बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रलाई ताररहित बनाउन हेटौँडा उपमहानगरपालिकाले पहल थालेको छ । उपमहानगरपालिकाले विद्युतीय तारलाई भूमिगत गर्दै बजार क्षेत्रलाई विद्युतीय ताररहित बनाउने तयारी गरेको हो । यसका लागि उपमहानगरपालिकाले मंगलबारको कार्यपालिका बैठकबाट विद्युत् प्राधिकरणलाई विद्युतीय तार भूमिगत गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेले हेटौँडा बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ४, ५ र १० को राजमार्गसँग जोडिएको क्षेत्रमा रहेका विद्युतीय पोलबाट तार हटाउने निर्णय गरेको जानकारी दिए । ‘कार्यपालिका बैठकले बजार क्षेत्रको तार भूमिगत गर्न विद्युत् प्राधिकरणलाई पत्र लेख्ने निर्णय गरेको हो । जथाभावी देखिएका तारका कारण हेटौँडाको सौन्दर्यमा कमी आएको र विद्युतीय तारलाई भूमिगत गर्दा व्यवस्थित पनि हुने भएकाले प्राधिकरणलाई आफ्नो योजनामा पार्न उपमहानगरले आग्रह गरेको हो,’ प्रवक्ता न्यौपानेले भने ।
उनले गएको शनिबार हेटौँडा आएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटमा हेटौँडाको विद्युतीय तारलाई भूमिगत गर्ने विषयमा छलफल भएको जानकारी दिए । यस्तै प्रवक्ता न्यौपानेले विद्युतीय पोलमा रहेका अन्य विभिन्न सेवा प्रदायक कम्पनीहरूको तारका विषयमा उपमहानगरपालिकाले विकल्पबारे छलफल गर्ने बताए ।
‘विद्युतीय तार भूमिगत गर्ने काम विद्युत् प्राधिकरणकाे हो । प्राधिकरणले विभिन्न सहरमा विद्युतीय तारलाई भूमिगत गर्ने कामको थालनी गर्न लागेकाले हामीले पनि कार्यकारी निर्देशक घिसिङसँग हेटौँडाको विद्युतीय तार भूमिगतका लागि प्रस्ताव गरेका थियौँ,’ उनले भने । प्रवक्ता न्यौपानेले प्राधिकरणका निर्देशक घिसिङले उपमहानगरपालिकाको प्रस्तावलाई स्वीकार गरेको बताए ।
यस्तै उपमहानगरको बैठकले नगरका विभिन्न ठाउँमा ‘हाई मास्ट लाइट’ राख्ने निर्णय पनि गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाइटको व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणसँग छलफल भइरहेको नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।
प्राधिकरणसँग भएको छलफलअनुसार ‘हाई मास्ट लाइट’का लागि प्राधिकरणले ४० प्रतिशत अनुदान दिने र उपमहानगरपालिकाले ६० प्रतिशत लगानी गर्ने प्रमुख लामाले बताइन् । यसका लागि उपमहानगरपालिकाले ६० लाख रुपैयाँ बजेटसमेत छुट्याएको उनले जानकारी दिइन् ।
यसैगरी कार्यपालिका बैठकले उपमहानगर प्रवेशको चार स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ । बैठकले नगरको पूर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पायक पर्ने स्थानमा आवत-जावत गर्नेका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने निर्णय गरेको हो ।