१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ चैत ८ बुधबार o९:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्षमताभन्दा बढी लोड बोकेपछि निगमका चालकसहित ६ जना निलम्बनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार o९:१५:oo

नेपाल वायुसेवा निगमले ताप्लेजुङ–काठमाडौं उडानमा बढी लोड बोकेपछि नियमनकारी निकायले चालक दलसहित ६ जनालाई निलम्बन गरेको छ । सोमबार बिहान ताप्लेजुङबाट काठमाडौं उडेको ट्विनअटर जहाजको लोड सिटमा देखाइएको भन्दा ४८ किलो तौल बढी बोकेको भेटिएको हो । 

लोड कम देखाउन एकजना पुरुष यात्रुलाई महिला भनी झुटो विवरण रेकर्ड गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए । ‘उक्त उडानमा जहाजमा ६ जना पुरुष र नौजना महिला गरी १५ यात्रु सवार थिए,’ उनले भने, ‘तर, लोड कम देखाउन पाँच पुरुष र १० महिला भनी रेकर्ड राखिएको छ ।’ साथै, जहाजमा ब्यागेजसमेत धेरै राखेको भेटिएको छ ।

क्यानले ढाँटछल गरेर तोकिएभन्दा बढी लोड बोकेपछि निगमका चालकदल, उडान डिस्प्याचरदेखि ताप्लेजुङ विमानस्थलका ग्राउन्ड स्टाफसम्मलाई अनिश्चित कालसम्मका लागि निलम्बन गरेको हो । ‘निलम्बल गरिएका पाइलट तथा कर्मचारी र निगमका जिम्मेवार व्यक्तिहरूको बयान लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ,’ निरौलाले भने, ‘नियामकले हवाई सुरक्षा बढाउन सतर्क बनाउने हो, कसैले पनि गल्ती गरे कारबाहीको भागिदार हुनुपर्छ ।’

यस्तै, एयरबस ए३३० जहाजको दायाँतर्फ ककपिटको झ्याल रातभर खोलेको भन्दै क्यानले सोमबार निगमका दुई इन्जिनियरलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको थियो । त्यसअघि दृश्यात्मक उडान (भिएफआर)मा बादलभित्र उडान गर्ने समिट एयरका दुईजना पाइलटलाई पनि निलम्बन गरेर छानबिन गरिरहेको छ ।

पछिल्लो दुई–तीन महिनायता हवाई सुरक्षामा लापरबाही गर्ने धेरै पाइलट तथा इन्जिनियर निलम्बनमा परेका छन् । ‘निलम्बनमा परेका पाइलट तथा इन्जिनियरको बयान लिएर हवाई सुरक्षामा सम्झौता नगर्न सतर्क गराई निलम्बन फुकुवा गर्ने गरेका छौँ,’ प्रवक्ता निरौलाले भने ।