
एनआइसी एसिया क्यापिटल लिमिटेडले आफ्नो निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको मेन्छियाम हाइड्रोपावर लिमिटेडको सेयर बाँडफाँट गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई छुट्याइएको साधारण सेयर बाँडफाँट गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार एक लाख आठ हजार पाँच सय १७ कित्ता सेयरका लागि आवेदन खुला गरिएकोमा १८ हजार एक सय सातजना आवेदकबाट जम्मा चार लाख ९९ हजार सात सय ५० कित्ता सेयरका लागि आवेदन प्राप्त भएको जनाइएको छ ।
जसमध्ये १६ हजार आठ सय सातजनाबाट चार लाख ३७ हजार नौ सय १० कित्ता सेयरको आवेदन रीतपूर्वक रहेको क्यापिटलले जनाएको छ । रीतपूर्वक प्राप्त आवेदनमध्येबाट गोलाप्रथाद्वारा १० कित्तादेखि एक हजार कित्ता सेयर आवेदन गर्ने १० हजार आठ सय ५१ जना आवेदकलाई १० कित्ताका दरले जम्मा एक लाख आठ हजार पाँच सय १० कित्ता सेयर बाँडफाँट गरिएको उल्लेख छ । बाँकी रहेको सात कित्ता सेयर २० कित्तादेखि माथि आवेदन गर्ने आवेदकहरूमध्ये सेयर पर्न सफल आवेदकहरूलाई पुनः गोलाप्रथाका माध्यमबाट थप एक कित्ता सेयरका दरले प्रदान गरिएको कम्पनीले जनाएको छ ।