Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ चैत २ बिहीबार ०८:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संरक्षणको पर्खाइमा पाटनको दत्तात्रय मन्दिर : पुनर्निर्माणसम्बन्धी विवाद नमिल्दा विनियोजित डेढ करोड बजेट फ्रिज

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ चैत २ बिहीबार ०८:२५:००

सात वर्षअघि गएको भूकम्पले जीर्ण बनेका ललितपुर पाटन दरबार क्षेत्रका अधिकांश मठमन्दिर पुनर्निर्माण भइसकेका छन् । तर, दरबार क्षेत्रमा रहेको ऐतिहासिक एक मन्दिर दत्तात्रय मन्दिर भने अझै जीर्ण र सिथिल अवस्थामा छ । समयमै यो मन्दिर पुनर्निर्माण नहुँदा दरबार क्षेत्र नै कुरूप देखिनुको साथै यसको महत्व घटिरहेको छ ।

मन्दिर पुनर्निर्माण कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा ढिलाइ भएको स्थानीयको भनाइ छ । ललितपुर महानगरपालिका र पुरातत्व विभागले विवाद उत्पन्न भएको बहानामा बेवास्ता गर्दा दरबार क्षेत्रको पूर्वी भागमा रहेको मल्लकालीन दत्तात्रय मन्दिर अलपत्र र जीर्ण बनेको हो । ०७२ सालको भूकम्पबाट भत्किएका यहाँका कृष्ण मन्दिर, भीमसेन मन्दिर, चार नारायण मन्दिर, विश्वरूपा मन्दिर, दुईवटा मल्लकालीन पाटी पुनर्निर्माण भइसकेका छन् । दरबार क्षेत्रमै अवस्थित भाइदेग मन्दिर (१९९० सालको भूकम्पमा भत्किएको) पनि ७० प्रतिशत पुनर्निर्माण भइसकेको छ । तर, सँगै रहेको दत्तात्रय मन्दिरको पुनर्निर्माणमा भने कसैले चासो दिएका छैनन् ।

पुनर्निर्माण नहुँदा मन्दिरको एकापट्टिको भाग स्थानीयले अतिक्रमणसमेत गरेका छन् । अतिक्रमणका बारेमा सरकारी निकायलाई जानकारी गराउँदासमेत सुनुवाइ नभएको पाटनका राजु ताम्राकारले बताए । ‘कुनै समय पाटन क्षेत्रमा सम्पदा संरक्षण र स्याहार गर्ने जिम्मा पुरी समुदायलाई दिइन्थ्यो, उनीहरूको संरक्षणमा रहनुपर्ने उक्त मन्दिर सोही समुदायकै व्यक्तिले बनाएको घरको चेपुवामा परेको छ,’ उनले भने, ‘घरधनीले मन्दिरको एकापट्टिको छानोसमेत भत्काएका छन्, ती घरधनी हाल विदेशमा छन् ।’ उनका अनुसार मन्दिरमा रहेको महादेवको मूर्तिलाई जस्तापाताले छोपिएको छ । मन्दिरको वरिपरि घुम्ने बाटो पनि बन्द छ । सामुन्ने अग्ला घर ठडिएको छन् । रेखदेख नहुँदा मन्दिरमा प्रयोग भएका कामसूत्रका टुँडालहरू चोरी भएका छन् । यसबाहेक मन्दिरभित्रका ऐतिहासिक मूर्तिसमेत चोरी भएको हुन सक्ने स्थानीयको आशंका छ । उनीहरूका अनुसार मन्दिरको ढोका हरेक दिन खुल्नुपर्ने र पूजाआजा हुनुपर्ने किंवदन्ती छ । सोहीअनुसार जीर्ण मन्दिरमा पुजारीले दैनिक पूजाआजा पनि गर्छन् । तर, मन्दिरको भौतिक अवस्थामा चासो नदिँदा मन्दिरको संरचना नाजुक बनेको छ । ‘मल्लकालीन समयताका मठमन्दिर संरक्षणका लागि यहाँ पुरी समुदायलाई राखिएको थियो, तर, अहिले तिनै समुदायका व्यक्तिले बनाएको घरले मन्दिरको छानो खोसेको छ,’ स्थानीय सुदर्शन महर्जनले भने, ‘यो मन्दिरको नजिकै एउटा मल्लकालीन पार्टी पनि थियो, तर त्यो पार्टी भएको ठाउँमा व्यक्तिको घर बनेको छ ।’ उनका अनुसार हरेक वर्ष ३ पुसमा दत्तात्रय मन्दिरको पूजा गर्ने चलन पनि छ । 

मन्दिर पुनर्निर्माणका लागि बागमती प्रदेश सभा सांसद रामकृष्ण चित्रकारले महानगरपालिका र विभागको पटकपटक ध्यानाकर्षण गराएका थिए । महानगरले मन्दिर पुनर्निर्माणका लागि भन्दै पुरी समुदायकै व्यक्तिलाई जिम्मेवारी दिने तयारी गरे पनि त्यसको विरोध भएको थियो । जसले मन्दिरकै जग्गा मिचेर घर बनाएको छ उसैलाई मन्दिर पुनर्निर्माणको ठेक्का दिन लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । सोहीकारण, पुरातत्वले ०७८/७९ मा छुट्याएको बजेटसमेत फ्रिज भयो ।

उपत्यकाका तीन दत्तात्रयमध्ये पाटनको भने ओझेलमा
उपत्यकाका तीनवटै जिल्लामा दत्तात्रय मन्दिर छ । भक्तपुरमा रहेको मन्दिर धेरै प्रसिद्ध रहे पनि पाटनको दत्तात्रय भने ओझेलमा छ । यद्यपि, पाटनवासीमा भने यो मन्दिर निकै प्रसिद्ध छ । उनीहरू हरेकदिन मन्दिर पुगेर दत्तात्रयको पूजा पनि गर्दछन् । लोप हुने अवस्थामा पुगेको मन्दिर बचाउन आग्रह गर्दै स्थानीयले एक वर्षअघि नै पुरातत्व विभागलाई खबर गरेका थिए । तर, विभागले उक्त क्षेत्रमा रहेको मन्दिरको पुनर्निर्माणबारे कम चासो दिएको स्थानीयको आरोप छ ।

पुरातत्व विभागका प्रवक्ता भन्छन्–विवादका कारण पुनर्निर्माणको बजेट फ्रिज
विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार ०७८/०७९ मा सो मन्दिर निर्माणका लागि विभागले एक करोड ५० लाख बजेट पनि विनियोजन भएको थियो । तर, मन्दिर स्थानीय, उपभोक्ता, उद्योग वाणिज्य संघ, ललितपुर महानगरमध्ये कसलाई पुनर्निर्माणको जिम्मेवारी दिने भन्नेबारे विवाद भएपछि उक्त बजेट फ्रिज भयो । पुरातत्व विभागले महानगरले बनाउनुपर्छ भन्ने धारणा राखेको थियो ।

तर, स्थानीयले उद्योग वाणिज्य संघ वा उपभोक्ता समितिलाई दिनुपर्छ भन्ने माग राखेका थिए । सोहीकारण विवाद बढेपछि मन्दिर पुनर्निर्माणको काम टर्दै आइरहेको छ । ‘त्यहाँ ऐतिहासिक मन्दिर रहेको भन्ने जानकारी भएपछि हामीले बजेट पनि विनियोजन गरेका हौँ, तर कुरा नमिल्दा काम अघि बढ्न सकेन,’ प्रवक्ता कुँवरले भने ।