नेपाल-भारत पर्यटन प्रवर्द्धनका लागि सिलिगुडीमा छलफल

२०७५ चैत २६ मंगलबार १८:३३:००

पर्यटनको विकासमा नेपाल र भारत योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा दुई देशका पर्यटन व्यवसायीले जोड दिएका छन् । दुई देशको पर्यटन विकासका लागि सिलिगुडीमा भेला भएका नेपाल र भारतका पर्यटन व्यवसायीले योजनाबद्ध रुपमा काम गर्न सके दुबै देशलाई फाइदा पुग्ने बताए ।

दुई देशको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले भारतीय उद्योगीहरुको छाता संगठन सीआइआई र कोलकातास्थित नेपाली महावाणिज्यले आयोजना गरेको कार्यशाला गोष्ठीमा नेपाल र भारतका पर्यटन व्यवसायीको उल्लेख्य उपस्थिति थियो ।
कार्यशाला गोष्ठीमा महावाणिज्य दूत एकनारायण अर्यालले पर्यटनले नेपाल र भारतको सम्बन्ध थप मजबुत बनाइरहेको उल्लेख गरे । बुद्ध एयरले एक महिनाभित्रै काठमाडौँ–कोलकाता सीधा उडान सुरु गर्ने उनले जानकारी दिए । ‘बागडोगरा–पोखरा र बागडोगरा–विराटनगर उडान गर्न पनि बुद्ध एयर इच्छुक छ,’ महावाणिज्य दूत अर्यालले भने, ‘यसो हुन सक्यो भने दुई देशका पर्यटकलाई साह्रै सजिलो हुनेछ ।’

नेपालमा हिमाल र पहाड तथा भारतमा समुद्र भएकाले हिमाल–समुद्र जोड्ने गरी पर्यटन प्रवद्र्धनमा जुट्न आवश्यक रहेको अर्यालले बताए । नेपालका कृषि उत्पादन भारत निकासी गर्नमा कहिलेकाहीँ कठिनाइ भइरहेको स्मरण गर्दै उनले नेपालतर्फ नाकामा ल्याब राख्न सके व्यापारमा सहज हुने धारणा राखे ।
‘व्यापार बढाउने, कुटनीतिक सम्बन्ध विस्तारका लागि वातावरण सिर्जना गर्ने मेरो काम हो,’ उनले भने, ‘हामीले धेरै उपलब्धी पनि हासिल गरेका छौँ । नाकामा कहिलेकाहीँ अदुवा, ब्रोकाउलीजस्ता कृषि उत्पादन रोकिन्छ, त्यसकारण प्रयोगशाला सञ्चालनमा ल्याउने तयारीमा हामी जुटेका छौँ ।’

गोष्ठीमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नेपालको अर्थतन्त्रमा पर्यटनले महत्वपूर्ण टेवा पु¥याएको भन्दै भ्रमण वर्ष २०२० सफल पार्न पर्यटन व्यवसायीलाई आग्रह पनि गरे । सीमा क्षेत्रबाट लागुऔषध, मदिरा, अवैध हतियार नियन्त्रण गर्न दुबै देशबाट संयुक्त रुपमा काम भइरहेको उनले उल्लेख गरे ।
भारतीय सीमा सुरक्षा बल सिलिगुडीका आइजी श्रीकुमार बन्दोपाध्यायले सीमा क्षेत्रमा नेपालीलाई कुनै पनि बहानामा दुःख नदिइने बताए । ‘अप्ठ्यारोमा सहयोग गर्न हामी २४ घण्टा तत्पर छौँ, नेपाल–भारत सीमाना पूर्ण रुपमा सुरक्षित छ,’ उनले भने ।
भारतका पर्यटन अभियन्ता राज बसुले भारतीय नागरिकको पहिलो चाहना नेपाल घुम्ने नै रहेको बताए । नेपाली नागरिक पनि भारत घुम्ने भएकाले दुबै देशका नागरिकको चाहनालाई पर्यटकीय दृष्टीले हेर्नुपर्ने उनको भनाइ छ । पूर्वी नेपालका पर्यटन अभियन्ता अर्जुन कार्कीले नेपालको बाहुनडाँगीदेखि इलाम हुँदै भारतको मिरिक र दार्जिलिङलाई पर्यटकीय बाटोमा समेट्न सके दुबै देशलाई फाईदा पुग्ने बताए ।
 

प्रतिकृया दिनुहोस