मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २८ आइतबार १०:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१५ मिनेटमै दुखाइ कम गर्ने माइग्रेनको नयाँ औषधि प्रयोगका लागि अनुमति

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २८ आइतबार १०:१९:००

छोटो समयमा माइग्रेनको समस्या नियन्त्रणमा ल्याउन अनुसन्धान भइरहेको नयाँ औषधिलाई प्रयोगका लागि अनुमति दिइएको छ । अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले शुक्रबार माइग्रेनका लागि फाइजरको नाक स्प्रेलाई अनुमति दिएको हो । यो औषधिले १५ मिनेटको अन्तरालमा प्रतिक्रिया देखाउने क्लिनिकल परीक्षणले देखाएको छ । 

‘जाभाप्रेट’ नामक यो औषधि फाइजर कम्पनीले उत्पादन गरेको हो । सामान्यतया, एक्युट टाउको दुखाइ हुनुपूर्व देखिने न्युरोलोजिकल गडबडीको समयमा यो औषधि प्रयोगमा ल्याउन सकिने बताइएको छ । औषधि उत्पादक कम्पनी फाइजरले माइग्रेनको औषधिमाथि यसअघिआफ्नो स्वामित्व लिइसकेको छ । गत वर्ष बायोहेभन फर्मास्युटिकल्सबाट ११.६ बिलियन डलरमा एफडिए अनुमोदित ओरल माइग्रेन चक्की अर्थात नुरटेक ओडिटी खरिद गरेको थियो । 

फाइजरले ‘जाभाप्रेट’को मूल्य आगामी जुलाईमा निर्धारण गर्ने जनाएको छ । माइग्रेनको यो नयाँ औषधि यसअघिका औषधिको तुलनामा महँगो नपर्ने कम्पनीले जनाएको हो । नाकमा स्प्रे गरी प्रयोगमा ल्याउन सकिने ‘जाभाप्रेट’ क्याल्स्टोनिन जीनसँग सम्बन्धित पेप्टाइड अवरोधक हो । जुन माइग्रेनको उपचारका लागि प्रयोगमा ल्याइने औषधि र थेरापीभन्दा निकै प्रभावकारी हुने दाबी गरिएको छ । 

‘जाभाप्रेट’ माइग्रेनका लागि नाकमा स्प्रे गरिने यो पहिलो औषधि भने होइन, तर १५ मिनेटको अन्तरालमै प्रतिक्रिया देखाउने र केही समयमै दुखाइ नियन्त्रणमा ल्याउन सक्ने भएकाले प्रभावकारी रहेको टाउको दुखाइसँग सम्बन्धित चिकित्सकहरूले बताएका छन् । 

 कोभिड महामारीपछि माइग्रेन प्रभावितको संख्या बढ्दो
कोभिड महामारीपछि टाउको दुखाइ र माइग्रेनको समस्या बढ्दै गएको पछिल्ला सर्वेक्षणले देखाएको छ । केही वर्षयता माइग्रेन र टाउको दुखाइको उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीको संख्या बढ्दै गएको हो । 

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ०७७ साउनदेखि ०७८ असारसम्म देशभर २८ लाख ४४ हजार पाँच सय ९३ जना टाउको दुख्ने समस्या भएर अस्पताल पुगेका थिए । ०७६/७७ मा देशभर १२ लाख ९० हजार तीन सय ८० जना बिरामी अस्पताल पुगेका थिए । विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरका अस्पतालबाट प्राप्त तथ्यांकअनुसार कोभिड महामारीपछि टाउको दुखेर उपचारका लागि अस्पताल पुग्नेको संख्या सबैभन्दा धेरै छ ।

नेपालमा मात्रै नभई विश्वभर नै माइग्रेन र टाउको दुख्ने समस्या मुख्य समस्या बन्दै गएको तथ्यांकले देखाउँछ । हाल कुल वयस्क अर्थात् २० देखि ५० वर्ष उमेर समूहको जनसंख्या करिब १० प्रतिशत माइग्रेनबाट प्रभावित रहेको अनुमान छ । जसमध्ये पनि पुरुषको तुलनामा महिला तीन गुणा बढी प्रभावित भइरहेको माइग्रेन रिसर्च फाउन्डेसनको अध्यनले देखाएको छ ।