मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वीरगन्जको कृषि औजार कारखानाका मेसिन सञ्चालनको तयारी गरिँदै (माथि) । राष्ट्रिय आविष्कार केन्द्रले गरेको परीक्षणबाट उत्पादित कृषि औजार (तल)
तिवारी यादव काठमाडाैं
२०७९ चैत ८ बुधबार ०६:५१:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन दशकदेखि बन्द वीरगन्ज कृषि कारखानामा आविष्कार केन्द्रले गरेको परीक्षण उत्पादन सफल

सरकारले प्रतिबद्धता जनाएको रकम निकासा गरे उद्योग पूर्ण रूपमा सञ्चालन गर्ने राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको भनाइ

Read Time : > 3 मिनेट
तिवारी यादव, काठमाडाैं
२०७९ चैत ८ बुधबार ०६:५१:००

तीन दशकदेखि बन्द रहेको वीरगन्जको कृषि औजार कारखानाबाट राष्ट्रिय आविष्कार केन्द्रले गरेको परीक्षण उत्पादन सफल भएको छ । आविष्कार केन्द्रको टोली १० माघदेखि निरन्तर खटेर कारखानामा रहेका मेसिन सञ्चालनयोग्य बनाउन लागिपरेको छ ।

३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना सञ्चालनको जिम्मा आविष्कार केन्द्रलाई दिने निर्णय गरेसँगै सरसफाइको काम सुरु भएको थियो । पुरानो मेसिन मर्मत गरेर परीक्षणका क्रममा साबेल, गैँती, कुटो, कोदालो, बन्चरोजस्ता कृषि उपकरण ८–१० थान निर्माण भएको छ । कारखानाको परीक्षण सफल भए पनि पूर्ण रूपमा सञ्चालन गर्न सरकार नै बाधक बनेको आविष्कार केन्द्रका प्रमुख महावीर पुनको गुनासो छ । 

मन्त्रिपरिषद्ले १० वर्षसम्म कारखानाको सञ्चालन जिम्मा आविष्कार केन्द्रलाई दिएसँगै मर्मत–सम्भार र थप औजार खरिद गर्न आवश्यक रकम सञ्चालक समितिको सिफारिसमा पहिलोपटकका लागि अर्थ मन्त्रालयले व्यवस्थापन गर्ने भनिएको थियो । तर, सरकारले पहिलो चरणमा दिने भनेको २० करोड निकासा नगरेको पुनले बताए ।

‘कारखानाको मर्मत–सम्भार र मेसिनरी औजार थप गर्न सरकारले रकम दिने सहमति गरेको थियो, यसबीचमा दुई अर्थमन्त्री फेरिनुभयो । तर, पैसा आएको छैन,’ पुनले भने । कृषि औजार कारखाना सञ्चालनका लागि भन्दै पुनले चितवनमा रहेको २८ रोपनी जग्गा बिक्री गर्ने घोषणा गरेका छन् । उनका अनुसार कारखानामा रहेका सबै मेसिन सञ्चालन, नयाँ मेसिन खरिद एवं विद्युत् जडानका लागि ५० करोड बजेट आवश्यक पर्छ । 

अहिले दैनिक १२ घन्टा खटिएर मेसिन मर्मत–सम्भार गरेर सञ्चालनयोग्य बनाउन थालिएको कृषि औजार कारखानाका सबइन्जिनियर सागर पोखरेलले जानकारी दिए । ‘पहिले कृषि औजार कारखानामा आउँदा जंगलजस्तो नै थियो,’ उनले भने, ‘अहिले कारखाना केही हदसम्म सरसफाइ भएर मेसिन सञ्चालन गर्ने अवस्थामा पुगेको छ । राष्ट्रिय आविष्कार केन्द्रको टोली पहिलोपटक निर्वाचनको समयमा सरसफाइ गरेर फर्किएका थिए ।

दोस्रोपटक आएको टोलीले भने निरन्तर खटिएर मेसिन सञ्चालनयोग्य बनाउन लागेका हुन् । पोखरेलसँगै मेकानिकल इन्जिनियर अरुण साह पनि एउटा पुरानो मेसिन बनाउन लागिपरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुखले टोली बनाएर काममा खटाएको उनीहरूले बताए । अहिले मेसिन सञ्चालन गर्नलाई योग्य भए पनि आधुनिक युगको उपकरण बनाउन केही परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । 

मेसिन सञ्चालनका लागि तयार भएपछि बाहिरबाट केही कच्चा पदार्थ खरिद गरेर केही उपकरण बनेका छन् । तर, सरकारले घोषणा गरेको अनुदान रकम नपाउँदा समस्या भएको उनीहरूको गुनासो छ । ‘युवाहरू बन्द कारखाना सञ्चालनका लागि काममा छन्, तर सरकारको निकायले पनि भनेको समयमा नगर्दा दुःख लाग्ने गरेको छ,’ साहले भने । 
करिब तीन महिनादेखि राष्ट्रिय आविष्कार केन्द्रका १३ जना प्राविधिकले दैनिक खटिएर कृषि औजार उत्पादन सुरु गरेका छन् । पुराना मेसिनहरू मर्मत गरेर परीक्षणका क्रममा साबेल, गैँती, कुटो, कोदालो, बन्चरोजस्ता उपकरणहरू ८–१० थानका दरले उत्पादन गरिएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए ।

उनका अनुसार उद्योग परीक्षणका क्रममा दुई–दुईवटा मिलिङ र लेथ मेसिन, चारवटा डाई प्रेसर, दुईवटा आयल फर्नेस, एउटा कोइला फर्नेस र दुईवटा ह्यामर सञ्चालन गरिएको छ । कृषि सामग्री कम्पनी सञ्चालन गरेर कृषिका लागि चाहिने आधारभूत औजार निर्माण गर्न सकिने देखिएको पुनले जानकारी दिए । तर, सरकारले दिने भनेको २० करोड अहिलेसम्म नपाएको उनले गुनासो गरे । सरकारले कारखाना सञ्चालनका लागि रकम निकासा गरेपछि उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालनका लागि बजेट विनियोजन गर्न प्रतिबद्धता जनाए पनि हालसम्म केन्द्रले एक रुपैयाँ पनि सरकारबाट नपाएको उनले बताए ।

 कहिले बन्द भयो कृषि औजार कारखाना ?
राज्यको महत्वपूर्ण उद्योगका रूपमा रहेको कृषि औजार कारखाना करिब ३० वर्षदेखि बन्द रहेको छ । तत्कालीन राजा महेन्द्रले ०२४ फागुन २८ मा सोभियत संघ सरकारले उपहारस्वरूप निर्माण गरिदिएको उद्योग उद्घाटन गरेका थिए । पूर्ण क्षमतामा सञ्चालनमा आउँदा उद्योगमा दुई सय १० स्थायी र एक सय ११ अस्थायी कर्मचारी थिए । नौ बिघा ११ कट्ठा क्षेत्रफलमा फैलिएको कृषि औजार कारखाना तथा यसका अन्य भौतिक पूर्वाधारको रेखदेख तथा संरक्षण ६ जना व्यक्तिले गर्दै आएका छन् । उद्योग रुग्ण हुँदै गएपछि तत्कालीन सरकारले ०५३ जेठ १७ मा उक्त उद्योग निजीकरण गर्ने निर्णय लिएको थियो । 

१३ करोड रुपैयाँमा निजीकरणमा लैजान खोज्दा नौ करोड ५१ लाख रुपैयाँबराबर ६५ प्रतिशत स्वामित्व निजी क्षेत्रले पाउने र बाँकी ३५ प्रतिशत स्वामित्व नेपाल सरकार आफैँले राख्ने निर्णय भएको थियो । पाटनका रेशमलाल वैद्य, बनेपाका जोगीलाल ताम्राकार र हेटौँडाका उदयमोहन श्रेष्ठले साझेदारीमा उद्योगको ६५ प्रतिशत स्वामित्व किनेका थिए । तर, एकपटक उद्योग बन्द भएपछि पुनः सञ्चालनमा आउनै सकेन । 

कारखानाले हँसिया, खुर्पी, कुटो, कोदालो मात्र नभई विद्युत् प्राधिकरणका लागि बिजुलीका पोल, तत्कालीन यातायात संस्थानका लागि ट्यांकर, तत्कालीन शाही नेपाल वायुसेवा निगमका लागि जहाज चढ्ने सिँढी, यात्रुको सामान ओसार्ने ट्रली पनि उत्पादन गरेको थियो ।

मन्त्री परिवर्तनले अनुदान पाउने आशा कम हुँदै छ
महावीर पुन, प्रमुख, राष्ट्रिय आविष्कार केन्द्र 
पछिल्लो समयमा अर्थमन्त्रीहरू परिवर्तन हुँदै गएपछि रकम पाउने आशा कम हुँदै गएको छ । कृषि औजार कारखाना सञ्चालन गर्न सरकारले घोषणा गरेको रकम उपलब्ध गराउन करिब तीन महिनादेखि ताकेता गरे पनि पाइएको छैन । घोषणाबमोजिमको रकम छिटो उपलब्ध गराए काम पनि तीव्र रूपमा गर्न सकिन्छ । कारखाना पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब ५० करोड आवश्यक पर्छ । तर, सरकारले पहिलो चरणमा दिने भनेको २० करोड पनि आएको छैन ।

कृषि औजार सञ्चालनमा ल्याउन सहयोग गर्छाैँ
सरोज यादव, मुख्यमन्त्री, मधेस प्रदेश 

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले वीरगन्जको कृषि औजार कारखाना सञ्चालन गर्न केन्द्र सरकारले पहल गरेकोलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताएका छन् । उनले केन्द्रकै सहयोग र समन्वयमा कृषि औजार सञ्चालनमा ल्याउने तयारी भइरहेकाले प्रदेश सरकार यसमा साथ र सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले कृषि औजार कारखाना सञ्चालन गर्न आएको टोलीसँग साथ र सहयोगको अपेक्षा राखे आफूहरू यसमा गम्भीर रहेको उनले बताए ।