मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ५ आइतबार ०८:५७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कीर्तिमानी क्रिकेटरलाई फुटबल मैदानमा सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ५ आइतबार ०८:५७:००

आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्मान गरिएको छ । सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल साझेदार एमडिएसी स्पोर्टस्ले सम्मान कार्यक्रम आयोजना गरेको हो । शनिबार साँझ मनाङ मर्स्याङ्दी क्लब र एपिएफ फुटबल क्लबबीचको खेल मध्यान्तर हुँदा कीर्तिमानी खेलाडीलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन), प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले सम्मान गरे । 

घरेलु मैदानमा आयोजना भएको विश्वकप क्रिकेट लिग–२ को अन्तिम शृंखला क्लिन स्विप गर्दै नेपाल तेस्रो स्थानमा रहेर ग्लोबल छनोटमा स्थान बनाएको थियो । अन्तिम खेलमा नेपालले युएईलाई डिएलएस पद्धतिमा ९ रनले हराएको हो । नेपाली क्रिकेटले एकदिवसीय फर्म्याटमा पाएको यो सबैभन्दा ठूलो उपलब्धि हो । अब नेपालले आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछ । 

सुदूरपश्चिमले पनि सम्मान गर्ने 
सुदूरपश्चिम प्रदेश सरकारले नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान भीम सार्कीसहित एक दर्जन खेलाडीलाई सम्मान गर्ने घोषणा गरेको छ । प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी र भीमलाई जनही दुई–दुई लाख तथा सन्दीप जोरालाई एक लाख दिने निर्णय गरेको छ । यसैगरी, रिजर्भमा रहेका कमलसिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिइने जनाएको छ । 

प्रदेश सरकार मन्त्रीस्तरीय निर्णयले यू–१९ विश्वकपमा स्थान बनाउन महत्वपूर्ण भूमिका खेलेका खेलाडी तथा अफिसियललाई पनि सम्मान गर्नेछ । खेलाडीहरू आकाश चन्द, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, दीपक बोहरालाई जनही एक लाख र टोली प्रशिक्षक जगत टमटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, टोली व्यवस्थापक पुरन तिरुवालाई जनही ५० हजारका दरले सम्मान गर्ने निर्णय गरेको हो ।