
गुल्मीमा रहेका ११ मध्ये तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । अन्य आठ क्याम्पसका सबै पदमा निर्विरोध भएका छन् ।
रेसुंगा, श्रीङेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै मतदान भएको हो । जिल्लाका मानका टीकाराम बहुमुखी क्याम्पस, चन्द्रकोट बहुमुखी क्याम्पस, सत्यवती बहुमुखी क्याम्पस, रिडी बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस, धुर्कोट परमानन्द बहुमुखी क्याम्पस र दिगाम आदर्श बहुमुखी क्याम्पसमा निर्विरोध पदाधिकारी चयन भएको छ ।
मानका टीकाराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुबाट आकाश खरेल, चन्द्रकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रभा गौतम, सत्यवती बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट अस्मिता भण्डारी निर्विरोध चयन भएका हुन् ।
त्यस्तै, रिडी बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट गंगा कुँवर, रुरु संस्कृत विद्यापीठमा नेविसंघबाट नारायण पन्थी निर्विरोध निर्वाचित भएका छन् । धुर्कोट परमानन्द बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी)बाट इन्द्र पोखरेल, जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)बाट जीवन पौडेल तथा दिगाम आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुका श्रीधर पौडेल सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
यी क्याम्पसहरुमा अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) मिलेर एउटै प्यानल बनाएर उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका हुन् ।
आइतबार मतदान जारी तीन क्याम्पसमध्ये श्रीङ्गेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुसंग नेबिसंघ र अनेरास्ववियु (क्रान्तिकारी)को संयुक्त प्यानलले प्रतिस्पर्धा गरिरहेका अनेरास्ववियु जिल्ला अध्यक्ष शोभाखर गिरीले बताए । श्रीङेश्वरमा सभापतिका लागि नेबिसंघ र अनेरास्ववियु (क्रान्तिकारी) प्यानलका बिशाल थापा र अनेरास्ववियुका कमल गिरीबिच प्रतिस्पर्धा हुँदैछ ।
तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा सभापति पदको लागि अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) प्यानलबाट नवीन अर्याल र नेबिसंघबाट पुनाराम घिमिरेबिच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै रुद्रावती बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) प्यानलबाट सभापतिमा अनिश पाठक र नेबिसंघ तथा अखिल छैटौं प्यानलबाट भुवन काफ्लेबिच प्रतिस्पर्धा हुँदैछ ।