मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ११:०२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सफल रहन युवालाई आर्नोल्डको टिप्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ११:०२:००

सफल बडिबिल्डर, अभिनेता तथा राजनीतिज्ञ आर्नोल्ड स्वार्जिनेगर युवापुस्तामाझ आफ्ना अनुभव तथा ज्ञान बाँड्न रुचाउँछन् । युवापुस्तालाई सफलताका लागि उनले दिएका केही टिप्स :

आफैँलाई विश्वास गर्नुहोस्
तपाईंसँग स्पष्ट विचार र लक्ष्य हुनुपर्छ । आफ्नो लक्ष्य हासिल गर्नका लागि ठोस योजना हुनुपर्छ । कहिल्यै नबिर्सनुहोस् कि ती लक्ष्य र योजना तपाईंका हुन्, तपाईंको शिक्षक वा साथीभाइका होइनन् । त्यसलाई हासिल गर्नका लािग तपाईंले नै प्रयास गर्नुपर्छ । बिहान उठेपछि सधैँ खुसी हुनुस् र आफ्नो लक्ष्यप्राप्तिमा लाग्नुस् । 

जोखिम लिनुस् 
अरूको अनुसरण गरेर मात्रै सफलता हासिल हुँदैन । पुस्तक रटेर त्यसलाई पालना गर्दैमा पनि सफल भइन्न । तपाईंले सधैँ कम्फर्ट जोनमा बसेर सफलता हासिल गर्न सक्नुहुन्न । यसका लागि नयाँ कुरा सोच्नुपर्छ । नयाँ बाटो खोज्नुपर्छ । अप्ठ्यारा परिस्थिति झेल्न तपाईं तयार हुनुपर्छ । जोखिम लिन सक्नुपर्छ । 

असफल हुन नडराउनुहोस्
म माइकल जोर्डनलाई सम्झन्छु । उनलाई सोधिएको थियो, ‘तपाईं अविश्वसनीय हुनुहुन्छ, बास्केटबल दुनियाँकै सर्वाधिक सफल खेलाडी कसरी बन्नुभयो ?’ उनको जवाफ थियो, ‘तपाईंले सफलता औँल्याउनुभयो । तर, मैले एनबिए गेम्समा नौ हजारपटक प्रहार गरेका सट मिस भएका छन् ।’ के त्यसले उनलाई असफल बनायो ? अहँ, उनी आज बास्केटबल इतिहासकै सर्वाधिक महान् खेलाडी हुन् । मैले बडिबिल्डिङ र भारोत्तोलनका धेरै प्रतियोगिता हारेँ, मेरा धेरै फिल्मले खराब रिभ्यु पाए । राजनीतिमा पनि सफलता–असफलता चल्दै रह्यो । हामी सबैले हार्छौं, हार्ने चिन्ता नगर्नुस् । असफलतासँग तर्सने होइन, यसमा मज्जा लिन सिक्नुस् । असफल भइसकेपछि फेरि कसरी सफल हुन सकिन्छ भनेर सोच्नुस् । 

नराम्रो कुरा कहिल्यै नसुन्नुहोस्
के खराब छ भनेर औँल्याउने मानिससँग दूरी बनाउनुस् । कसरी सुधार गर्न सकिन्छ भन्ने मानिससँग निकट हुनुहोस् । सकारात्मक सोच भएका मानिसको संगतले तपाईंमा पनि सकारात्मक ऊर्जा प्रवाह हुन्छ । 

मिहिनेत गर्नुहोस्
म कलेज जान्थेँ, दैनिक पाँच घन्टासम्म व्यायाम गर्थें, कन्स्ट्रक्सनको काममा खटिन्थेँ, अनि सातामा चार दिन ८ बजेदेखि मध्यराति १२ बजेसम्म अभिनयको क्लास लिन्थेँ । यस समय बडिबिल्डिङमा अहिलेजस्तो पैसा थिएन र डाइट खर्च जुटाउन मैले काम गर्नैपथ्र्यो । तर, त्यसैमा मज्जा लिएँ । जबसम्म तपाईंले कडा मिहिनेत गर्नुहुन्न, तबसम्म तपाईं को हो भन्ने अर्थ हुँदैन । जब कसैले व्यायाम वा शारीरिक, मानसिक सुधारका लागि दैनिक ४५ मिनेट खर्चने समय छैन भनेको सुुन्छु, अनि म हैरान हुन्छु । हामीले कहिल्यै समय छैन भन्नुपर्दैन, सधैँ दिनमा २४ घन्टा छ । हामी आठ घन्टा सुते पनि १६ घन्टा बाँकी रहन्छ । यो समय तपाईंले के गर्नुहुन्छ भन्ने कुराले जीवनमा विशेष महत्व राख्छ ।