१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ७ मंगलबार
  • Sunday, 11 May, 2025
रमेश सुवेदी काठमाडाैं
२o७९ चैत ७ मंगलबार o६:१३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विवादित बन्दै मुख्य प्रशिक्षक अल्बर्टाेको नियुक्ति

पदपूर्ति समितिको सिफारिसविना मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाेलाई नियुक्त गरेपछि एन्फामा विवाद बढेको छ । अल्बर्टोको श्रम स्वीकृतिको प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन ।

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ७ मंगलबार o६:१३:oo

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बल्र्टाेको नियुक्ति नै विवादास्पद देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को १७ फागुनमा बसेको कार्यसमिति बैठकले इटालियन नागरिक अल्बर्टाेलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रमुख प्रशिक्षक नियुक्त गरेको बैठकलाई ११ कार्यसमितिका बहुमत सदस्यले बहिस्कार गरेका थिए । 

एन्फाका उपाध्यक्ष विराटजंग शाहीका अनुसार पदपूर्ति समितिलाई थाहा नदिईकन अध्यक्ष पंकजविक्रम नेम्वाङले अल्बर्टोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको आरोप लगाएका छन् । शाहीका अनुसार एक सय १५ जनाले मुख्य प्रशिक्षक बन्न निवेदन दिएका थिए । पदपूर्ति समितिले १५ जनाको ‘सर्टलिस्ट’ निकालेको थियो । तर, अध्यक्ष नेम्वाङले एकलौटी रूपमा पदपूर्ति समितिलाई विनाजानकारी इटालियन नागरिकलाई प्रशिक्षक जिम्मेवारी दिएको आरोप उपाध्यक्ष शाहीले लगाएका छन् । 

‘१५ जनाको नाममा मैले हस्ताक्षर गरेको छु, तर अन्तिम निर्णय अध्यक्षज्यूले गर्नुभयो कि वरिष्ठ कसैले गरे, मलाई थाहा भएन,’ उपाध्यक्ष शाहीले नयाँ पत्रिकासँग भने, ‘पदपूर्ति समितिलाई कुनै जानकारी नै छैन, मैले मुख्य प्रशिक्षक अल्बर्टोको नियुक्तिमा हस्ताक्षर नै गरेको छैन ।’ 

उपाध्यक्ष शाही स्वयं पदपूर्ति समितिका संयोजक हुन् । संयोजकलाई समेत एकपटक छलफल नगरी नै मुख्य प्रशिक्षक चयन भएको शाहीले बताए । ‘म आफू स्वयं पदपूर्ति समितिको संयोजक हुँ, त्यस नाताले कसैलाई चयन गर्दा मेरो हस्ताक्षर आवश्यक पर्छ, तर मुख्य प्रशिक्षक नियुक्त गर्दा मैले हस्ताक्षर नै गरेको छैन,’ शाहीले भने । 

गत असारमा पंकजविक्रम नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएपछि आफ्नै प्यानलबाट निर्वाचित शाहीलाई पदपूर्ति संयोजकमा सिफारिस गरिएको थियो । केही समयपछि नेम्वाङ र शाहीबीच आन्तरिक विवाद भयो । अहिले एन्फाका यी दुई मुख्य पदाधिकारी दुई फरक कित्तामा छन् । यसको असर प्रशिक्षक नियुक्तिदेखि विभिन्न विषयमा देखिँदै आएको छ । 
 पदपूर्ति समितिलाई जानकारी छैन
अध्यक्ष नेम्वाङमाथि विधानविपरीत बैठक गरेको आरोप छ । एन्फाले बैठकको निर्णय सार्वजनिक गर्दा आठौँ बुँदामा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भिन्सेन्जोे अल्बर्टाेसँगै अन्य विभिन्न पदमा व्यक्ति चयन गरिएको उल्लेख थियो । यी सबै नियुक्ति पदपूर्ति समितिका संयोजक शाहीको सिफारिस र हस्ताक्षरविना गरिएको थियो । 

यसैबीच, एन्फाका एक सदस्यले अध्यक्ष नेम्वाङले पछिल्लो समय आफूअनुकूल निर्णय गर्दै आइरहेको आरोप लगाएका छन् । ‘अध्यक्षज्यूले पहिलादेखि सबै निर्णय आफूअनुकूल र विधानविपरीत गर्दै आउनुभएको छ, मुख्य प्रशिक्षक नियुक्ति पनि यस्तै हो,’ उनले भने, ‘सुरुमा पदपूर्ति समितिले सिफारिस गरेपछि कार्यसमितिले नियुक्त गर्नुपर्ने हो । आफ्नो अनुकूल र स्वार्थप्रेरित प्रशिक्षक नियुक्त गरिएपछि यो विवाद आएको हो ।’ 

१५ जनाको सूचीबाट नेपालका पूर्वप्रशिक्षक प्याट्रिक अजम्सलाई मुख्य दाबेदार मानिएको थियो । बेल्जियमका नागरिक प्याट्रिक सन् २०१३ मा नेपालसँग जोडिएका थिए । सन् २०१५–०१६ सम्म उनले नेपाली टोली हेरेका हुन् । ‘१५ जनामा प्याट्रिक नै बलिया दाबेदार हुन् । अघिल्लो कार्यकालमा उनी सफल भएका थिए । तर, अल्बर्टाेको नियुक्ति कसरी भयो, थाहा भएन,’ उपाध्यक्ष शाहीले भने । 

एन्फाले मुख्य प्रशिक्षकको मासिक तलब तीन हजार अमेरिकी डलर भएको बताएको छ । मुख्य प्रशिक्षकको तलब दक्षिण कोरियाले बेहोर्नेछ । नेपाल रहँदा यातायात, बसोवासदेखि दैनिकी खर्च एन्फाले नै बेहोर्ने बताइएको छ । 

 श्रमस्वीकृति प्रक्रिया नै अगाडि बढेन
एन्फाले अल्बर्टाेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिए पनि श्रमस्वीकृति लिन सकेको छैन । श्रमस्वीकृतिविना नै प्रशिक्षक अल्बर्टोले आइतबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन् ।  ‘श्रमस्वीकृति पाउन गाह्रो रहेछ, हामी श्रमस्वीकृति प्रक्रियामा छौँ,’ एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले भने, ‘प्रशिक्षक अल्बर्टोको श्रमस्वीकृति आउँछ, केही दिन ढिला होला ।’ थ्री नेसन्स कप बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ ।

श्रमस्वीकृति नआए पनि एन्फाले अल्बर्टाेलाई नेपालको ‘टच लाइन’मा उभ्याउने मनसाय राखेको छ । सहिद स्मारक लिगमा चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले श्रमस्वीकृति नपाउँदा ‘टिम अफिसियल’का रूपमा काम गरिरहेका छन् । नेपालले ८ चैतमा लाओस र १४ चैतमा भुटानको सामना गर्नेछ ।

 राष्ट्रिय टोलीको घोषणा भएन
थ्री नेसन्स कप खेल्न भुटान र लाओसका टोली सोमबार नेपाल आए । नेपालले खेल सुरु हुन ४८ घन्टासम्म राष्ट्रिय टोलीको घोषणा गरेको छैन । मुख्य प्रशिक्षक अल्बर्टाेले एन्फाको मिडियालाई समेत खेलाडीको नाम उपलब्ध गराएका छैनन् । तर, एन्फाले सम्बन्धित खेलाडी अनुबन्ध भएका क्लबलाई भने जानकारी दिएको छ । क्लबहरूले राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडीलाई सोसल मिडियामा बधाई दिएका छन् ।

एपिएफ, मनाङ मस्र्याङ्दी, खुमलटार युथ र जावलाखेल युथले आफ्ना खेलाडीलाई सोसल मिडियाबाट बधाई दिएका छन् । ‘हामीले प्रशिक्षकलाई खेलाडीको नाम सार्वजनिक गर्न अनुरोध गरेका हौँ, तर उहाँले गर्नुभएन,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने । थ्री नेसन्स कपमा निर्देशक सञ्जीव मिश्रले खेलाडीको नाम समयमै सार्वजनिक गनुपर्ने भए पनि प्रशिक्षक त्यसमा चुकेको बताए ।  

 थ्री नेसन्स विजेतालाई ५ हजार डलर 
फिफा र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा आयोजना हुने थ्री नेसन्स  कपको विजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । उपविजेता टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचले दुई सय ५० अमेरिकी डलर पाउनेछन् । सर्वाेत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर  हात पार्नेछन् ।

पुरस्कार रकम राखेपले उपलब्ध गराउनेछ । यसैगरी, प्रतियागिताका दुई खेल फिफा मितिमा हुने हुँदा ५० हजार अमेरिकी डलर फिफाबाट प्राप्त हुने एन्फाले जनाएको छ । दुई खेलका लागि २५–२५ हजार अमेरिकी डलर एन्फाले फिफाबाट प्राप्त गर्नेछ । यसरी एन्फाले प्रतियोगिता सम्पन्न गर्न  एक करोड ७७ लाख ६८ हजार चार सय ८० खर्च हुने बताएको छ ।