१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ चैत ५ आइतबार ११:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन : मकवानपुरमा एक आंगिक र ६ सम्बन्धनप्राप्त क्याम्पसमा मतदान जारी 

Read Time : > 1 मिनेट
२०७९ चैत ५ आइतबार ११:०४:००

आज (५ चैत) मकवानपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको एउटा आंगिक क्याम्पससहित सातवटा सामुदायिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान जारी छ। 

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस र अन्य ६ वटा सम्बन्धनप्राप्त सामुदायिक क्याम्पसमा निर्वाचन हुन लागेको हो। 

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगर पालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा भने यसअघि स्ववियु नेतृत्व सर्वसम्मत चयन भइसकेको छ। 

पालुङ बहुमुखी क्याम्पसको सभापतिमा माओवादी केन्द्रनिकटको अनेरास्ववियु क्रान्तिकारीका पुस्कल श्रेष्ठको नेतृत्वमा स्ववियु सर्वसम्मत चयन भएको हो।

मकवानपुरमा मुख्यगरी कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसको गठबन्धन र एमालेनिकट अनेरास्ववियु, विप्लव नेतृत्वको माओवादीनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको समाजवादी विद्यार्थी संगठनको गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ।

जिल्लामा आइतबार सातवटा क्याम्पसमा निर्वाचन भइरहे पनि मकवानपुर बहुमुखी क्याम्पस, वन विज्ञान क्याम्पस र हेटौँडा क्याम्पसको निर्वाचनलाई विशेष रपमा लिइएको छ। यी क्याम्पसका स्ववियुलाई दुवै गठबन्धनआबद्ध विद्यार्थी संगठनले प्रतिष्ठाका रूपमा हेर्ने गरेका छन्।

नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंको गठबन्धनबाट मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका छोइसाङ लामा, हेटौँडा क्याम्पसमा नेविसंघका राजीव फुँयाल, वन विज्ञान अध्ययन संस्थानमा नेविसंघका दीपेन्द्र कँडेल, जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघका सुजन धिमाल चुनावी मैदानमा छन्।

यस्तै वंशगोपाल बहुमुखी क्याम्पसमा राप्रविसंकी मनिका गौतम, निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका जयबहादुर रोक्का र मनहरी बहुमुखी क्याम्पसमा नेविसंघका किशोर लम्साल अध्यक्षका उम्मेदवार छन्। पालुङ बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका पुस्कल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भइसकेका छन्।

यता एमालेनिकट अनेरास्ववियु, एसनिकट अनेरास्ववियू र विप्लव नेतृत्वको माओवादीनिकट अखिल (क्रान्तिकारी) प्यानलबाट अध्यक्षमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका नवराज शर्मा पौडेल, हेटौँडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली, वन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुका अरुण अधिकारी उम्मेदवार छन्।

यसैगरी जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)की मुना गोले, वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दिवस सिलवाल, निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल र मनहरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूका कुमार घिसिङ उम्मेदवार छन्।

यता वनविज्ञान अध्ययन संस्थानमा भने तीनजना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार विवेक पाण्डे, सचिवका उम्मेदवार किशोर दाहाल र कोषाध्यक्षका उम्मेदवार सुदीप लम्साल चुनावी मैदानमा रहेका छन्।

जिल्लाका प्रमुख तीनवटा क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा तीन हजार ९१ जना, हेटौँडा क्याम्पसमा आठ सय ९७ जना र वन विज्ञान अध्ययन संस्थानमा चार सय ३९ जना विद्यार्थी मतदाता छन्। 

सबैभन्दा बढी विद्यार्थी रहेको मकवानपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत डा. यमबहादुर सिलवालले निर्वाचन सकिएलगत्तै मतगणनाको कार्य प्रारम्भ गरिने जानकारी दिए। 

यस्तै, हेटौँडा क्याम्पसका प्रमुख निर्वाचन अधिकृत अच्युत पराजुली र वन विज्ञान अध्ययन संस्थानका निर्वाचन समितिका निर्वाचन अधिकृत डा. ललितकुमार लाल दासले पनि निर्वाचन सकिएलगत्तै आवश्यक तयारी गरेर मतगणना गर्ने जानकारी दिए। उनीहरूले आज रातिसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए।

आज हुने निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।