मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
अनिल यादव काठमाडाैं
२०७९ चैत ५ आइतबार ०७:१२:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपनिर्वाचन : चितवन २, तनहुँ १ र बारा २ मा को–को छन् प्रमुख दलका आकांक्षी? 

Read Time : > 5 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ चैत ५ आइतबार ०७:१२:००

चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि १० वैशाखमा उपनिर्वाचन हुने भएपछि ती क्षेत्रमा प्रमुख राजनीतिक दलले कसलाई उम्मेदवार बनाउलान् भन्ने चासो सुरु भएको छ । चितवन २ मा १० वैशाखमा निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको निर्वाचन आयोगले अन्य दुई क्षेत्रमा पनि सोही मितिमा निर्वाचन हुने बताएको छ । औपचारिक घोषणा हुन भने बाँकी छ । 

निर्वाचनमा हुन सक्ने सम्भावित समीकरणलाई लिएर दलहरूले अहिले नै उम्मेदवारीबारे औपचारिक छलफल थालेका छैनन्, तर आकांक्षीको भने चर्चा सुरु भएको छ । शुक्रवार मात्रै बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र पनि खाली भएको छ । 

त्यस अगाडि रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपति निर्वाचित भएसँगै उनले सोमबार सांसद पदबाट राजीनामा दिएपछि तनहुँ १ रिक्त भएको थियो । त्यसअघि दोहोरो नागरिकतासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ पनि खाली भएको थियो । 

कांग्रेस कार्यसम्पादन समिति बैठकले १० वैशाखमा तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । नामबारे निर्णय गरेर उपयुक्त समयमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको हो । 

कांग्रेसबाट तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, पूर्वप्रदेश सभा सदस्य तथा पूर्वप्रदेशमन्त्री दोबाटे विश्वकर्मा र सरिता गुरुङको नाम चर्चामा छ । तनहुँ जिल्ला सभापति जितप्रकाश आलेका अनुसार केन्द्रबाट नाम माग नभएकाले जिल्लाबाट केही निर्णय भएको छैन । ‘हामीले उम्मेदवारबारे कुनै छलफल गरेका छैनौँ । केन्द्रबाट पनि नाम माग भएको छैन । हामीले निर्वाचनअघि जिल्लाबाट नाम सिफारिस गरेका थियौँ । केन्द्रले त्यसलाई पनि आधार मान्न सक्ला सक्छ,’ उनले भने । 

चितवन २ मा यसअघि पराजित पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख दाबेदारका रूपमा देखिएका छन् । उनले यस क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि आफूलाई स्वतः निर्वाचित गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए । तर, आयोगले दोस्रो मत पाएकालाई स्वतः निर्वाचित हुने कानुनी व्यवस्था नरहेको जानकारी गराएको थियो ।

कांग्रेसका चितवन सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले पनि उपनिर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका छन् । यसबाहेक केन्द्रबाट अर्थविद् डा. स्वर्णिम वाग्लेको नाम पनि चर्चामा छ । जिल्ला सभापति खनालले स्ववियु निर्वाचनपछि जिल्लामा आफूसहितका आकांक्षीका विषयमा छलफल हुने बताए । ‘हामीले उम्मेदवारबारे छलफल सुरु गरेका छैनौँ । स्ववियु निर्वाचनपछि छलफल गरेर नाम टुंगो लगाउँछौँ,’ उनले भने । 

एमालेले चितवन २ को उपचुनावको सम्भावित उम्मेदवारबारे कार्यकर्ता तहमा प्रारम्भिक छलफल सुरु गरेको छ । अहिलेसम्म जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, गत निर्वाचनका उम्मेदवार कृष्णभक्त पोखरेल, डा. तिलचन्द्र भट्टराई, पूर्वजिल्ला अध्यक्ष तथा पूर्वप्रदेश सांसद विजय सुवेदी र गोपी श्रेष्ठको नाममाथि छलफल सुरु भएको एमाले चितवनले जनाएको छ । 

‘हामीले ग्रासरुट अभियानलाई नै चुनावी अभियानका रूपमा पनि चलाइरहेका छौँ, समग्रमा जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्म चलिरहेको ग्रासरुट अभियानमा चुनावको प्रारम्भिक तयारीका रूपमा उम्मेदवारहरूको नाममाथि पनि छलफल सुरु भएको छ,’ जिल्ला अध्यक्ष न्यौपानेले नयाँ पत्रिकासँग भने, ‘हाम्रो उम्मेदवारी हुने निश्चित छ, जनताको बीचमा लोकप्रियमध्येबाट नयाँ सन्देश दिने गरी केन्द्रले कार्यविधि पठाएपछि उम्मेदवार छनोट गर्नेछौँ ।’

०७४ को निर्वाचनमा सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए । तर, ०७९ को निर्वाचनमा भने पोखरेल तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ४९ हजार दुई सय ६४ मत ल्याएर विजयी बन्दा पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३ मत ल्याएका थिए । 

त्यस्तै, कांग्रेसबाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त तनहुँ १ मा पनि उपनिर्वाचन हुने निश्चित भएको छ । त्यहाँ एमालेबाट पूर्वआइजिपी सर्वेन्द्र खनाल र एकबहादुर राना उम्मेदवार बन्ने चर्चा छ । पौडेलले सातदलीय गठबन्धनबाट २५ हजार तीन सय १३ मत पाएर विजयी बन्दा प्रतिद्वन्द्वी रानाले १९ हजार नौ सय २५ मत पाएका थिए ।

बारा २ मा भने एमालेले गत मंसिरको निर्वाचनमा उम्मेदवार उठाएको थिएन । एमालेले जसपाका रामसहायप्रसाद यादवलाई समर्थन गरेको थियो । यादव १३ हजार आठ सय २२ मत प्राप्त गरी विजयी भएका थिए भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका शिवचन्द्र कुसवाहले १३ हजार चार सय ६८ मत पाएका थिए । यो क्षेत्रमा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव मैदानमा उत्रिने सम्भावना छ । 

उपनिर्वाचनमा उम्मेदवारबारे पार्टीले सोचिनसकेको माओवादी नेता नारायण दाहालले बताए । दाहालका अनुसार गठबन्धनको अन्तिम टुंगो लागेपछि उम्मेदवारबारे छलफल हुनेछ । ‘विश्वासको मत लिएपछि गठबन्धनको अन्तिम टुंगो लाग्छ, त्यसपछि मात्रै छलफल गरेर उम्मेदवारबारे निर्णय गर्छौँ,’ उनले भने । नेताहरूका अनुसार गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि संलग्न हुने सम्भावना छ । रास्वपा हालसम्म नयाँ गठबन्धनमा सहभागी भइसकेको छैन । यद्यपि, रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

रास्वपामा सभापति रवि लामिछानेले नै उपनिर्वाचनको तयारी गरेका छन् । गत ४ मंसिरको निर्वाचनमा चितवन २ बाट रास्वपा सभापति लामिछाने निर्वाचित भएका थिए । अदालतको फैसलासँगै उनको सांसद पद गुमेको थियो । नागरिकता पुनः प्राप्ति गरेपछि उनी फेरि उपनिर्वाचनको तयारीमा छन् । राप्रपाले कार्यसम्पादन समितिबाट उपनिर्वाचनबारे निर्णय गर्ने भएको छ । 

राष्ट्रिय जनमोर्चाले चितवन २ को उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचनको प्रचारप्रसारका लागि महासचिव मनोज भट्टको नेतृत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समितिसमेत बनाइएको अध्यक्ष चित्रबहादुर केसीले बताए ।

बारा २ मा उपेन्द्रलाई कति सहज ? 

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुला भएको छ । सप्तरी– २ जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएयता नै रामसहायलाई उपराष्ट्रपति बनाएर यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने रणनीतिमा रहे पनि जसपाले औपचारिक निर्णय भने गरेको छैन । 

यादव स्वयंले पनि उम्मेदवारी दिनेबारे स्विकारेका छैनन् । तर, जसपाका नेताहरू संसद्मा यादवको आवश्यकता रहेकाले उनी उम्मेदवार बन्न सक्ने सम्भावनाबारे खुलेरै बोलिरहेका छन् । जसपाका प्रवक्ता मनीष सुमन पार्टीभित्र नेता–कार्यकर्ताको दबाब रहेको अवस्थामा यादव बारा–२ को उम्मेदवार बन्न सक्ने बताउँछन् ।

‘तर, अहिलेसम्म अध्यक्षले पार्टीभित्र उम्मेदवारी दिने इच्छा प्रकट गर्नुभएको छैन,’ उनले भने, ‘बाहिर मिडियामा अन्तर्वार्ता दिँदा पनि पाँच वर्ष पार्टीभित्रै काम गर्ने राय राखिरहनुभएको छ । यद्यपि, पार्टीभित्रबाट नेता–कार्यकर्ताको दबाब रह्यो भने उहाँ उम्मेदवार बन्ने सम्भावनालाई नकार्न सकिन्न ।’ 

जसपाको आन्तरिक विश्लेषणमा सप्तरीमा हारेका यादव बारामा निर्वाचनका लागि सहजता छ । प्रवक्ता सुमन भने जसपाबाट राम्रो उम्मेदवार उठेको अवस्थामा जसपाले जित्न सक्ने चार बलियो आधार छ । ‘पहिलो, जसपाको उम्मेदवार १० दलीय गठबन्धनको साझा उम्मेदवार हुनेछ,’ उनी भन्छन्, ‘दोस्रो, गत निर्वाचनमा बारा २ मा झरेको समानुपातिक मतमा पनि जसपा पहिलो छ । तेस्रो, सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद उपराष्ट्रपति पदमा पुगेपछि यसले कार्यकर्तामा बढेको उत्साहले पनि अर्थ राख्छ । चौथो, विगतका दिनमा पार्टीबाट रुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका त्यहाँका प्रभावशाली नेता रामकिशोर यादव पनि पार्टीमा फर्किएर क्रियाशील हुनुभएको छ ।’ 

उपराष्ट्रपति निर्वाचनताका १० दलीय गठबन्धनमा रहेका लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच आपसी समझदारीका आधारमा कार्यगत एकता गर्ने सहमति भएको थियो । सहमतिअनुसार लोसपा र उन्मुक्ति पार्टीको समर्थनमा जनमतले उपराष्ट्रपतिको उम्मेदवार नै खडा गरेको थियो । यद्यपि, अन्तिम समयमा लोसपा र उन्मुक्तिले गठबन्धनको साझा उम्मेदवारलाई नै मत दिने निर्णय गरेका थिए ।

यादव बारा २ को उम्मेदवार भएको अवस्थामा लोसपा र उन्मुक्ति पार्टीले मत हाल्नेमा विश्वस्त रहेको जसपा प्रवक्ता सुमन बताउँछन् । ‘उपराष्ट्रपतिको निर्वाचनमा लोसपा र नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा आफूलाई सच्याएर गठबन्धनकै उम्मेदवारलाई मत हाल्नुभयो । त्यसैले उपनिर्वाचनमा पनि जसपाकै उम्मेदवार सघाउनुहुन्छ,’ उनले भने । तर, उपराष्ट्रपति निर्वाचनमा झैं जनमत पार्टीले असहयोग गर्न सक्ने सम्भावनाबारे पनि आफूहरू सचेत रहेको उनले बताए । 

यस्तो छ अंकगणित
गत निर्वाचनको अंकगणित केलाउँदा पनि उपेन्द्रलाई सहज हुने चार आधार अनुकूल नै देखिन्छ । त्यसो त प्रत्यक्षतर्फ बारा २ बाट रामसहायले ३५४ मतान्तरले मात्रै जित निकालेका थिए । एमालेको सहयोग पाएका उनले १३८२२ मत ल्याएर विजयी हुँदा तत्कालीन सत्तागठबन्धनका उम्मेदवार माओवादीका शिवचन्द्रप्रसाद कुशवाहाले १३४६८ मत ल्याएका थिए । तर, त्यतिवेला रामसहायको मत कम आउनुमा जसपाकै बागी उम्मेदवार प्रमुख कारण थियो । किनभने बारा २ मा राम्रो प्रभाव जमाएका रामकिशोरप्रसाद यादव रामसहायकैविरुद्ध त्यहाँबाट उम्मेदवार बनेका थिए । त्यतिवेला उनले ११ हजार ४३ मत ल्याउँदै तेस्रो स्थान बनाएका थिए । त्यसवेला असन्तुष्ट रामकिशोर अहिले पार्टीमा फर्किसकेका छन् । उनी घर फर्किनुलाई पनि उपेन्द्रले जितको बलियो आधार मानेको जसपाकै नेता बताउँछन् । 

बारा २ को समानुपातिक मतपरिणाम पनि जसपाकै पक्षमा देखिन्छ । परिणामअनुसार त्यहाँ १३ हजार २४२ मत सहित जसपा पहिलो स्थानमा छ भने कांग्रेस ११ हजार १७९ सहित दोस्रो स्थानमा । त्यसपछि एमालेले नौ हजार १९३, जनमत पार्टीले आठ हजार ८४६, लोसपाले ४ हजार २३५, नागरिक उन्मुक्तिले तीन हजार ७९४, माओवादीले तीन हजार २६५, नेपाल संघीय समाजवादी पार्टीले दुई हजार ३६६, एकीकृत समाजवादीले एक हजार ९९६, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९९२ मत ल्याएको थियो ।

अहिले १० दलीय गठबन्धनकै साझा उम्मेदवार भएको अवस्थामा गत निर्वाचनमा आएका सबै दलको मत जोड्दा ४६ हजार ५५७ पुग्छन् । त्यहाँ जसपाबाहेक मधेसकेन्द्रित दलहरू जनमत, लोसपा र नागरिक उन्मुक्तिको समानुपातिक मत मात्रै १६ हजार ८७५ आएको छ । यी तीनवटै दलले जसपाका उम्मेदवारलाई मत हाल्न तयार नभएको अवस्थामा पनि गत समानुपातिक मतपरिणाम हेर्दा सत्तागठबन्धन अगाडि देखिन्छ । यसरी पनि गठबन्धनको मत २९ हजार ६८२ हुने देखिन्छ । उता, यसअघि जसपालाई सघाएको एमालेले तीन मधेसकेन्द्रित दलसँग गठबन्धन गर्ने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा छ । त्यस्तो भएको अवस्थामा सत्तागठबन्धनकै मत अगाडि हुने देखिन्छ । एमाले, जनमत, नागरिक उन्मुक्ति र लोसपाको समानुपातिक मत जोड्दा २६ हजार ६८ पुग्छ ।