मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Thursday, 19 December, 2024
शशी थरूर
२o७९ चैत ५ आइतबार o८:४७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राहुल गान्धीको आलोचनामा देखिएको पाखण्ड 

Read Time : > 2 मिनेट
शशी थरूर
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार o८:४७:oo

गान्धीको आलोचना भाजपाको पाखण्ड त हुँदै हो, साथमा यो तर्कसंगत पनि छैन किनकि उनको अभिव्यक्तिमा कहीँकतै विदेशी हस्तक्षेपको याचना झल्किँदैन 

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) फेरि एकपटक आक्रोशित बनेको छ । देशको सबैभन्दा ठूलो विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले भारतको लोकतन्त्र खतरामा रहेको र त्यसको परिणाम सम्पूर्ण विश्वमा परेको दाबी गरेका छन् । उनको भनाइले भारतमा हलचल मच्चिएको छ । कैयौँ भाजपा नेताले गान्धीको भनाइलाई अतिरञ्जित बनाएर असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वक्याबिनेट मन्त्री र भाजपाका प्रवक्ता रविशंकर प्रसादले गान्धीले ‘भारतको घरेलु मामिलामा हस्तक्षेप गर्न’ अमेरिका र युरोप गुहारेको आरोप लगाएका छन् र उनले वरिष्ठ नेता सोनिया गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेलाई गान्धीको ‘गैरजिम्मेवार र लज्जास्पद टिप्पणी’लाई अस्वीकार गर्न आग्रह गरेका छन् । उनले भाजपा ‘राहुल गान्धीले आफ्नो पछिल्लो टिप्पणीमा भारतको लोकतन्त्र, राजनीति, संसद्, राजनीतिक प्रणाली र न्याय व्यवस्थालाई अपमानित गरेका छन् भन्ने जोडदार रूपमा व्यक्त गर्न चाहन्छ’ भनेका छन् ।

सूचना एवं प्रसारण मन्त्री अनुराग ठाकुर पनि कम नाटकीय भएनन् । उनले गान्धीलाई ‘विदेशी भूमिबाट भारतबारे तपाईंले फैलाएको झुटलाई कसैले पत्याउनेछैन’ भन्दै चेतावनी दिएका थिए र भारतलाई ‘धोका’ नदिन आग्रह गरेका थिए । गान्धीमाथि थप आक्रमण गर्दै ठाकुरले विवाद सिर्जना गराउन मन पराउने व्यक्तिको संज्ञा दिए । अझै अघि सरेर उनले ‘स्थानीय मुद्दा राष्ट्र संघ’ पुर्‍याएर गान्धी र कांग्रेस ‘चिन्तनको दासत्वबाट बाहिर निस्कन नसकेको’ टिप्पणी गरे । चियाको कपमा यो राजनीतिक आँधी सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल (जसको म पनि सदस्य हुँ) बीचको वाक्युद्ध मात्रै होइन, यसले भारतको लोकतान्त्रिक भाष्यमा रहेको गहिरो त्रुटिसमेत झल्काउँछ र यो आगामी वर्ष हुने राष्ट्रिय चुनावका वेला थप स्पष्ट हुनेछ ।

गान्धीमाथि लगाइएको भाजपाको आरोप निकै गम्भीर छ । प्रसादले आरोप लगाइरहँदा यो सम्झिनुपर्ने हुन्छ कि जुनसुकै पार्टी सत्तामा भए पनि भारतले सधैँ आफ्नो आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको कडा प्रतिरोध गरेको छ । भारत स्वतन्त्र भएदेखि नै भारतले आफ्नो सार्वभौमसत्तामा दाबी गर्न कुनै कसर बाँकी राखेका छैन । दुई शताब्दीसम्म आफ्नो राजनीतिक भाग्य निर्धारित गर्नबाट वञ्चित भारत आफ्नो पूर्वऔपनिवेशिक उत्पीडक र विशेषतः तिनका पश्चिमा साझेदारबाट आउने सबैखाले हस्तक्षेपप्रति अत्यन्तै संवेदनशील छ ।

भारतको ‘रणनीतिक स्वायत्तता’ औपनिवेशिक शासनबाट स्वतन्त्र भएपछि हासिल भएको हो । तत्पश्चात् भारतले विश्वका मामिलामा इच्छाअनुसार अडान लिने अधिकार सुरक्षित राखेको छ । भारतले यो स्वतन्त्रताको प्रयोग गर्दै शीतयुद्धमा दुवै पक्षलाई समर्थन गर्न अस्वीकार गर्दै असंलग्न आन्दोलनको खुलेर नेतृत्व गरेको थियो । राजनीतिमा विभिन्न मुद्दामा विभाजित भारतका सबै दलमा आन्तरिक मामिलामा विदेशीको अर्ती–उपदेश स्वीकार नगर्ने साझा स्वतन्त्रताभाव देख्न सकिन्छ । अर्थात्, हामी आफूलाई उपयुक्त लाग्ने गरी शासन व्यवस्था चलाउने हाम्रो सार्वभौम अधिकार प्रयोगमा बाह्य हस्तक्षेप स्विकार्दैनौँ ।

यी सन्दर्भमा राहुल गान्धीमाथि भाजपाले लगाएको आरोप निकै गम्भीर छ । स्वदेशमा व्यक्त गरिने अभिव्यक्ति, जसले खासै महत्व राख्दैन, ती अभिव्यक्तिलाई विदेश विशेषतः बेलायतमा उच्चारण गर्दा देशद्रोहजस्तै अभिव्यक्तिका रूपमा लिइन्छ । भारतको सरहदसम्म मात्रै भारतका राजनीतिक मतभिन्नता हुन्छन् र यो भारतका सबै राजनीतिक दलको साझा मत हो ।  

तर, गान्धीलाई कथित रूपमा यो साझा मतको उल्लंघन गरेकामा आलोचना गर्नेले एक असहज तथ्यलाई अनदेखा गर्छन् । अर्थात् भाजपाका नेता नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री हुँदाका बखत नै सो असहज तथ्यसँग जोडिएका छन् । सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री भएर विदेश भ्रमण (विदेश यात्रा अमेरिकादेखि सुरु भएको थियो) गर्न थालेदेखि मोदीले बारम्बार विगत सात दशकमा भारतमा केही पनि सकारात्मक काम भएको छैन भन्ने अभिव्यक्ति दिँदै भारतीयलाई चकित पार्दै आएका छन् । उनले आफू सत्तामा आएपछि मात्रै विदेशमा भारतीयले शिर ठाडो गर्न सकेको दाबी गर्दै आएका छन् ।

भारतको आन्तरिक राजनीतिक विभाजनलाई बाहिर व्यक्त नगर्ने पवित्र मतलाई मोदीका अभिव्यक्तिले मात्रै अवमूल्यन गरेको छैन, भाजपाका केही राजनीतिक कदमले पनि अवमूल्यन गरेका छन् । विदेश मामिलामा भारतका राजनीतक दलमाझ एकमत छ भनेर झल्काउन भारतको इतिहासमै विदेश मामिलासम्बन्धी संसदीय समितिको अध्यक्षता विपक्षी दलको नेताले गर्ने परिपाटी थियो । तर, सन् २०१९ देखि यो व्यवस्था पनि हटाइयो र भाजपाका सांसदले नै यो भूमिका निर्वाह गरे । (स्मरण रहोस्, सो समितिको अध्यक्ष पंक्तिकार नै थियो, जसलाई अपमानजनक ढंगले बेदखल गरिएको थियो ।) 

भाजपा नेताले राहुल गान्धीलाई आन्तरिक राजनीतिक विभाजनलाई बाहिर व्यक्त नगर्ने पवित्र मत उल्लंघन गर्‍यो भनेर आलोचना गर्नु पाखण्डसिवाय केही होइन । गान्धीको आलोचना भाजपाको पाखण्ड त हुँदै हो, साथमा यो तर्कसंगत पनि छैन किनकि उनको अभिव्यक्तिमा कहीँ कतै विदेशी हस्तक्षेपको याचना झल्किँदैन । वास्तवमा उनले स्पष्ट एवं जोडदार रूपमा भारतमा विद्यमान लोकतन्त्रको संकट ‘भारतको आन्तरिक मामिला’, ‘भारतीय समस्या’ र ‘समाधान भारतभित्रबाटै आउने’ बताएका थिए । बाह्य प्रसंगका सन्दर्भमा गान्धीले भारतीय लोकतन्त्रलाई ‘वैश्विक सार्वजनिक हित’ बताएका छन् । र, उनले यो वैश्विक सार्वजनिक हित तहसनहस भए विश्वकै लागि क्षति हुने बताएका थिए । यसले कहीँ पनि हस्तक्षेपको याचना गरेको संकेत देखाउँदैन । बरु गान्धीले कंग्रेसले भनेझैँ विश्व समुदायलाई भारतमा के भइरहेको छ भनेर चासो राख्न भने आग्रह गरेका हुन् । भाजपाले उन्मादी प्रतिक्रिया जनाउनु अगाडिसम्म पश्चिमा जगत् यस विषयमा अनभिज्ञ नै थियो, तर अहिले छैन । 

(थरुर भारतीय राष्ट्रिय कंग्रेसका नेता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट