मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ७ मंगलबार ०९:२१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने : एमाले अन्योलमा, कांग्रेस छलफलमा 

Read Time : > 2 मिनेट
२०७९ चैत ७ मंगलबार ०९:२१:००

तत्कालीन सत्तासाझेदर दल राप्रपाले समर्थन फिर्ता लिएर सरकार छाडेपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि चैत ८ गते दोस्रोपटक विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको सत्तासमीकरण राष्ट्रपतिको निर्वाचनसँगै परिवर्तन भएको थियो । सत्तासाझेदार दल राप्रपाले तत्काल फागुन १३ गते शनिबार मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा बुझाए पनि एमाले भने सरकारमै छ  ।

संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते सोमबार विश्वासको मत लिँदा तत्कालीन सत्तासाझेदार एमाले र राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरे । यता बागमती प्रदेशमा भोलि चैत ८ गते प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री जम्कट्टेलले भोलि (बुधबार) विश्वासको मत लिने तयारीका लागि प्रदेश सभा सचिवालयलाई पत्रसमेत पठाइसकेका छन् । उनले नेपालको संविद्यानको धारा १८८ को २ बमोजिम संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । सोहीअनुसार प्रदेश सभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

संघमा माओवादी केन्द्र नेतृत्वको सरकालाई विश्वासको मत नदिएको एमालेले प्रदेशमा के गर्छ भन्ने सबैलाई चासोको विषय बनेको छ । एमाले प्रदेशमा आफैँ पनि सरकारमा माओवादी केन्द्रसँगै छ । एमाले तत्काल सरकार छोड्ने कि नछोड्ने भन्ने अन्योलमा देखिन्छ ।

के गर्ने भन्ने कुराको निर्णय भोलि मात्रै गर्छौँ : एमाले नेता थपलिया
बागमती प्रदेशमा सत्तासाझेदार दल एमाले केन्द्रीय सत्तासमीकरणबाट बाहिरिएको मात्र छैन, उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतको विपक्षमा मतदान गरेको छ । तर, प्रदेशमा भने एमाले अझै सरकारमै छ । र, प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिँदा के गर्ने भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । 

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकार छोड्ने कि नछोड्ने र विश्वासको मत दिने कि नदिने भन्ने विषयमा भोलि मात्रै निर्णय गर्ने बताए । ‘यो सरकार हामीले समर्थन गरेर बनेको सरकार हो । यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा भोलि मात्रै निर्णय गर्छौँ । हामी पार्टीको आन्तरिक छलफलमै छौँ,’ उनले भने, ‘हामी सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग पनि छलफलमै छौँ ।’ 

केन्द्रदेखि नै सत्तासमीकरणमा धेरै कुरा परिवर्तन भइसकेकाले केन्द्रको निर्णयले पनि महत्व राख्ने भएकाले आफूहरू केन्द्रीय निर्णयको पर्खाइमा रहेको पनि उनले बताए । 

सबैभन्दा ठूलो दल कांग्रेस छलफलमा
यता प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेसले जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्ने कुरामा छलफल भइरहेको जनाएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले विश्वासको मत दिने विषयमा छलफल भइरहेको बताए । उनले आजै प्रदेश समिति र संसदीय दलमा बसेर विश्वासको मत दिने विषयमा छलफल हुने जानकारी गराए ।

जम्कट्टेललाई कुन–कुन दलले विश्वासको मत दिए पुग्छ ?
सात दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा एक सय १० सांसद रहेका छन् । एक सय १० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ जना सांसदको समर्थक आवश्यक पर्छ । यसअघि माघ ३ मा प्रदेश सभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका एक सय पाँचजना सांसदले विश्वसको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका तीनजना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद रहेका छन् ।

यसअघि प्रदेश सभाका दुईतिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री जम्कट्टेललाई केन्द्रमा सत्तासमीकरणमा रहेका दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले मात्रै विश्वासको मत दिए पुग्छ ।