मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
युएईविरुद्ध गुल्सन झा र आरिफ शेख रन लिने प्रयासमा (बायाँ), एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा स्थान बनाएपछि खुसीयाली मनाउँदै नेपाली खेलाडी । तस्बिर : संजित परियार/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ०६:२५:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१२ मध्ये ११ खेलमा नेपालको अविश्वसनीय जित

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०७९ चैत ३ शुक्रबार ०६:२५:००
  • ब्याड लाइटका कारण खेल रोकिएपछि नेपालले डिएसएल नियमअनुसार युएईलाई ९ रनले पराजित गर्दै जिम्बावेमा आयोजना हुने ग्लोबल छनोटमा स्थान बनायो 
  • एकदिवसीय क्रिकेटमा नेपालको यो सर्वाधिक ठूलो उपलब्धि हो, अब नेपालले ग्लोबल छनोटमा टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने 

तीन महिनाअघि सम्म अमेरिका र स्कटल्यान्डको भ्रमणपछि नेपाल आइसिसी विश्वकप लिग–२ को दयनीय अवस्थामा थियो । नेपाल शीर्ष पाँच स्थानमासमेत पुग्न नसक्ने अवस्थामा थियो । नेपालले केवल १८ अंक मात्र जोडेको थियो । अर्कोतिर, क्रिकेटभित्रको आन्तरिक विवादले पनि नेपालको क्रिकेट अवस्था दयनीयजस्तै थियो । खेलाडी–खेलाडीबीच गुटबन्दी र नेपाल क्रिकेट संघ (क्यान) पनि आन्तरिक द्वन्द्वमा नराम्रोसँग फसेको थियो । 

यस्तो अवस्थाबाट नेपाल विश्वकप लिग–२ को शीर्ष तेस्रो स्थानभित्र रही एकदिवसीय विश्वकपको सीधै ग्लोबल छनोटमा पुग्छ भन्ने सायद कसैले पनि पत्याएका थिएनन् । तर, विश्वकप लिग–२ अन्तर्गत १४०औँ खेलको नतिजापछि नेपाल तेस्रो स्थानमा रहँदै ग्लोबल छनोट पुगिसक्यो । धेरैलाई यो पनि विश्वास लागेको छैन । नेपालले घरेलु सिरिजमा नामिबिया र स्कटल्यान्डसँग खेल्नुपर्ने थियो । 

त्यसपछि युएई र पपुवा न्युगिनीसँग भिड्नुपर्ने थियो । विश्वकप लिग–२ कै अन्तिम सिरिजमा नेपालले पुनः युएई र पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । फेब्रुअरी १४ मा त्रिवि क्रिकेट मैदानमा १२१औँ खेल सुरु हुनुअघिसम्म नेपालको अगाडि बलियो प्रतिद्वन्द्वी नामिबिया र स्कटल्यान्ड थिए । अंक तालिकामा नेपालभन्दा यी दुवै राष्ट्र निकै माथि नै थिए । स्कटल्यान्ड अगाडि नै ग्लोबल छनोटमा पुगिसकेको थियो । नामिबिया भने तेस्रो स्थानमा ड्राइभिङ सिटमा थियो । 

नेपाल आउनुअघिसम्म विश्वकप लिग–२ मा स्कटल्यान्ड र नामिबियाले उत्कृष्ट नतिजा निकालेका थिए । यसको ठीक विपरीत नेपाली खेलाडी भने खेलमा फर्कन संघर्ष गरिरहेका थिए । एकपछि अर्को खराब नतिजा बेहोरिरहँदा खेलाडीले एक किसिमले आत्मविश्वास नै गुमाइसकेका थिए । उनीहरूलाई जित दुर्लभ भइसकेको थियो । 

क्यानले घरेलु सिरिजअगाडि नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा भारतीय नागरिक मोन्टी देसाईलाई नियुक्त ग¥यो । देसाई के नेपालमा आए, उनले आफूसाथ जादू नै लिएर आए । देसाईले नेपाली खेलाडीलाई हार्ने बानी नै सिकाएनन् । खेलाडीलाई जितबाहेक केवल अरू सपना नै देखाएनन् । खेलाडीलाई नरम भाषामा ‘तिमीहरूले सक्छौ’ भन्दै मनोवैज्ञानिक रूपमा बलियो बनाए । नभन्दै नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा अविश्वणीय जित निकाल्यो । यही ११ जितबाट महत्वपूर्ण २२ अंक जोड्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । 

नेपालको यात्रा १४ फेब्रुअरीबाट सुरु गरौँ । यही दिनदेखि नेपालको भाग्य नै परिवर्तन भयो । यो एक महिनाको अवधिमा नेपाली खेलाडीले वाहवाही पाएका छन् । विश्व क्रिकेटकै सर्वोच्च निकाय (आइसिसी) ले समेत नेपालको प्रत्येक जितमा प्रशंसा गरिरहेको छ ।

 नेपालले निकालेका सबै ११ जित लोभलाग्दो थियो । युएईजस्तो बलियो टोलीलाई एक सय ७७ रनले हराउनु तथा पपुवा न्युगिनीमाथि नौ विकेटको सानदार जितले नेपालले एकदिवसीय खेलमा इतिहास नै बनायो । विश्वकप लिग–२ मा एकपछि अर्को रेकर्डमाथि रेकर्ड राख्ने क्रममा प्रशिक्षकसँगै खेलाडीले उत्तिकै मिहिनेत गरेका छन् । यो एक महिनाभित्र दिनरात गरेको मिहिनेतले नै आज नेपालले एकदिवसीय इतिहासमा पहिलोपटक ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो । र, कुनै न कुनै खेलमा खेलाडीले एकआपसमा साथ दिइरहे । कप्तान रोहितकुमार पौडेलले युवा तथा सिनियर खेलाडीलाई एकै मालामा राख्दै टिमवर्कको भावना जगाए ।

 सम्हालिएको नेपालको ब्याटिङ
तीन सय ११ रनको विशाल लक्ष्य पाएको नेपालले युएईविरुद्ध अविश्वसनीय जित निकालेको छ । नेपालविरुद्ध सधैँ अन्तिम खेलमा बाधक बन्दै आएको युएईलाई भाग्यले समेत साथ दिएन । १२ हजारभन्दा धेरै दर्शक रहेको त्रिवि मैदानमा कमजोर प्रकाशका कारण खेल नेपालको पक्षमा आएको थियो । कुनै समय युएईका खेलाडी समय कटाउन लागिपरेका थिए ।

गुल्सन झाले ४२औँ ओभरमा जादू गर्दै उत्कृष्ट इनिङ्स खेलेपछि नेपाल जिततर्फ लम्किएको थियो । ४२औँ मिनेटमा गुल्सनले २० रन जोडेपछि नेपालको भाग्य खुलेको थियो । गुल्सनको आक्रामक ब्याटिङपछि मैदानमा उपस्थितले भाग्यको साथ मागेका थिए । जसमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले मैदानबाहिरबाट आफ्नो अनुभव साटिरहे । उनले क्रिजमा रहेका गुल्सन र दीपेन्द्रलाई अनुभव साट्दै मौसमअनुसार खेल्न आग्रह गरिरहे । सोहीअनुसार नेपाल सफल पनि भयो । 

सर्वाधिक ठूलो लक्ष्य पाएको नेपालले युएईविरुद्ध सम्हालिएको प्रदर्शन गर्‍यो । ओपनर आसिफ शेख शून्य र कुशल मल्ल पाँच रन बनाएर आउट भएका थिए । १.३ ओभरमा नेपालले ६ रन बनाउँदा दुई विकेट गुमाउन पुग्यो । ३७ रन बनाउँदा कप्तान रोहितलाई गुमायो । यसपछि क्रिजमा रहेका ओपनर कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्सन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालको जित–आधार तय भएको थियो ।

भीम र कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे । कुशल ३५ बलमा ५० रन बनाएर आउट भए । पाँचौँ विकेटका लागि भीम र आरिफबीच ८३ रनको बलियो साझेदारी भयो । भीमले ७६ बलमा ६७ रन बनाएका थिए । यसैगरी, गुल्सनले ४८ बलमा अविजित ५० र दीपेन्द्रले १० रन बनाए । बलिङतर्फ जुनौद सिद्दिकीले सर्वाधिक तीन र आयन अफजल खानले दुई विकेट लिएका थिए । 

 युएईको विशाल लक्ष्य 
युएईले नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।  टस जितेर ब्याटिङ गरेको युएईका लागि प्लेयर अफ दी म्याच आसिफ खानले शतकीय तथा वृत्या अरविन्द र मोहम्मद वासिमले अर्धशतकीय इनिङ्स खेले । विस्फोटक ब्याटिङ गरेका आसिफ खानले ४२ बलमा ११ छक्का र चार चौकाको मद्दतमा १०१ रन प्रहार गरेका थिए ।

अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ९४ रन तथा कप्तान मोहम्मद वासिमले ४९ बलमा ६ छक्का र दुई चौकासहित ६३ रनको योगदान गरे । यसैगरी, रोहन मुस्ताफाले २० रन बनाए । छैटौँ विकेटका लागि खान र अरविन्दले एक सय ३५ तथा दोस्रो विकेटका लागि अरविन्द र वासिमले ७९ रनको साझेदारी गर्दै युएईलाई बलियो स्कोरतर्फ पुर्‍याएका थिए । 

अबको चुनौती पूर्वाधार : दुर्गाराज पाठक, कार्यवाहक सचिव, क्यान
नेपाल ग्लोबल विश्वकप छनोटमा पुगेसँगै धेरै चुनौती सामना गर्नुपर्छ । अहिलेको भौतिक पूर्वाधारको भरमै नेपालले योभन्दा अगाडि ठूलो सफलता हात प्राप्त गर्न सक्दैन । नेपालसँग केवल त्रिवि अन्तर्राष्ट्रिय मैदान मात्र उपलब्ध छ । यसबाहेक नेपालसँग अन्तर्राष्ट्रिय स्तरको अन्य रंगशाला नै छैन । नेपालबाहेक धेरै पछि क्रिकेट सुरु गरेका राष्ट्रसँग विश्वस्तरीय रंगशाला छन् । 

नेपालले माथिल्लो स्तरको प्रतिस्पर्धा गर्न पहिला रंगशालाकै आवश्यकता पर्छ । यसमा नेपाल निकै पछाडि छ । विश्वकप ग्लोबल छनोटमा नेपालले टेस्ट मान्यता तथा एकदिवसीय राष्ट्रहरूसँग गर्नेछ । सो प्रतियोगितामा पनि उत्कृष्ट नतिजा निकाल्न नेपालले धेरै एक्सपोजर खेल खेल्नुपर्छ । 

नेपालले आफूभन्दा माथिका राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता देखिन्छ । क्यानले ग्लोबल छनोटअघि खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न त्यस्ता बलियो राष्ट्रसँग खेलको प्रबन्ध गर्नुपर्छ । नेपाल एकदिवसीय मान्यता रक्षा गर्ने योजनाका साथ अगाडि बढ्नुपर्छ ।