरहेको छ ।

कारबाही प्रक्रिया अघि बढाउँछु : शोभाखर रेग्मी, प्रजिअ, रामेछाप
नदीको धार परिवर्तन गर्नु भनेको कानुनविपरीत काम हो । नदीजन्य पदार्थ उत्खनन गरिएको भन्नेबारे के भएको हो, तत्काल मन्थली नगरपालिकासँग जानकारी लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनेछु ।

मन्थली नगरपालिका–१ सुकाजोर खोलामा सञ्चालित मन्थली रोडाढुंगा उद्योग प्रालिले यसरी नदी दोहन गरिरहेको हो । व्यवसायीले मध्यदिउँसै ठूलाठूला एक्स्काभेटर लगाएर धार परिवर्तन गरी नदीजन्य पदार्थको दोहन गर्दा पनि सम्बन्धित अधिकारीहरू भने मौन देखिएका छन् । नदी दोहनले तामाकोसी घाटमा रहेको झोलुङे पुल र आसपासको बस्ती जोखिममा पार्ने खतरा देखिएको स्थानीयले बताएका छन् । 

प्रशासन र अन्य सम्बन्धित अधिकारी मौन रहँदा क्रसर व्यवसायीले नदी दोहन गर्न पाएको भन्दै स्थानीय चिन्तित बनेका छन् । क्रसर व्यवसायीले कानुनविपरीत रातदिन ठूलाठूला डोजर चलाएर ढुंगा, बालुवा र गिट्टी निकाल्ने कामलाई तीव्रता दिँदै आएका छन् । कोसीमा ठूला डोजर लगाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि स्थानीय जनप्रतिनिधिसँगको मिलेमतोमा क्रसर व्यवसायीले जथाभावी नदी दोहन गरिरहेको स्थानीयको आरोप छ । 

रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले भने बगिरहेको नदीको धार परिवर्तन गर्ने अधिकार कसैलाई नरहेको प्रतिक्रिया दिए । ‘नदीको धार परिवर्तन गर्नु भनेको कानुनविपरीत काम हो । नदीजन्य पदार्थ उत्खनन गर्न मन्थली नगरपालिकाले टेन्डर लगाएको भन्ने जानकारी पाएको छु,’ प्रजिअ रेग्मीले नयाँ पत्रिकासँग भने, ‘यस विषयमा के भएको तत्काल मन्थली नगरपालिकासँग जानकारी लिएर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछु ।’ मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पनि नियमविपरीत नदीको धार परिवर्तन गरेर नदीजन्य पदार्थ उत्खनन गरेको जानकारी आफूले पनि पाएको बताए । ‘नदी नै फर्काएर नदीजन्य पदार्थ उत्खनन गरेको भन्ने केही वडाध्यक्षले मौखिक रूपमा जानकारी गराएपछि मैले तत्कालै नगरपालिकाबाट प्राविधिकसहितको टोली पठाएर अनुगमन गर्न लगाएको हुँ । हाललाई उत्खनन गर्ने कार्य रोक्न निर्देशन दिएका छौँ,’ नगरप्रमुख श्रेष्ठले भने । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीले पनि नदीको धार फर्काएर उत्खनन गर्नु कानुनविपरीत हुने बताइन् । ‘त्यसरी नदी फर्काएर नदीजन्य पदार्थ उत्खनन गर्न मिल्दैन,’ उनले भनिन्, ‘म तत्काल इन्जिनियरसहितको टोली पठाउनेछु । यदि नदीको धार नै परिर्वतन गरेको भेटिए कानुनअनुसार कारबाही हुनेछ ।’