१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ चैत ८ बुधबार ०६:२२:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सात वर्षपछि लाओससँग खेल्दै नेपाल

सन् २०१६ को सोलिडारिटी कपमा नेपालले लाओसमाथि टाइब्रेकरमा जित निकालेको थियो

Read Time : > 3 मिनेट
२०७९ चैत ८ बुधबार ०६:२२:००

नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार लाओससँग बुधबार सात वर्षपछि प्रतिस्पर्धा गर्दै छ । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले लाओसविरुद्ध भिड्न लागेको हो । नेपालले सन् २०१६ मा सोलिडारिटी कपमा लाओसविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल विजयी भयो । फिफा वरीयतामा लाओस १८७ र नेपाल १७५औँ स्थानमा छन् । वरीयता आधारमा नेपाल विपक्षीभन्दा बलियो देखिन्छ । गत डिसेम्बरमा लाओसले म्यानमारलाई २–२ को बराबरी खेलेको थियो । त्यसपछि लाओसले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । 

आफूभन्दा कमजोर प्रतिद्वन्द्वी भए पनि विपक्षीलाई कमजोर नआँक्ने नेपालका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टोले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पनि विपक्षीलाई कमजोर रूपमा लिन नहुने जनाए । ‘फुटबलमा वरीयताभन्दा पनि खेल महत्वपूर्ण हो,’ प्रिपोस्ट म्याचअगाडि प्रशिक्षक अल्बर्टोले भने, ‘हामीले अन्तर्राष्ट्रिय खेलमा प्राप्त मौकाको सदुपयोग गर्नुपर्छ ।’ 

दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कपमा आयोजक नेपालसँगै लाओस र भुटान प्रतिस्पर्धा गर्दै

गत १७ फागुनदेखि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अल्बर्टोले नेपाली खेलाडी प्रतिभावान् भएको बताएका छन् । ‘नेपाली खेलाडी धेरै क्षमतावान् छन्,’ अल्बर्टोले भने । थ्री नेसन्स कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा हुँदा सातजना नयाँ खेलाडी परेका छन् । जिम्मेवारी पाएको छोटो समयमा खेलाडी छनोट गर्न समस्या भएको प्रशिक्षक अल्बर्टोको भनाइ छ । 

‘मसँग छोटो समय भएकाले खेलाडी छनोट गर्न गाह्रो भयो,’ उनले भने । खेलाडी छनोटका क्रममा उनले सहिद स्मारक ए डिभिजन लिगमा घरेलु खेलाडीको प्रदर्शन हेरेका थिए । यसैका आधारमा नेपाली टोली घोषणा भएको उनले स्पष्ट पारेका छन् । ‘ए डिभिजन लिग चलिरहेको स्थानमा पुगेर खेल हेरेँ, यसबीचमा मैले थोरै समय पाएँ,’ समस्या बताउँदै अल्बर्टो भन्छन्, ‘यसैका आधारमा खेलाडी छनोट गरेको हुँ, यसपटक धेरै नयाँ खेलाडी छन् ।’

खेलाडीलाई संगठित गर्न समय लाग्दा अभ्यासको समय पनि छोटो भएको उनले जनाए । ‘प्रतियोगिताका लागि हामीले कम समयमा अभ्यास गरेका छौँ, यसको नतिजा कस्तो हुन्छ, बुधबारको खेलले बताउनेछ,’ उनी भन्छन्, ‘धेरै सिनियर खेलाडी विदेश पयालयन हुँदा युवा खेलाडीले स्थान पाएका हुन् ।’

नयाँ खेलाडीसामु चुनौती
नेपाली टोलीका कप्तान किरणले धेरै युवा खेलाडी सम्मिलित हुँदा प्रतियोगितामा चुनौती सामना गर्नुपर्ने बताएका छन् । ‘हामीले निकै छोटो समयको तयारीमा प्रतियोगिता खेल्दै छौँ,’ किरणले भने, ‘खेलाडी र प्रशिक्षकसमेतलाई चुनौती छन्, लिगको विश्रामको समयमा खेल हुन लागेको हो ।’

कप्तान किरणले धेरैजसो खेलाडी विदेश पलायन भएका कारण नै नेपाली टोलीमा समस्या थपिएको बताए । ‘यसबीचमा धेरै खेलाडी विदेश पलायन भए, ती विदेश पुगेका खेलाडी हाम्रो पहिलो रोजाइका खेलाडी थिए,’ विदेश पलायनको समस्या बताउँदै किरणले थपे, ‘यसै कारण हामीले अझै धेरै चुनौती सामना गर्नुपर्ने भएको हो ।’ 

धेरैजसो सिनियर खेलाडी विदेश पलायन भएका कारण मुख्य प्रशिक्षक अबल्र्टोले खेलाडी छनोटको मुख्य आधार नै सहिद स्मारक ‘ए’ डिभिजन लिगलाई बनाए । यसपटक सात युवा खेलाडी लाओस र भुटानविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने सम्भावना ।

नयाँ प्रशिक्षक भएकाले नयाँ तरिका र रणनीतिलाई पछ्याउनुपर्ने उनले बताए । प्रतियोगितामा सहभागी दुई राष्ट्र वरीयतामा मुनि भए पनि खेलको नतिजाबारे स्पष्ट भन्न नसकिने कप्तान किरणको भनाइ रह्यो । ‘प्रतिस्पर्धामा वरीयताको अर्थ रहँदैन, मैदानमा जसले राम्रो खेल्छ, जित उसैको हुन्छ,’ उनी भन्छन् ।

सन् २०१६ मा लाओसविरुद्ध प्रतिस्पर्धा गरेका किरणले वर्तमान समयमा उनीहरूमा धेरै परिवर्तन आइसकेको जनाए । ‘त्यसवेला प्रतिस्पर्धा गरेको र अहिलेको लाओसबीच धेरै परिवर्तन आइसकेको छ,’ विपक्षीलाई कमजोर नआँक्न आग्रह गर्दै किरणले जनाए, ‘त्यसैले अहिले नै केही भन्न सकिँदैन ।’ 
अन्तिम टोली
गोलरक्षक :  किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल
डिफेन्डर  :  सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान्त खड्का
मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास स्ट्राइकर स् आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनीष डाँगी

नेपाली टोलीमा सात नयाँ अनुहार
नेपालका प्रशिक्षक अल्बर्टोले मंगलबार राष्ट्रिय टोलीको घोषणा गर्दा सातजना नयाँ खेलाडीलाई समावेश गरेका छन् । गोलरक्षक अभिषेक बराल, डिफेन्डरहरू सनिश श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डमा नवीन लामा र मणिकुमार लामासँगै स्ट्राइकरमा सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । पछिल्लो समयमा नेपालका युवा खेलाडी अस्ट्रेलियालगायत विभिन्न राष्ट्रमा पुगेका छन् । अझ राष्ट्रिय टोलीका नियमित एक दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया पलायन भएका छन् । 

 लाओसको छोटो तयारी
नेपालविरुद्ध प्रतिस्पर्धा गर्ने लाओसका प्रशिक्षक माइकलले निकै छोटो तयारीबीच आएको जानकारी दिएका छन् । ‘प्रतियोगिताका लागि हामीले निकै छोटो तयारी समय पायौँ,’ एक शब्दमा प्रशिक्षक माइकलले भने, ‘फुटबलमा जितभन्दा विकास पनि महत्वपूर्ण पक्ष हो ।’ लाओसले फुटबल विकासका लागि सिनियरभन्दा युवा खेलाडीलाई बढी स्थान दिएको उनले जनाए ।

‘पछिल्लो समयमा हामीले सिनियर खेलाडीलाई विस्थापित गरेका छौँ, यसक्रममा टोलीमा धेरै नयाँ खेलाडीले स्थान पाएका छन्,’ राष्ट्रिय टोलीको निर्माणबारे उनले बताए, ‘उनीहरूबाट राम्रो प्रदर्शन हुने अपेक्षा राखेको छु ।’ नेपालको घरेलु मैदानमा प्रतिस्पर्धा कठिन हुने उनको बुझाइ छ । ‘नेपाललाई पहिलो घरेलु मैदान र समर्थकको फाइदा छ, यसमा हामी पछाडि छौँ,’ नेपाल र लाओसबीचको तुलना गर्दै उनले भने । 

 पाँच वर्षपछि भुटान खेल्दै
फुटबल विकासकै लागि तीन वर्षसम्म भुटानले घरेलु फुटबल प्रतियोगितालाई जोड दियो । यसै कारण भुटानले पछिल्ला केही वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाएन । नेपाल र भुटानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । नेपालले अन्तिमपटक सन् २०१८ को साफ च्याम्पियनसिपमा भुटानलाई हराएको थियो । 

अन्तर्राष्ट्रिय फुटबल तथ्यांकअनुसार नेपाल र भुटानबीच १३ खेल भए । यसमा नेपालले सबै खेलमा जित निकालेको थियो । नेपालमाथि भुटानले एक खेलमा पनि जित हात पार्न सकेको छैन । भुटानका प्रशिक्षक पेमा पेमाले थ्री नेसन्स कपमा प्रतिस्पर्धा गर्न आएको टोली बलियो भएको दाबी गरेका छन् । 

‘वास्तवमा यसपटकको भुटानी टोली बलियो छ,’ उनले भने, ‘प्रतियोगिताका लागि हामीले दुई महिना अभ्यास गरेका छौँ ।’ नेपाल, लाओसले जस्तै भुटानले पनि नयाँ खेलाडीलाई प्राथमिकतामा राखेको छ । अहिले नयाँ र युवा खेलाडीको बाहुल्यता छ,’ उनले भने, ‘नेपाल बलियो छ, हामीले प्रतियोगितामा जित्ने लक्ष्य राखेका छौँ ।’ यसैबीच, भुटानका कप्तान चेन्चोले नेपालमा आफ्नो टोलीलाई समर्थन हुने अपेक्षा राखेको जनाए ।