मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १२:५२:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी

Read Time : > 3 मिनेट
रासस, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १२:५२:००

नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न नभई मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आए मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रूपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ ।

कुल एक सय दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएर सबस्टेसन अभावमा बिजुली खेर गएको अवस्थामा निर्माण व्यवसायीबाट असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको हो । 

प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र  बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् ।

साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तामाकोसी तथा सुनकोसी र त्यसका  सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजनाअन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

निर्माणमा देखिएको अवरोध हटाउन आफ्नोतर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौं र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण जिम्मा पाएका ठेकेदार, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, व्यहोरिरहेको समस्या तथा समाधानका उपायहरूलगायतका विषयमा विस्तृत रूपमा छलफल गरेको थियो ।

रूख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । 

कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सबस्टेसनको निर्माण नभएर मध्यभोटेकासीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए । ‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने ?’ घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भने ।

प्राधिकरणले मध्यभोटेसीको विद्युत् प्रवाहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ ।

कुल २२० केभी प्रसारण लाइनबाट आएको विद्युतलाई बाह्रबिसे सबस्टेसनमार्फत १३२ केभीमा झारिनेछ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभी प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । 

माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा चार महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सबस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सबस्टेसनमा जोडिनेछ ।

कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने जानकारी दिए । 

बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, पाँच एमभिएका पावर ट्रान्सफर्मर रहनेछन् । घिसिङले बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै  निर्माणस्थलमा उपकरण तथा निर्माण सामग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए ।

प्रसारण लाइनअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने एक सय १८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ । ७१ वटा टावर  खडा गरिएको छ । १७.५ किलोमिटर तार तानिएको छ । यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । 

प्राधिकरणले चिनियाँ  कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर र रु. ६ करोड १६ लाख ७४ हजार कार्यसम्पादन जमानत जफत गरेको थियो ।

यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र रु. ६ करोड १६ लाख ७४ हजार बैंक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ बोलपत्र गरी ठेकेदार छनोट गरेको थियो । बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने एक सय २२ टावरमध्ये एक सय ११ वटाको जग हालिएको छ भने चारवटा टावरको जग हाल्ने काम जारी रहेको छ ।एक सय तीनवटा खडा गरिएको छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीमा चारवटा टावर निर्माण सुरु हुन सकेको छैन । १२.५ किलोमिटर तार तानिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, रूख कटानी, स्थानीयवासीको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ ।