१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : रासस
अनिल यादव काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ०६:४६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति निर्वाचनमा किन राप्रपा तटस्थ ?

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ०६:४६:००

भावी राष्ट्रपतिको भूमिकामाथि आशंका गर्दै तथा आफ्नो राजनीतिक एजेन्डालाई ध्यानमा राखेर संसद्को पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भावी राष्ट्रपतिका दुवै उम्मेदवारको व्यक्तित्वमाथि शंका गर्दै मतदानमा तटस्थ बस्ने निर्णय लिएको छ । राप्रपा राजतन्त्र पक्षधर शक्ति हो । 

आठदलीय गठबन्धनका तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको दौडमा छन् । यसअघि एमालेसँगै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको राप्रपाले राष्ट्रपति निर्वाचनमा कुनै दलको उम्मेदवारको पनि प्रस्तावक या समर्थक नबस्ने निर्णय गरेको थियो । 

बुधबार दिउँसो २ बजेबाट करिब चार घन्टा बसेको बैठकमा राप्रपाका अधिकांश नेताले कसैलाई पनि मत हाल्न नहुने धारणा राखेका थिए । ‘हामी राजसंस्था स्थापनाको पक्षमा रहँदै गर्दा राष्ट्रपतिमा दलका उम्मेदवारलाई भोट हाल्न हुन्न भन्ने अधिकांशको मत रह्यो, त्यसैले दुवै दलका उम्मेदवारको दबाबका बाबजुद तटस्थ बस्ने निर्णय गर्न बाध्य भयौँ,’ बैठकमा सहभागी एक नेताले भने । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुवै प्रतिनिधिसभाबाट निर्वाचित दलका उम्मेदवार भएका कारण मत नहालने निर्णय गरिएको बताए । ‘अहिले उम्मेदवार बन्नुभएका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको, दुवैजना भर्खरै एक–एकवटा राजनीतिक पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँहरूबाट अभिभावकीय भूमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौँ भन्ने निष्कर्षमा पुगियो,’ उनले भने । 

राष्ट्रपति संस्था निष्पक्ष हुने सम्भावना कम देखेपछि तटस्थ बस्ने निर्णय ग र्‍यौँ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

मतदानमा सहभागी नहुने निर्णय गर्नुको कारण के हो ?
पार्टीभित्र समीक्षा गर्दा यही उपयुक्त भन्ने देखियो । सैद्धान्तिक हिसाबले पनि संविधानले राष्ट्रपति पदलाई सेरेमोनियल र निष्पक्ष हुनुपर्छ भनेर परिकल्पना गरेको छ । तर, दुवै उम्मेदवार दलको सक्रिय व्यक्तित्व पर्नुभयो । दुवै दलबाट निर्वाचित भएर आउनुभएका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । त्यसकारण फेरि पनि राष्ट्रपति संस्था निष्पक्ष हुने सम्भावना कम देखेका कारण हामीले तटस्थ बस्ने निर्णय ग र्‍यौँ । 

राजसंस्थाको पक्षधर भएका हिसाबले पनि राष्ट्रपतिमा मत हाल्नुहुन्न भन्ने कारण पनि हो ?
त्यो कुरा त छँदै छ । त्यो हाम्रो आमशुभेच्छुकको राप्रपा तटस्थ बस्योस् भन्ने चाहना पनि थियो । र, सँगसँगै यो व्यावहारिक यथार्थ पनि हाम्रोसामु देखियो । अभिभावकीय संस्थाको भूमिका निर्वाह गर्न सक्ने स्वतन्त्र व्यक्ति भइदिएको भए हुन्थ्यो भन्ने हो । 

अस्ति भर्खर राष्ट्रपतिबाटै तपाईंलगायत राप्रपाका मन्त्रीहरूले शपथ खाएको अवस्थामा अहिले राजसंस्थालाई कारण देखाउँदै मत नहाल्दा त तपाईंहरूमाथि नैतिक प्रश्न उठ्दैन र ?
होइन, अहिले पनि राष्ट्रपति पदलाई बहिष्कारभन्दा पनि निर्वाचनमा भाग नलिने भन्ने निर्णय मात्रै गरेका हौँ । अहिलेलाई राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बसेको हो भन्ने मात्रै बुझ्नु पर्‍यो ।

आज निर्णय गर्दै रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मत हाल्ने–नहाल्ने निर्णय गर्न आज ११ बजे बैठक बोलाएको छ । आठदलीय गठबन्धन र एमाले दुवैतिरबाट औपचारिक प्रस्ताव आएको अवस्थामा रास्वपाले भने राष्ट्रपति निर्वाचनकै दिन मतबारे निर्णय गर्न लागेको हो । ‘दुवैतिरबाट हामीलाई मत दिनका लागि आग्रह आइरहे पनि राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेसम्म पार्टीभित्र छलफल भएको थिएन । बिहीबार नै छलफलपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले भने । 

रास्वपाका एक नेताका अनुसार पार्टीभित्र अनौपचारिक हिसाबले तीन विकल्पमा छलफल भइरहेको छ । पार्टीभित्रका लोकतान्त्रिक पक्षधरका नेताहरू दलीय गठबन्धनमा सहभागी हुँदै कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने र सरकारमा सहभागी हुनुुपर्ने पक्षमा छन् । दोस्रो, पार्टीको चुनावी वाचापत्रले राष्ट्रपति पदमा स्वतन्त्र व्यक्ति परिकल्पना गरेकाले नैतिक प्रश्नबाट बच्न तटस्थ बस्नुपर्ने पक्षमा छन् ।

तेस्रो, केही नेता सांसदलाई ह्विप जारी नगरीकन स्वविवेक मतदान गर्ने अधिकार दिनुपर्ने पक्षमा छन् । ‘यस विषयमा सभापतिज्यूको धारणा अहिलेसम्म सार्वजनिक भएको छैन । भोलि बैठकमा उहाँको प्रस्ताव पनि आउला,’ रास्वपाका ती नेताले भने । गत निर्वाचनताका रास्वपाले आफ्नो वाचापत्रमा कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने उल्लेख गरेको थियो ।