मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७९ चैत ५ आइतबार ०८:३६:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ चैत ५ आइतबार ०८:३६:००

हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराधको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा देशनिकाला गरेको आरोपमा आइसिसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।   

आइसिसीको यो कदमलाई क्रेमलिनले औचित्यहीन कार्य भनेर टिप्पणी गरेको छ । साथै, आइसिसीको आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी गर्ने उसको कार्यलाई अपमानजनक भन्दै निन्दा पनि गरेको छ । रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुन् । अन्तर्राष्ट्रिय अदालतले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरिएको बताएको छ । आइसिसी सदस्य देशका सरकारको सहयोगविना आरोपितहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुटिन र मारिया पक्राउ पर्ने सम्भावना भने अत्यन्त न्यून छ । रुस आइसिसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् हेगस्थित उक्त अदालतको आदेश रुसमा कार्यान्वयन हुने कुनै आधार छैन । तर, यसले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा भने असर पर्न सक्छ ।

‘प्रत्यक्ष रूपमा अरूसँग मिलेर वा बालबालिका अपहरणका कार्यमा संलग्न सैन्य वा गैरसन्य अधिकारीमाथि उचित नियन्त्रण गर्न असफल रहेका कारण पुटिनलाई बालबालिकाको अपहरणका लागि जिम्मेवार ठहर्‍याउन सकिने प्रशस्त तर्कसंगत आधार छन्,’ आइसिसीको विज्ञप्तिमा भनिएको छ । 

अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएका विश्वका एक सय २३ देशमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ । आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् । युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकामा स्वागत गरेको छ । राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अदालतको यो कदमलाई ऐतिहासिक निर्णय भन्दै स्वागत गरे ।

आगामी साता चिनियाँ राष्ट्रपति सी जिनपिङको मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका वेला जारी भएको आइसिसीको पक्राउ आदेशले अन्तर्राष्ट्रिय जगत्मा तरंग पैदा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपतिले ‘न्यायसंगत’ भने । यद्यपि, अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन ।   

गत महिना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उसलाई दण्ड दिनुपर्ने बताएकी थिइन् । रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमणको आलोचना गर्दै उनले हत्या, यातना, बलात्कार र निर्वासनजस्ता घृणित कार्यमा संलग्न भएको भनेर रुसको निन्दा गरेकी थिइन् । त्यसअघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसँग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्नेमा जोड दिँदै आएको थियो ।