१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तामाकोसी–काठमाडौं प्रसारण लाइन असारभित्रै सक्न निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२७:oo

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन निर्माण आगामी असारभित्र सम्पन्न गर्न ठेकेदारहरूलाई निर्देशन दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजनाअन्तर्गत बाह्रबिसे सबस्टेसनको अनुगमन गरी यस्तो निर्देशन दिएको हो । निर्माणमा देखिएको अवरोध हटाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौं र बाह्रबिसे सबस्टेसनको निर्माण तीव्र गर्न निर्देशन दिइएको हो । 

आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर चार सय केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर एक सय ३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा चार सय केभी र नयाँ खिम्तीमा चार सय केभी सबस्टेसन निर्माण भइरहेको छ । 

बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । मध्य–भोटेकोसीको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

प्राधिकरणले मध्य–भोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्य–भोटेकोसीको विद्युत् दुई सय २० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । दुई सय २० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारिनेछ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले निर्माण गरेको एक सय ३२ केभी प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । 

माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा चार महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सबस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । 

कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि मध्य–भोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने बताए । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, एक सय ६० एमभिए र १३२/११ केभी, पाँच एमभिएका पावर ट्रान्सफर्मरहरू रहनेछन् । घिसिङले बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघि नै निर्माणस्थलमा उपकरणहरू तथा निर्माण सामग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए । 

ad
ad