मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार ०८:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

संकटोन्मुख अर्थतन्त्रको वेलैमा उपचार गर्न निजी क्षेत्रको जोड

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ फाल्गुण २४ बुधबार ०८:२६:००

देशको संकटोन्मुख अर्थतन्त्र सबल बनाउन वेलैमा उपचार गर्न सरोकारवालाले जोड दिएका छन् । कांग्रेसको शेखर–गगन समूहले मंगलबार आयोजना गरेको एक अन्तक्र्रियामा अर्थशास्त्री, बैंकर तथा उद्योगी–व्यवसायीले अर्थतन्त्रका वर्तमान समस्या औँल्याउँदै समाधानका उपाय पनि सुझाएका छन् । छलफलमा सहभागी अधिकांशले देशको बिग्रिँदो अर्थतन्त्र र खस्किँदो उद्योग–व्यवसायप्रति चिन्ता व्यक्त गरेका थिए । निजी क्षेत्रका प्रतिनिधिहरूले राज्यको अव्यावहारिक नीति, तरलता अभाव, चर्को ब्याजदर, मागमा आएको संकुचन, महँगीलगायत समस्याले उद्योग–व्यवसाय संकटमा पुगेको गुनासो पोखे ।  

राज्यको आम्दानी र खर्चको बढ्दो भ्वाङ पुर्न सार्वजनिक खर्चमा निर्मम कटौती गर्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले बताए । सार्वजनिक खर्च कटौती गर्न चुनौतीपूर्ण भए पनि अत्यावश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी अर्थतन्त्र जोगाउन अप्रिय निर्णय गर्नुपर्ने बिन्दुमा आएका छौँ, त्यसका लागि सबै तयार हुनुपर्छ ।’

उद्योग–व्यवसायमा मात्र नभई राज्यको राजस्व उठ्तीमा समेत गम्भीर संकट देखा परेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । अब ऋण नलिई सरकार चलाउनै कठिन हुने उनको भनाइ थियो । महँगीका कारण आन्तरिक माग ठप्प रहेको तथा व्यवसायमा ५० प्रतिशतसम्म संकुचन आएको उनले बताए ।  

कोभिडलगत्तै बैंकले घर–घरमा पुगेर कर्जा दिए । पछिल्लो समय मन्दीका कारण व्यापार–व्यवसाय सुस्ताएको छ । तर, यही समय ब्याजदर वृद्धि हुनुका साथै बैंकले कर्जा असुलीमा कडाइ गर्दा व्यवसायी संकटमा पुगेको निजी क्षेत्रको गुनासो छ ।

‘कर्जाको ब्याजदरमा तीव्र उतारचढाव रोक्नुपर्छ, नत्र उद्योग–व्यवसाय चलाउन सकिँदैन,’ महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने । उनले भने, ‘यदि देशमा उद्योग–व्यवसाय फस्टाउन चाहने हो भने राज्य तथा कर्मचारीतन्त्रले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुनुपर्छ ।’ अहिले पनि उद्योगमा बिहान र बेलुका चार–चार घन्टा लोडसेडिङ कायम रहेको र विद्युत् प्राधिकरणको प्राथमिकतामा पनि उद्योग, कलकारखाना नपरेको उनको गुनासो थियो ।

अर्थतन्त्रमा मन्दी छाउँदा ४० देखि ८० प्रतिशतसम्म व्यवसाय खस्किएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताए । व्यापार–व्यवसाय नचल्दा व्यवसायीलाई बैंकको ब्याज तिर्नसमेत मुस्किल परिरहेको उनको गुनासो थियो । परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अहिलेको गभर्नेन्स इतिहासकै खराब हालतमा रहेको बताए । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाल राष्ट्र बैंकको गलत मौद्रिक नीतिका कारण संकट उत्पन्न भएको बताए । अर्का व्यवसायी दीपक मल्होत्राले बैंकको ब्याजदर घटाउन र चोरी–पैठारी रोक्न बलियो पहल गर्नुपर्नेमा जोड दिए । 

अहिले देशको स्थिति ‘त्राहीमाम’ अवस्थामा रहेको अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपानेले बताए । ‘पछिल्लो समय विकास निर्माणका काम ठप्प हुँदा सिमेन्ट र डन्डी उद्योग गम्भीर समस्यामा छन्,’ उनले भने, ‘तर, चर्को ब्याजदर, कच्चा पदार्थको मूल्यवृद्धिले उत्पादन लागत बढ्दा उद्योग बन्द गर्नुपर्ने अवस्था छ ।’  

अर्थविद् केशव आचार्यले देश ‘ग्रे लिस्ट’मा पर्ने निश्चितजस्तै भएको हुँदा यसतर्फ राज्यको ध्यान जानुपर्ने औँल्याए । अर्का अर्थविद् विश्वास गौचनले कोभिडपछि राष्ट्र बैंकले लिएको नीति गलत बताए । त्यस्तै, व्यवसायीहरूले पनि ऋण लिएका क्षेत्रमा लगानी नगरेर अन्यत्र गर्दा अहिलेको स्थिति सिर्जना भएको बताए । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक त्रिलोचन पंगेनीले देश रेमिट्यान्सको ट्र्यापमा परेको बताए ।  

अन्तक्र्रियामा कांग्रेसका महामन्त्री गगन थापाले संसद्मा आर्थिक विषयलाई मूल एजेन्डा बनाउन चाहेको बताए । उनले भने, ‘अहिले अर्थतन्त्रमा ज्वरो आएको छ, तत्काल ज्वरो घटाउन औषधि चलाएर किन ज्वरो आयो भनी डाइग्नोसिस गर्नुपर्छ ।’ समग्र अर्थतन्त्रका समस्याहरू पहिल्याई संसद्मा समाधानका लागि दबाब दिन सरोकारवालासँग छलफल गरिएको कांग्रेस नेता शेखर कोइरालाले बताए ।